
काठमाडौं : काठमाडौं ५ मा टिकट पाउनसाथ प्रदीप पौडेलले विभिन्न समूहसँग जतिखेर छलफल थाले त्यतिखेर उनको 'मुड अफ' देखिँन्थ्यो।
उम्मेदवारी दिएपछि केही समयसम्म चुनावी घरदैलोमा उनी खासै चर्चामा छाएनन्। चर्चा चाहिँ प्रतिस्पर्धी ईश्वर पोखरेलविरुद्धका आक्रामक भाषणबाजीका कारण रह्यो। क्षेत्र नम्बर ५ मा जितेर गएपछि एमाले वरिष्ठ उपाध्यक्ष बनेका पोखरेल सधैं 'पावर सेन्टर'कै रुपमा रहे। पोखरेलले जनस्तरमा काम नगरेको आरोप सहित 'फिल्ड'मा उत्रिएका थिए प्रदीप।
सुरुवाती चरणमा कोणसभा, पार्टी प्यालेसमा भाषण बढी तर घरदैलोमा सुस्त देखिएका प्रदीप अहिले भने एकाएक तातिएका छन्। भाषण कम, मतदातासँगको भेट बाक्लिएको छ उनको। पछिल्लो एक सातायता उनले घरदैलो ह्वात्तै अघि बढाएका हुन्। चुनावी रफ्तारको गियर बढाउँदै उनी बिहान ५ बजेदेखि झमक्क रात परुन्जेलसम्म सक्रिय हुन्छन्। यस अवधिमा घरदैलो म्याराथनमा एउटै रफ्तार कायम राखेका छन् उनले। चुनावी रणनीतिका छलफलमा पनि उत्तिकै सक्रियताका साथ जुटिरहेका छन्। सुरुमा उनको गतिलाई देख्नेहरु अहिलेको रफ्तारबाट प्रभावित भएका छन्।
आइतवार साँझ ५ बजे टोखा ७ को आदर्श कोलोनी हुँदै इन्द्रपुरी कोलोनी पस्दा घाम अस्ताइसकेको थियो। त्यही बेला प्रदीपलाई खोज्दै एक वृद्ध आइपुगे।
'आशीर्वाद दिन माथि घर पस्नुपर्ने,' इन्द्रपुरी कोलोनीका ती वृद्ध प्रदीपलाई खोज्न थाले। प्रदीप भने त्यहाँ भेटिएनन्। उनी त्यहाँबाट राम मन्दिर हुँदै निरौला टोल पुगिसकेका रहेछन्। घरदैलो म्याराथानमा प्रदीपलाई घरघरमा बोलाइ माला लगाइरहेको दृश्यले उनको फेरिएको अवस्था बोलिरहेको छ। प्रदीप पुगेको थाहा पाउनासाथ स्थानीय सेल्फी खिच्न निस्कनेदेखि घरमा डोर्याउँदै लैजानु सामान्य बनिरहेको छ।
कुनै घर नछुट्याएर पस्न स्थानीयले सुझाव दिइरहेका थिए उनलाई। तर कार्यकर्ताले डोर्याउँदा कहिले कता पुग्थे त कहिले कता। वडा ७ पार्टी कमिटीले दैलो चिनाउने व्यवस्था मिलाएको थियो। पछिल्ला दिनमा प्रदीपको दौड ह्वात्तै बढेको उनीसँगै राजनीतिक प्रचारमा खटिएका निरोज भण्डारीले बताए। 'शुरुवाती दिनमा केही सुस्त भएको हो। अहिले एकाएक माहोल सुध्रिएको छ,' उनले भने।
सुरुका दिनमा प्रदीपलाई मतदातासामु चिनाउनुपर्ने बाध्यता कार्यकर्ताबिच थियो। अहिले एमालेकै असन्तुष्ट कार्यकर्ता पनि उनको निकट हुन थालेको दाबी भण्डारीले गरे। काठमाडौंकै रानीबारी क्षेत्रका बासिन्दा पोखरेलविरुद्ध रुष्ट देखिएकाले त्यता प्रदीपको प्रभाव बढेको उनको दाबी छ। एमालेको बलियो पकड रहेको उक्त क्षेत्रका कार्यकर्ताले पोखरेल पुग्दा सडक नबनेको विषयलाई उठाएका थिए।
बालुवाटार क्षेत्रका एमाले कार्यकर्ताको बाटो छेकाइले प्रदीप झनै उत्साहित देखिएका छन्। 'एकाएक बाटो छेकेर आफूहरु एमालेको भएको र यसपटक प्रदीप पौडेललाई नै भोट हाल्ने बताउन आउँदा हामी सबै चकित भयौं,' भण्डारीले भने।
किन बढाए प्रदीपले रफ्तार?
काठमाडौं ५ लाई कांग्रेसले यसपटक सबैभन्दा असुरक्षित क्षेत्र ठानेको थियो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा रामशरण महत, शंकर भण्डारीलगायतले यस ठाउँबाट प्रतिस्पर्धा गर्ने रहर गरे पनि चुनावी परिणामको आँकलन राम्रो नआउने रिपोर्ट कांग्रेस नेतृत्वसँग पुग्यो। यसपछि यस क्षेत्र प्रदीपको पोल्टामा पुगेको हो।
प्रदीप पौडेलले पार्टीमा दु:ख गरे पनि नतिजामा पटकपटक असफल रहे। गत वर्ष उनी गण्डकी प्रदेशसभाका लागि प्रत्यासी थिए। निर्वाचनमा ५ मतले प्रदेशसभा छिर्ने बाटो रोकियो उनको। पुनः मतगणना गर्न सर्वोच्चमा मुद्दा हाले तर प्रदेशसभाको अर्को निर्वाचन हुँदा सम्म अदालतमा मुद्दाको सुनुवाइ नै भएन। १४ औं महाधिवेशनमा कांग्रेसको महामन्त्री बन्न उत्रिँदा पनि उस्तै हार बेहोरे उनले। अहिले भने एमालेका घागडान भनिएका पोखरेलसँग प्रतिस्पर्धामा उत्रिएका छन् उनी। अहिले यहाँका मतदातासँगको भेटसँगै प्रदीपको उत्साह चुलिएको छ।
प्रदीपलाई उत्साहित बनाउने अर्को विषय हो - स्वतन्त्रको लर्को। सुरुका दिनमा स्वतन्त्र उम्मेदवारले आफ्नो मत काट्ने त्रासमा थिए पौडेल। तर पछिल्ला दिनमा उनी स्वतन्त्रका उम्मेदवारसँग तर्सिएका छैनन्।
क्यामेरा चिह्न लिएर श्री गुरुङको चर्को प्रचारले उनीप्रति शंकाको दृष्टिले हेर्नेहरु बढेका छन्। पर्यटन व्यवसायीसमेत रहेका गुरुङको उम्मेदवारीलाई स्थानीयले नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलसँग जोडेर हेर्न थालेको टोखा १० का एक मतदाताले सुनाए।
'श्री गुरुङलाई ईश्वर पोखरेलको लगानी छ। प्रदीपको मत काट्न उनलाई उठाएको हो भन्ने बुझाइ स्थापित हुँदैछ। प्रोक्सी उम्मेदवार भन्ने थाहा पाउँदैजाँदा त्यसको फाइदा प्रदीपलाई हुने देखिन्छ,' नाम खुलाउन नचाहेका ती मतदाताले भने, 'सामान्य उम्मेदवारले करोडको विज्ञापन बजाइराखेका छन्। गुरुङको उनको पारिवारिक पृष्ठभूमि पनि एमाले हो।'
श्री गुरुङ आक्रमक प्रचारमा मात्र छैनन्, स्वतन्त्र उम्मेदवारलाई एककट्ठा बनाउने अभियानमा समेत लागेका थिए। तर एमालेसँग उनको निकटताले योजनालाई असफल बनाएको स्थानीयकै दाबी छ। यता, यस क्षेत्रमा पैसाबाट मतदातालाई प्रभावित पार्न नसकिने दाबी छ प्रदीपको। प्रतिस्पर्धीले पैसाकै बलमा जित निकाल्न खोजेको उनको आरोप छ।
गठबन्धनको भर, स्वतन्त्रको साथ
विपक्षी उम्मेदवारको विवादित पृष्ठभूमिका कारण केही ढुक्क देखिन्छन् प्रदीप। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको असफलता हुनुमा पोखरेलमाथि औला तेर्स्याउने एमालेहरु पनि उत्तिकै छन्। ओलीले उनलाई रक्षा मन्त्रीबाट किन निकाले? एमालेका मतदाताले अझै जवाफ पाएका छैनन्। प्रधान सेनापतिले नै पोखरेलप्रति असन्तुष्टि प्रकट गरेको सन्दर्भ पनि चुनावी मसला बनिरहेको छ।
पौडेल यस क्षेत्रमा नयाँ उम्मेदवार हुन्। क्षेत्रसँग नजोडिएका उम्मेदवार पाएकाले मतदातामा एकखाले अन्यौलता छ। तर, पछिल्ला दिनमा टोलटोलका भेटमा प्रदीपले आफ्नो छाप छाड्न सकेको दाबी कांग्रेस कार्यकर्ताको छ। प्रदीपले पछिल्लो समय आफू क्षेत्र ६ मै बस्दै आएको भन्दै मतदातालाई विपक्षीको प्रोपोगान्डामा नफस्न आग्रह पनि गरिरहेका छन्।
यस क्षेत्रमा नयाँ अनुहारले सधैं तरङ्ग ल्याउने गरेको छ। 'इलिट' उम्मेदवारको पक्षमा मतदाता उभिने गरेको पाइन्छ यहाँ। प्रदीप नयाँ भए पनि 'टेस्ट' हुन बाँकी चर्चित अनुहार हुन्। युवापङ्तिमा उनको आकर्षण देखिन्छ। त्यसैगरि अहिले स्वतन्त्र उम्मेदवारमा युवाहरुकै लर्को छ। कांग्रेसबाट युवा नै भएकाले उनलाई केही हदसम्म यसको फाइदा मिल्ने देखिन्छ।
'ठुला दलले पनि यहाँ युवालाई अवसर दिएको छ। त्यसैले पनि यहाँ पक्षमा माहोल बन्दैछ,' आदर्शक कोलोनिमा भेटिएका केशव भट्टले भने।
यस क्षेत्रमा कांग्रेस उम्मेदवार प्रदीपलाई प्रणयशम्सेर राणाको उम्मेदवारीले केही 'थ्रेट' हुने देखिन्छ। कांग्रेसमै सक्रिय रहेका राणालाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा गएर भाषण गरेको आरोपमा कांग्रेसले कारबाही गरेको थियो। उनै राणा अहिले घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दैछन्। यद्यपि, उनी रास्वपामा आवद्ध भएका भने छैनन्। पछिल्ला दिनमा राणाले प्रदीपलाई सहयोग गर्ने नीति लिएको दाबी प्रदीप निकटहरुको छ।
रञ्जु दर्शनाको प्रभाव चाहिँ यसपाला धेरै देखिएको छैन। काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार हुँदा उनको जुन 'हाइट' कायम भएको थियो यसपाला त्यसको एकछेउ पनि नभएको स्थानीयहरु बताउँछन्। प्रदीपले टिकट पाउनसाथ विवकेशील साझामा प्रवक्ता रहिसकेका युवा नेता हरिश भट्टले प्रदीपका लागि मत मागेका थिए।
‘लोकतन्त्र भर्सेज लुटतन्त्र। ईश्वर पोखरेल पछिल्लो ५ वर्षमा भ्रष्टाचार र लुटतन्त्रको प्रतीक हो। ७४ सालको चुनावमा उज्वल दाइ उठ्दा मैले क्षेत्र नं. ५ मा चुनावी अभियान गर्दा पोखरेलका कुकृत्य नजिकबाट देखेको थिएँ। पछि कम्युनिस्ट सरकारमा सबैले देखे,’ फेसबुकमा भट्टले लेखेका छन्, ‘यस पटक लुटतन्त्रका चिह्न पोखरेललाई हराउने हो भने प्रदीप पौडेललाई सबै लोकतन्त्र पक्षधर उम्मेदवारले सघाउन जरुरी छ।’
प्रदीपको नातासमेत पर्ने र भट्टको साथले विवेकशील साझाका उम्मेदवार रञ्जु दर्शनाको मत प्रदीपको पक्षमा आउने देखिएको हो।
यता, सुशान्त श्रेष्ठ पनि प्रभावशाली स्वतन्त्र उम्मेदवार हुन्। उनी पहिले एमालेका कार्यकर्ता थिए। युवा अभियन्ता हेमराज थापाको पनि यो क्षेत्रमा केही प्रभाव रहेको देखिन्छ। सामाजिक सञ्जालमा उनको सक्रियताले मतदाताहरु प्रभावित भएको बताइन्छ। उनले केही मत काटे पनि यसपटकको नतिजा अब प्रदीपको पोल्टामा पर्ने कांग्रेस नेता कार्यकर्ताको दाबी छ। संविधान विरोधी कार्यमा लागेकाले स्वतन्त्र उम्मेदवारहरुको साथ प्रदीपको पक्षमा ढल्कने देखिन्छ।
'माहोल एकाएक राम्रो हुँदै आएको छ,' उनको प्रचार अभियानमा खटेका कांग्रेस महाधिवेशन प्रतिनिधि सुशील भट्टले भने, 'चुनाव अब हाम्रो पक्षमा हो।'