PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वामदेवलाई हराएर चर्चित बनेका सञ्जय गौतम भन्छन् : यसपाली पनि जित्नैपर्ने हो



पहिलोपोस्ट

वामदेवलाई हराएर चर्चित बनेका सञ्जय गौतम भन्छन् : यसपाली पनि जित्नैपर्ने हो

काठमाडौं : अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई पराजित गरी चर्चामा आएका कांग्रेसका सञ्जयकुमार गौतम यसपटक पनि बर्दिया १ बाट चुनावी मैदानमा छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका गौतमविरुद्ध एमालेले लक्ष्मणराज ज्ञवालीलाई मैदानमा उतारेको छ।

नाताले ज्ञवाली वामदेवका ज्वाई हुन्। पछिल्लोपटक एमालेको राजनीतिबाट वामदेव असन्तुष्ट रहेकोले यसपटक कांग्रेसका सञ्जयकै पक्षमा महोल बन्ने स्थानीय नेताहरु बताउँछन्।

आफू बर्दियामै जन्मे हुर्केकोले यहाँको विकासको लागि प्रतिबद्ध रहने बताउँछन् सञ्जय। सोमवार आफ्नो चुनावी क्षेत्रमा व्यस्त रहेका सञ्जयले भने, 'म चुनावी प्रचारमै दौडिरहेको छु। एकदम व्यस्त छु।'

आफ्नो ठाउँको विकासका आफू पुन मैदानमा उत्रेको उनको भनाई थियो। 'आफू जन्मेको माटो हुर्केको बाटो सबैको प्यारो हुन्छ। बर्दियामै जन्मे र यही हुर्किए, राजनीति पनि यही भूमिबाट गर्दैछु। यहाँका दुखसुख, संस्कृति, रहनसहन र समुदाय नजिकबाट बुझेको छु, बर्दियाको सामाजिक रुपान्तरण र बर्दियाको बिकासका लागि मेरो आवाज सधै बुलन्द रहनेछ,' गौतमले भने।

यसैगरी गौतमले युवा सशक्तीकरण तथा रोजगारका लागि पनि आफू प्रतिवद्ध रहेको बताए। भने, 'युवा सशक्तीकरण तथा युवा स्वरोजगारको लागि  मेरो प्रतिबध्दता सधै कायम छ र रहिरहने छ।'

अघिल्लोपटक रोचक जित निकालेको तपाईलाई यसपटक कतिको अप्ठेरो देखिन्छ? हाम्रो प्रश्नमा सञ्जयले भने, 'चुनाव जित्नै पर्ने हो।'

कस्तो छ विगतको परिणाम?

माओवादी र एमालेको बलियो पकड भएको यहाँ २०७४ को निर्वाचनमा सञ्जयले वामदेवलाई ७ सय ५३ मतान्तरले पराजित गरेका थिए।

यसपटक सञ्जय गठबन्धनबाट साझा उम्मेदवार हुन्। स्थानीय तह निर्वाचन २०७९ को मत हेर्ने हो भने बर्दिया १ मा कांग्रेसले ३४ हजार ६ सय २२ मत प्राप्त गरेको छ। यसैगरी नेकपा माओवादी केन्द्रसँग २४ हजार ३ सय ४१ र नेकपा एकीकृत समाजवादीले १ हजार ६ सय ५२ मत प्राप्त गरेको छ।

स्थानीय निर्वाचनको मतअनुसार नेकपा एमालेले बर्दिया १ मा सबै दलभन्दा बढी ३६ हजार ८ सय १२ मत प्राप्त गरेको छ। राप्रपासँग ३ हजार १ सय ९० मत छ।

स्थानीय तहको नतिजालाई हेर्ने हो भने गुलरिया नगरपालिकामा नगरप्रमुख र उपप्रमुख नेपाली कांग्रेसले जितेको छ । बारबर्दिया नगरपालिकामा पनि नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख जितेको छ । बढैयाताल गाँउपालिकामा अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमाले र बासगढी नगरपालिकाममा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ ।

कांग्रेसका सञ्जयले माओवादीको मत पाएमा ६० हजारको हाराहारीमा आफ्नो मत बनाउने बताइएको छ। यद्यपि एमालेका उम्मेदवार ज्ञवालीलाई पनि बलियो उम्मेदवारको रुपमा हेरिएको छ।

गौतमको सक्रियता र थ्रेट

गौतमले पछिल्लो दिनहरुमा घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पुर्‍याएका छन्। मन्त्री हुँदा होस् वा अन्य बेला बर्दियामा विकास गरेको हुँदा जनताले उनैलाई रोज्ने बताउँछन्।

संसद् बैठकमा निरन्तर सहभागी हुने भएर जनताको आवाज बुलन्द गर्ने नेताका रुपमासमेत उनलाई हेरिएको छ। गठबन्धन मुलुक र जनताको आवश्यकत्ताले बनेको भन्दै देशमा राजनीतिक स्थायित्व र मुलुकको समृद्धिको लागि गठबन्धनले जित्नुपर्नेमा जोड दिने गरेका छन् सञ्जयले। बर्दिया धर्म, संस्कृति र परम्पराले पनि समृद्ध रहेकोले पर्यटन क्षेत्रमा विकास गर्ने योजनासमेत सुनाए उनले।

कुनै समयमा नेकपा एमालेको बलियो क्षेत्र रहेको अवस्थामा पछिल्लो पटक नेकपा एमाले विभाजन भएसँगै त्यसको प्रभाव नेकपा एमालेभित्र परेको देखिन्छ। त्यसको परिणाम नै गुलरिया नगरपालिका र बढैयाताल गाँउपालिकामा एमालेका उम्मेदवार पराजित भएका थिए।

गठबन्धनको पक्षमा बलियो माहोल भए पनि सञ्जयलाई कांग्रेस पक्षबाटै केही थ्रेट हुने बताइएको छ। उम्मेदवारी दिने समयमा यहाँ कांग्रेसको दोहोरी उम्मेदवारी परेको थियो। सञ्जयसँगै कांग्रेस जिल्ला सभापति अरुण प्रकाश सिंह राठौरको पनि उम्मेदवारी पर्दा विवाद सिर्जना भएको थियो। पछि राठौरको उम्मेदवारी खारेज भयो।

गठबन्धनबाट प्रदेश सभा क मा कांग्रेसका भुवनेश्वर चौधरी र ख मा माओवादीबाट अन्जु दहित उम्मेदवार छन्। क मा एमालेबाट शालिकराम अधिकारी र ख मा एमालेका भक्तबहादर विक चुनावी मैदानमा छन्। प्रदेश ख मा सुभाष पोखरेलको स्वतन्त्री उम्मेदवारी परेको छ। पोखरेल कांग्रेसका पुराना नेता हुन्। आफ्नो क्षेत्रमा राम्रो प्रभाव पार्नुभएका र पार्टीभित्र पनि राम्रो पहिचान भएका पोखरेलका कारण केही अप्ठेरो हुने हो कि भन्ने आशंका रहेको छ। यद्यपि गठबन्धनको फराकिलो मत र सञ्जयको व्यक्तिगत प्रभावका कारण यो क्षेत्रको परिणाम गठबन्धनको पक्षमा आउने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell