PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

बलियो लक्ष्यमा कमजोर ब्याटिङ : ऐरी र साउदको अर्धशतकले टारेन नेपालको हार, डेब्यु खेलाडीको सानदार प्रदर्शन



पहिलोपोस्ट

बलियो लक्ष्यमा कमजोर ब्याटिङ : ऐरी र साउदको अर्धशतकले टारेन नेपालको हार, डेब्यु खेलाडीको सानदार प्रदर्शन

काठमाडौं: नेपालले यूएईसँगको सिरिजको पहिलो खेलमै पराजय ब्यहोरेको छ। सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाली टोली यूएईसँग ८४ रनले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा समेटियो।

आजको खेलमा डेब्यु गरेका खेलाडीको प्रदर्शन उच्च रह्यो। डेब्यु गरेका खेलाडीमध्ये नेपालका अर्जुन साउदले ५१ रनको अर्धशकीय पारि खेल्दा युएईबाट डेब्यु गरेका आयन खानले ४ विकेटका साथै कसिलो बलिङ गर्दै सानदार प्रदर्शन गरे।

सुरुवाती ब्याटिङ गरेको यूएईका लागि रोहन मुस्तफाले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५३ रन बनाएका थिए। त्यस्तै एलिसन शारफुले २९ र आयान खानले २६ रन बनाउँदा अहमेद राजा २७ रनमा अविजित रहे।

त्यसअघि ओपनरद्वय मोहम्मद वसीम र बृत्य अरविन्दले क्रमश ४४ र ४० रन जोड्दै यूएईलाई राम्रो सुरुवात दिलाएका थिए।

बलिङतर्फ नेपालका गुलसन झाले सर्वाधिक २ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

जवाफी ब्याटिङ उत्रिएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र अर्जुन साउदले अर्धशतकीय पारि खेले पनि नेपाललाई हारबाट जोगाउन सकेनन्। ऐरीले सर्वाधिक ५४ रन बनाउँदा आजकै खेलबाट डेब्यु गरेका अर्जुन साउदले ५१ रन बनाए। त्यसबाहेक अन्य ब्याट्यसम्यानको प्रदर्शन उल्लेखनीय रहेन। मुख्य ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल शुन्य, हरिशंकर साह ८, रोहितकुमार पौडेल १ र आशिफ शेख १२ रनमा पभेलियन फर्कँदा नेपालको ब्याटिङ शुरुबाट लडखडाएको थियो।

नेपाललाई लक्ष्यसम्म पुग्न नदिन यूएईका आयन अफ्जल खानले सर्वाधिक ४ विकेट लिँदा बसील हमीदले २, जहुर खान, रोहन मुस्तफा र अहमेद राजाले समान १ विकेट लिए।

सिरिजको दोस्रो खेलमा बुधवार नेपाल र यूएई आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell