PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मलाई ‘नो नट अगेन’ होइन ‘अगेन एण्ड अगेन’ भनिराख्नुपर्ने जरुरी छ : कमल थापा (अन्तर्वार्ता)



पहिलोपोस्ट

मलाई ‘नो नट अगेन’ होइन ‘अगेन एण्ड अगेन’ भनिराख्नुपर्ने जरुरी छ : कमल थापा (अन्तर्वार्ता)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्षको हारको पीडाले कमल थापालाई पार्टी विभाजनसम्म पुर्‍यायो। थापाका लागि बाध्यता नै भन्नुपर्छ यसपटकको चुनाव जित्न नेकपा (एमाले)को चुनाव चिन्ह सूर्यलाई बोक्नुपरिरहेको छ। राष्ट्रिय राजनीतिमा खेल्न सिपालु थापालाई नयाँ पार्टीबाट चुनाव लड्नु जति सकस छ त्यति नै अप्ठेरो एमालेको मत पाउनु छ। पाँच दलीय सत्ता गठबन्धनको घेराबन्दीलाई तोड्न थापा कम्मर कसेर मकवानपुर-१ मा लागिपरेका छन्।

राप्रपा नेपालका अध्यक्ष रहेका थापालाई महालक्ष्मी उपाध्याय (डिना)ले कांग्रेसका तर्फबाट चुनौती दिइरहेकी छिन्। डिनालाई सत्ता गठबन्धनको समर्थन छ। त्यसो त राप्रपाका नेता दीपक सिंहको चुनौती पनि थापाका लागि महँगो पर्ने छ। राप्रपाबाट विभाजित हुँदा पनि राप्रपाकै मत पाउने दाबी थापाले गरिरहेका छन्। चुनावी प्रचारको चटारोमा रहेका थापालाई हेटौंडाको फाइरलाइन टोल पुगेर पहिलोपोस्टका नेत्र तामाङनिशा गुरुङले सोधेका छन् :

सूर्य चिन्ह लिएर पहिलोपटक चुनावी मैदानमा हुनुहुन्छ, कस्तो लागिरहेको छ?
यसलाई मैले स्वभाविक रुपमा लिएको छु। नेपालको कानुन अर्थात राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले दुई वा दुईभन्दा बढी दलहरुले साझा चुनाव चिन्ह लिएर सहभागी हुने व्यवस्था गरेको छ। त्यही अनुसारले नेकपा (एमाले)सँग समझदारी गरेर सहकार्यमा सूर्य चुनाव चिन्ह लिने निर्णय गरेको हुँ। सूर्य चिन्ह मकवानपुरमा मात्रै होइन देशभरि नै लोकप्रिय चिन्ह हो। मकवानपुरमा सूर्य चिन्हप्रति जनताको धेरै ठूलो सदभाव समर्थन छ। जनताले अत्यन्तै उत्सुकताका साथ सहयोग र समर्थन गर्ने चाहना व्यक्त गरेको मैले पाएको छु।

एमालेकै नेताको टिकट खोसेर आउनुभएको छ, गाह्रो बनाउँला नि?
त्यसको च्याप्टर क्लोज भइसक्यो। सुरुमा केही असन्तुष्टि देखिएतापनि अहिले सम्पूर्ण नेकपा (एमाले) कार्यकर्ता पंक्ति एक जुट भएर चुनावी अभियानममा खट्नुभएको छ।

‘जयदेश’ भनेर हिड्नुहुन्थ्यो अहिले ‘अभिवादन’ भन्दा अप्ठेरो लाग्दैन?
केहि अप्ठेरो छैन।

त्यसो भए महोल राम्रो छ है?
निश्चय नै त्यसको दुईवटा कारण छ हेर्नुस्। एउटा एमालेको मकवानपुरमा सशक्त जनमत छ। संगठनात्मक रुपमा एमाले मकवानपुरको सबैभन्दा ठूलो दल हो। अर्कोतर्फ मेरो आफ्नै पनि मकवानपुर जिल्लामा राम्रो प्रभाव छ। जनताले मलाई माया/सदभाव व्यक्त गरेका छन्। विगतमा जे जस्ता काम हामीले गर्‍यौँ, त्यसबाट जनता प्रभावित छन्। हेटौंडालाई वाग्मती प्रदेशको राजधानी बनाउने काममा महत्वपूर्ण योगदान गर्‍यौँ। त्यसले गर्दा यसपटक कमल थापालाई जिताउनुपर्छ भन्ने आम जनताको धारणा रहेको मैले पाएको छु।

तर, गठबन्धन छ नि तपाईँका विरुद्ध पनि?
चुनाव प्रजातान्त्रिक अभ्यास हो। यसमा विभिन्न दलहरु मिलेर अथवा एक्ला एक्लै प्रतिस्पर्धामा आउँछन्। त्यसलाई मैले स्वभाविक प्रजातान्त्रिक अभ्यासका रुपमा लिएको छु।

तपाईँले आफैँले मलजल गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि सशक्त उम्मेदवार हुनुहुन्छ। उहाँले तपाईँलाई जित्न दिनुहोला र?
राप्रपा त स्थापनाकालदेखि ६ पटक फुटिसकेको छ। तर, मकवानपुरमा जहिले पनि जहाँ कमल थापा त्यहि नै राप्रपाको मुल धार हो। राप्रपा होस या राप्रपा नेपाल म जहाँ उभिएको छु राप्रपाका साथीहरु हुनुहुन्छ। चुनाव नजिक आएकाले अलिअलि केही साथीहरु अलग ढंगबाट हिड्नुभएको छ। त्यसलाई पनि मैले अन्यथा लिएको छैन। भोलि उहाँहरु सबै मेरै नेतृत्वमा आउनुहुन्छ।

भनेपछि निर्वाचन तपाईँको पक्षमा आउँछ हैन?
म एकदमै आशावादी छु।

तपाईँ लगायतको फोटो राखेर ‘नो नट अगेन’ अभियान चलिरहेको छ। धेरै चोटी सरकारमा गएर पनि केही गर्नुभएन भनेर?
मैले त देखेको छैन। कसैले गर्नुभएको छ भने त्यो नितान्त पूर्वाग्रह मात्र हो। मलाई ‘नो नट अगेन’ होइन ‘अगेन एण्ड अगेन’ भनिराख्नुपर्ने जरुरी छ जस्तो मलाई लाग्छ। विगतमा मैले एउटा राष्ट्रवादी शक्ति निर्माणका लागि, राष्ट्रियताको सुदृढीकरणका निमित्त, भारतले लगाएको नाकाबन्दीका विरुद्ध, अन्तर्राष्ट्रिय रंगमञ्चमा गएर नेपालको तर्फबाट सशक्त आवाज उठाउनका निम्ति जुन योगदान पुर्‍याएको छु, त्यस हिसाबले त मलाई ‘अगेन एण्ड अगेन’ भन्नुपर्ने हो जस्तो लाग्छ। मैले कुनै अपराध गरेको छैन, बेइमानी गरेको छैन। कुनै भ्रष्टाचार गरेको छैन।

तपाईँ टेनिसको पनि माहिर खेलाडी, राजनीतिमा पनि हामीले त्यस्तै मान्ने हो?
तपाईँले टेनिसको कुरा गर्दा अहिले म ‘नोस्टाल्जिक’ भइरहेको छु। चुनाव सकिएपछि टेनिस खेल्न जानुपर्ला भन्ने लागिरहेको छ। जे भएपनि खेलकुदमा लागेको व्यक्ति ‘स्पोर्ट्समेन स्पिरिट’ हुन्छ। हारलाई पनि सहज रुपमा स्वीकार गरेर भविष्यमा जितका लागि तयारी गर्ने पाठ खेलकुदले सिकाएको हुन्छ। त्यसका साथ साथै अनुशासन र कडा परिश्रम पनि खेलकुदले सकिएको हुन्छ।

सूर्य चिन्हबाट जित्छु भन्नेमा त्यसो भए ढुक्क हैन त?
म मात्रै होइन मकवानपुर जिल्लाबाट ६ वटै सूर्य चिन्ह लिएर उठेका उम्मेदवारहरु जित्नुहुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell