PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

संसद् छिर्न सातौँ पटक चुनावी मैदानमा रिजाल, चुनौती बन्दैछन् पूर्व प्रधानपञ्च मियाँ



राधेश्याम पटेल

संसद् छिर्न सातौँ पटक चुनावी मैदानमा रिजाल, चुनौती बन्दैछन् पूर्व प्रधानपञ्च मियाँ

वीरगंज : पर्साको क्षेत्र नम्बर ४ मा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रमेश रिजाल र नेकपा एमाले-जनता समाजवादी पार्टी (जसपा) गठबन्धनका उम्मेदवार जालिम मियाँ मन्सुरी दुवै जनाको लामो राजनीतिक पृष्ठभूमि छ। पञ्चायती व्यवस्थादेखि स्थानीय तह केन्द्रित राजनीति गरेका मन्सुरी र केन्द्रीय राजनीतिमा सक्रिय रहेका रिजालबिचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।

निर्वाचनमा ३ पटक जित र ३ पटक हार व्यहोरिसकेका रिजाल ६५ वर्षका पुगे। २०४८ सालदेखि लगातार चुनाव लड्दै उनले २०४८, २०५१ र २०६४ को चुनाव जितेका थिए भने २०५६, २०७० र २०७४ मा पराजय भोगेका थिए। २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनी मधेशी मोर्चाका साझा उम्मेदवार लक्ष्मणलाल कर्णसँग पराजित भएका थिए।

यसअघिको निर्वाचनमा रिजाललाई हराएका कर्ण यसपटक पर्साको क्षेत्र नम्बर १ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका छन्। सातौँ पटक संसदीय चुनाव लडिरहेका रिजाललाई पहिलो पटक प्रतिनिधिसभा सदस्यमा चुनाव लडिरहेका मियाँ पनि चुनौती बनेका छन्।

मियाँ २०२९ सालको पञ्चायती व्यवस्थामा तत्कालिन जगरनाथपुर गाविस वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित भएका थिए। विजवनिया जगरनाथपुर गाउँ पञ्चायतबाट २०३५ सालमा प्रधानपञ्चसमेत बनेका मियाँ बहुदलीय व्यवस्थापछि भने नेपाली कांग्रेसमा आवद्ध थिए।

कांग्रेसबाटै चुनाव लडेर इलाका सदस्यमासमेत निर्वाचित भएका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। प्रतिनिधिसभाको चुनावको लागि मियाँ ८ पुस २०७८ मा एमालेमा प्रवेश गरेका थिए। प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने उद्घोष गरेका मियाँलाई हेलिकप्टरसहित जगरनाथपुर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्।

मियाँले गरेको त्यो शक्ति प्रदर्शनबाटै प्रभावित भएरै ओलीले क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार उनलाई बनाएको राजनीतिक वृत्तमा आँकलन गरिएको छ। एकातिर पाँच दलीय सत्ता गठबन्धनबाट पूराना राजनीतिक खेलाडी रिजाल र अर्कोतिर जसपा-एमालेको गठबन्धनबाट पनि स्थानीय स्तरमा लामो समय दबदबा कायम गरेका मियाँ भएकोले यसपालीको भीडन्त रोचक बनेको छ। दुवै गठबन्धनका उम्मेदवारको आ-आफ्नो पकड भएका कारण एकअर्काको मत कति तान्न सक्छन् भन्नेमा उनीहरुको जित निर्भर हुनेछ।

३० बैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा सबैभन्दा बढी २३ हजार ९१ मत कांग्रेसले पाएको देखिन्छ। त्यस्तै, एमालेलाई १८ हजार ११८, जसपालाई १३ हजार ६२७, माओवादी केन्द्रलाई ५ हजार ८९६, लोसपालाई २ हजार १२ र नेकपा (एकीकृत समाजवादी)लाई १ हजार ३३६ मत खसेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell