.jpg)
काठमाडौं : यूएई र नेपालबिचको क्रिकेट सिरिज आजबाट सुरु हुँदैछ। विश्वकप खेलेर आएको यूएईसँग आज मैदानमा उत्रने नेपाली टोलीमा देखिने सबैभन्दा महत्वपूर्ण परिवर्तन हो : कप्तान। तत्कालीन कप्तान सन्दीप लामिछाने नाबालिक बलात्कारको मुद्दामा परेर निलम्बित भएसँगै नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन्। खेलअघि पौडेलले टिमको रुपमा ‘ग्रो’ गर्ने बताए।
कप्तान फेरिए पनि खेलाडीका रुपमा लामिछानेले छाडेको ‘होल’ भरिन भने कठीन हुने देखिन्छ। नेपालमात्र नभइ विश्वका सबैजसो ठूला लिग खेलेका लामिछानेको बलात्कारको मुद्दा किनारा लागेको छैन। हाल उनी थुनामा छन्। यस्तोमा उनको ‘जुत्ता’ लगाउन सक्ने बलर तयार गर्नु प्रशिक्षक मनोज प्रभाकरका लागि त्यतिकै चुनौती हुनेछ।
‘हाम्रो स्ट्राइक बल छैन। हाम्रो मिडियम पेसरले सबै जिम्मेवारी लिनुपर्ने हुन्छ। स्पीनरले पनि जिम्मेवारी लिनुपर्ने हुन्छ। हामी टिमको रुपमा ग्रो गर्नु पर्ने हुन्छ,’ टिम सन्तुलनबारे कुरा गर्दै कप्तान पौडेलले भने।
उनको भनाइमा भर्खरै खेलाडीले प्रधानमन्त्री कप खेलेकाले लय बिग्रिएको छैन। त्यसैले उनको अपेक्षा हो : टिम गेम खेलेर सिरिज जित्ने।
तर, यसपाला मध्य क्रममा आएर धर्मराएको ब्याटिङ सम्हाल्ने मात्र उनको दायित्व हुनेछैन। कप्तानका रुपमा उनले टिमलाई नै हेर्नुपर्नेछ। यसमा दबाबको अवस्था पनि आउन सक्छ। यद्यपि पौडेल यसलाई दबाब भन्दापनि अवसरका रुपमा हेर्ने बताउँछन्।
‘प्रेसर भन्दा पनि अवसर र दायित्वको रुपमा लिएको छु। केही दबाब महसुस भएको छैन। यूएई राम्रो टिम छ। नामिबिया सिरिजका लागि हामीलाई राम्रो अवसर हो। राम्रो प्रदर्शन गरेर सिरिज जित्ने हाम्रो लक्ष्य हुनेछ,’ उनले भने।
सिरिजका लागि टोली तयार भएको उनले बताए।
‘तयारीको कुरा गर्दा मलाइ लाग्छ हामी तयार छौं। हाम्रो घरेलु क्रिकेट प्रधानमन्त्री कप भर्खरै सकिएको छ’, उनले भने, ‘यो मेरालाई एउटा अवसर हो प्रमाणीत गर्नलाई। एउटा अवसरका रुपमा लिनेछु। घरेलु समर्थक हुनेछन्। समर्थन हुनेछ।’
नेपाली टोलीका प्रशिक्षक प्रभाकरले यो सिरिज मुख्य म्याच सुरु हुनुअघि नेपाली टोलीलाई तयारीको लागि राम्रो अवसर भएको बताए।
‘हाम्रो युवा र क्षमतावान टोली छ। दिनप्रतिदिन म्याचहरु पिच्छे टोलीमा सुधार आइरहेको छ। हाम्रो तयारी राम्रो भइरहेको छ,’ उनले भने।
यता, यूएईले पनि नेपाललाई हल्कारुपमा नलिने बताएको छ। युएईका कप्तान सीपी रिजवान विश्वकपबाट खेलेर आएको भन्दै सिरिजमा कुनै कुरालाई हल्का रुपमा नलिने बताए।
‘हामी यो प्रतियोगितामा कुनै कुरालाई हल्का रुपमा लिने पक्षमा छैनौं। हामीलाई नेपालमा क्रिकेटलाई कति प्यासोनेट छन् भनेर थाह छ,’ उनले भने।
क्यानले सिरिजका लागि टिकट शुल्क २ सय रुपैयाँ तोकेको छ। खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने छ।
क्यानले पौडेलको कप्तानीमा यूएईसँग एकदिवसीय सिरिजका घोषणा गरेको टोलीमा हरिशंकर शाहले पहिलो पटक स्थान बनाउँदा कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल र गुलसन झाले टिममा पुनरागमन गरेका छन्। नेपालले यूएईसँग आज, कात्तिक ३० गते र मंसिर २ गते काठमाडौंमा खेल्दैछ। आजको खेल ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।
यूएईविरुद्धको सिरिजका लागि नेपाली टोली
रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद, गुलसन झा