PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

रुपन्देही-२ मा 'ह्याट्रिक' गरेका विष्णु पौडेललाई फेरि दोहोरिने इच्छा, केशव थापालाई गठबन्धनको भर



रमेश पराजुली

रुपन्देही-२ मा 'ह्याट्रिक' गरेका विष्णु पौडेललाई फेरि दोहोरिने इच्छा, केशव थापालाई गठबन्धनको भर

बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र ६ दिन बाँकी छ। हरेक निर्वाचनमा जस्तै मंसिर ४ को निर्वाचनमा रुपन्देही–२ क्षेत्र चर्चामा छ। यहाँ अहिले नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव थापा प्रतिस्पर्धामा छन्।

उम्मेदवारहरुले अहिले चुनावी गतिविधिलाई जोड दिएका छन्। सत्ता गठबन्धनका राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै थापालाई सत्तागठबन्धनले समर्थन गर्दै साझा उम्मेदवार बनाएको छ भने पौडेललाई राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थन छ। पौडेलका पुराना चुनावी कमाण्डरसमेत रहेका गुरुङको उम्मेदवारी खारेज भएसँगै पौडेललाई चुनाव जित्न केही सहज भएको आंकलन गरिएको छ।

यस क्षेत्रमा साना पार्टी र स्वतन्त्र उम्मेदवार गरि १५ जना उम्मेदवार भए पनि मुख्यगरि पौडेल र थापाबिच नै कडा टक्कर हुने देखिन्छ।

२३ वर्षअघि स्याङ्जाबाट चुनावी प्रतिस्पर्धाका लागि बुटवल झरेका पौडेल २०५६ सालको निर्वाचनमा पहिलो पटक कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका थिए। त्यसपछि २०६४,२ ०७० र २०७४ को चुनावमा लगातार जितेर उनले ह्याट्रिक गरेका छन्। जितसँगै उनले सरकारमा अर्थमन्त्री, जलस्रोत, रक्षासहित उपप्रधानमन्त्रीको जिम्मेवारी पाइसकेका छन्।

पौडेलले २०७४ सालमा दोब्बरभन्दा बढी मतले कांग्रेसका उम्मेदवार युवराज गिरीलाई पराजित गरेका थिए। त्यतिखेर पौडेलले ४४ हजार ९ मत ल्याउँदा गिरीले २१ हजार ९४५ मत पाएका थिए। पौडेलले २०६४ मा माओवादीका भक्ति पाण्डे र २०७० मा डा. बाबुराम भट्टराईलाई पनि यो क्षेत्रमा पराजित गरेका थिए। यो क्षेत्रमा पौडेलका प्रतिस्पर्धी हरेक निर्वाचनमा फेरिँदै आएका छन्।

गत स्थानीय निर्वाचनमा जनमुक्ति पार्टीले बुटवलमा एमालेलाई समर्थन गरेको थियो। तर, यसपटक भने एमालेसँगै मुख्य प्रतिस्पर्धा गर्ने भएको छ यो पार्टीले। लगातार तीनवटा चुनाव जितेका पौडेललाई ब्रेक लगाउन थापा मैदानमा छन्। सत्तागठबन्धनको साथ पाएका थापाले प्रत्यक्ष निर्वाचनबाट पहिलो पटक संसद छिर्ने अवसरका रुपमा लिइरहँदा पौडेल भने फराकिलो अन्तरमा जित निकाल्ने लक्ष्यमा छन्।

पौडेलले आफूले २०७४ सालको निर्वाचनमा जितेपछि क्षेत्रमा धेरै काम गरिसकेको र कतिपय काम गर्न बाँकी रहेकोले पुनः आफ्नो उम्मेदवारी रहेको बताएका छन्। जनतामा आफूप्रति विश्वास कायम रहेका कारण चुनाव जित्नेमा ढुक्क रहेको उनको भनाइ छ। पौडेलले भौतिक पूर्वाधारको विकाससँगै अब मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताए।

'पुल–पुलेसा, बाटो, खानेपाली, विद्युत् तथा शिक्षा स्वास्थ्यलगायतका सबै आवश्यकताहरुलाई पूरा गर्नेगरि एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको विकास गछौँ,' उनले भने, 'सिंगो रुपन्देहीलाई अन्य ठाउँबाट विकास सिक्न आउने नमूना ठाउँका रुपमा विकास गर्ने योजना छ।'

एमाले रुपन्देही २ का क्षेत्रीय संयोजक बाबुराम पन्थीले रुपन्देही २ को विकासमा पौडेलको योगदान अतुलनीय भएकाले पनि पौडेलले सहजै चुनाव जित्ने दाबी गर्छन्।

'बुटवल–बेलहिया ६ लेन सडक, बुटवल अन्तर्राष्ट्रिय सभाहलसँगै रुपन्देहीमा धेरै ठूला आयोजना सम्पन्न भइसकेका छन्', उनले भने, 'बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, कालीगण्डकी–तिनाउ डाइभर्सन, तिनाउ नदीमा सिग्नेचर पुल, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानी आयोजना, बुटवल–नारायणगढ र बुटवल–चन्द्रौटा सडक विस्तार लगायतका आयोजनालाई पूर्णता दिन पनि यहाँका मतदाताले उहाँलाई रोज्नुको विकल्प छैन।'

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष रहेका थापा सत्ता गठबन्धनको सहयोगमा चुनाव जित्नेमा ढुक्क छन्। उनले आफूले चुनाव जिते व्यवस्था र संविधानको रक्षा गर्दै कृषि क्रान्ति, औद्योगिक, पर्यटन लगायतको विकासका काम गर्ने प्रतिबद्धता जनाएका छन्।

'तानाशाही, निरंकुश अधिनायकवादी सोच भएका व्यक्तिले जिते भने प्राप्त उपलब्धिहरु गुम्ने खतरा हुन्छ,' उनले भने।

रोजगारी सिर्जनाको लागि औद्योगिकीकरण, युवालाई सीपसहितको शिक्षा, सर्वशुलभ स्वास्थ्य, न्यायालयमा सहज पहुँच स्थापित गर्ने उनको भनाई छ। 'आफ्ना सन्ततीको शिक्षा र स्वास्थ्यको लागि चिन्ता लिईरहनु पर्ने अहिलेको स्थितीलाई बदल्न चाहन्छौं, ' उनले भने 'त्यसको लागि तपाईंहरुले हामीलाई मत दिएर जिताउनु होला।'

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पनि चुनावी अभियानलाई तीव्र बनाएका छन्। भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन्। देशको मुहार फेर्न एकपटक युवाहरुलाई मौका दिनुपर्ने उनको भनाई छ।

राजनीतिक नेतृत्वमा युवाको आवश्यकता रहेकोले आफू अगाडि बढेको बताउँदै उनले मत मागिरहेका छन्।

स्थानीय निर्वाचनको अंकगणित

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा यहाँ गठबन्धन दल बलियो देखिएको छ। रुपन्देही-२ अन्तर्गतका वडामा वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा कांग्रेस पहिलो पार्टी बनेको थियो। २३ वडा मध्ये सत्ता गठबन्धनले १६ वडा जितेको थियो। ६ वडामा एमालेले जित्दा एउटामा स्वतन्त्र उम्मेदवारले जितेका थिए।

कांग्रेसले ३४ हजार ९५९, एमालेले ३३ हजार १८७, राप्रपाले ३ हजार ९२०, माओवादी केन्द्रले ३ हजार १८८, एकीकृत समाजवादीले एक हजार ३८२ र जसपाले १८३ मत स्थानीय निर्वाचनमा ल्याएका थिए। राष्ट्रिय जनमुक्ति पार्टीका वडाध्यक्ष पदका उम्मेदवारले पाएको मत दुई हजार ७० छ। यो मतमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको मत जोड्दा ४१ हजार ५९९ मत हुन्छ। यता, एमाले-राप्रपा-जसपा गठबन्धनसँग ३७ हजार २९० मतमात्र देखिन्छ।

यो क्षेत्रमा बुटवल उपमहानगरपालिकाको १ देखि १३, सैनामैना नगरपालिकाको १ देखि ४ तथा तिलोत्तमा नगरपालिकाको १ देखि ६ नम्बर वडा पर्छन्। अहिले रुपन्देही २ मा कूल १ लाख २८ हजार ६७७ मतदाता रहेका छन्।

रुपन्देही २ मा एमालेबाट प्रदेशसभातर्फ २ (क) मा लीला गिरी र २ (ख) मा भोजप्रसाद श्रेष्ठ दोहोरिएका छन्। गठबन्धनबाट भने कांग्रेसका दीर्घबहादुर केसी (कुमार) र माओवादीका वामदेव क्षेत्री चुनावी प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell