
टर्कीएको मध्य इस्तानबुलको व्यस्त क्षेत्रमा भएको विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ। विस्फोटमा परी ८१ जना घाइते भएको टर्कीएका अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
स्थानीय समय अनुसार साँझ ४:२० वजे टक्सिम स्क्वायर क्षेत्रको एक किनमेल सडकमा विस्फोट भएको गभर्नर अली येर्लिकायाले बताए। उपराष्ट्रपति फुआत ओक्तेले उक्त विस्फोट एक महिलाले गराएको आतंकवादी हमला भएको अनुमान गरिएको बताए।
राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीलाई कारबाही गरिने बताएका छन्। इस्तानबुलमा एक पत्रकार सम्मेलनमा बोल्दै उनले यसलाई ‘नीच आक्रमण’ भनेर निन्दा गरेका छन् भने आक्रमणमा ‘आतंकवादको गन्ध’ आएको बताए।
कानुनमन्त्री बेकिर बोजडागले टर्की मिडियालाई बताएअनुसार विस्फोट हुनुभन्दा केही मिनेट अघि एक महिला ४० मिनेटभन्दा बढी समयसम्म सो क्षेत्रको बेन्चमा बसेकी थिइन्। विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।