PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

कास्की ३ को चुनावी ब्याटल, कसको कस्तो छ अवस्था?



रिना थापा

कास्की ३ को चुनावी ब्याटल, कसको कस्तो छ अवस्था?

पोखराः २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्कीका तीनै क्षेत्रमा जित निकालेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई विरासत जोगाउन मुस्किल छ। अघिल्लो निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचन जितेको एमालेको अगाडि प्रतिस्पर्धी अहिले उही सहयात्री माओवादी केन्द्र छ। सम्रगमा कास्कीमा प्रतिस्पर्धा रोचक छ। एमालेबाट टुक्रिएर बनेको एकिकृत समाजवादी र माओवादी केन्द्र समेत मिलेर पाँच दलीय सत्तारुढ गठबन्धन मैदानमा छन्। यता, विरासत जोगाउने दाउमा आफ्नै पुरानो सारथिसँग मैदानमा भिड्दैछन् एमालेका उम्मेदवार।

मजदुर आन्दोलनबाट उदाएका नेता हुन् दामोदर पौडेल (वैरागी)। एमाले भित्र निष्ठावन नेताका रुपमा चिनिन्छन् उनी। मजदुर र श्रमजीवीका लागि आवाज उठाएर चिनिएका दामोदरलाई पार्टीले अहिले अवसर दिएको छ। प्रतिनिधि सभाका लागि उनी कास्की ३ बाट मैदानमा छन्। पहिलोपटक निर्वाचमा भिड्दैछन् दामोदर। यता उनका प्रतिस्पर्धी छन् सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रामजी बराल। रामजी यसअघि कास्की ३ (क) मा प्रदेश सभा सांसद चुनिएका थिए। गण्डकीका अर्थमन्त्री पनि हुन्। मतदातासँग परिचित अनुहार रामजी प्रतिनिधि सभामा पुग्ने दाउमा छन्। पहिलोपटक निर्वाचनमा होमिए पनि वैरागीको कसरत राम्रै छ।

यस क्षेत्रमा अन्नपूर्ण, माछापुच्छे गाउँपालिका र पोखरा महानगरका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४, २५ नं वडा पर्छन्। अघिल्लो पटक यस क्षेत्रबाट एमालेका जगतबहादुर विश्वकर्माले ३२ हजार ६९० मत ल्याएर चुनिएका थिए।

त्यस समय उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३०४ मत पाएका थिए। ८ हजार बढी मतान्तरले जित निकालेको यस क्षेत्रमा अहिले भने एमाले आफ्नो जितमा अन्योल छ। कास्कीमा तीन क्षेत्रमध्ये २ र १ मा जित निकाल्ने दाबी एमालेले राखे पनि ३ मा अन्योल रहेको एमालेकै नेता बताउँछन्।

‘पार्टीभित्र अन्तर्घात भएन मजदुर आन्दोलनबाट आएको योद्धा भनेर मत दिए एमालेले जित्छ। २ मा जित्ने पक्का हो। लोकप्रियताको हिसाबले पार्टीभित्रको आन्तरिक मतभेदका कारण मत नआउन पनि सक्छ। यसै भन्न सकिँदैन।,’ ती नेताले भने ।

दामोदर खगराज अधिकारी गुटका हुन्। कास्कीमा अधिकारी र पृथ्बीसुब्बा गुरुङ पक्षबीच टक्कर छ।

उदाहरणका लागि कास्की १ मा प्रतिनिधि सभामा पृथ्वीसुब्बा पक्षका मनबहादुर गुरुले टिकट पाएका छन्। त्यसको दुई प्रदेश सभा निर्वाचन क्षेत्रमा एउटामा खगराज आफैँ उम्मेदवार छन् भने अर्को क्षेत्रमा वेदबहादुर गुरु उम्मेदवार छन्। यहाँ मनबहादुरले दुई नेतालाई मत नमाग्दा उनी आफैँलाई पनि असर गर्छ। मत क्रस गराएर एउटाले अर्कोलाई हराउनेमा नेताहरु नलाग्ने देखिन्छ।

यस्तै अवस्था कास्की ३ मा छ। त्यहाँ प्रतिनिधि सभामा दामोदर, प्रदेश सभाका दुई निर्वाचन क्षेत्रमा गणेशमान गुरुङ र राजीव पहारी उम्मेदवार छन्। यो क्षेत्रमा प्रदेश सभाका दुवै उम्मेदवार पृथ्वीसुब्बा निकट हुन्। उनीहरुले आफूलाई मत मागेर अर्कोलाई धोखा दिने स्थिति छैन। यो निर्वाचन क्षेत्रमा उठेका राजीव अहिले जित हार के हुन्छ भन्न सक्ने अवस्थामा छैनन्। आफैँलाई जिताउन कस्सिनुपर्ने अवस्थामा उनले अर्को गुटको मान्छे भनेर नेता दामोदरलाई हराउन लाग्ने अवस्था पनि छैन।

यस्तै स्थानीय तह निर्वाचनमा एमालेले अन्नपूर्ण गाउँपालिका जित्दा माछापुच्छेमा कांग्रेसले जितेको छ। यस्तै यो क्षेत्रमा पर्ने पोखराका ११ वटा वडामध्ये जम्मा तीन वडामा एमाले विजयी भएको थियो। सात वटा वडामा कांग्रेसले जित निकाल्दा एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भए। उनी पनि माओवादी केन्द्रका थिए।

पर्यटनमा विकासः मतदाता रिझाउने प्रयास

पर्यटकीय क्षेत्र फेवातालदेखि अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल लगायतका ठाउँ यसै क्षेत्रमा पर्छ। पञ्चासे, कश्यप धाम, पञ्चासे, पुम्दीकोट, घान्द्रुक, लान्द्रुक, धम्पुसजस्ता कास्कीमा पर्ने पर्यटकीय क्षेत्रको विकास गर्ने आश्वासन बाँड्दै छन् उम्मेदवार।

एमालेबाट उम्मेदवारी दिएका वैरागी पर्यटकको आवागमन कसरी बढाउन सकिन्छ, सरकारले त्यसमा के भूमिका खेल्न सक्छ भन्ने खोजी र सरकारमार्फत कार्यान्वयन गर्न चाहाने बताउँदै मतदाताको घरमा पुग्छन्।  रामजी पनि बाटो बनाउनेदेखि पर्यटकीय क्षेत्रको विकासमा जोड दिने आश्वासन दिँदै मत माग्न व्यस्त देखिन्छन्। घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले आइतबार लामाचौरदेखि सार्दीखोला हुदै माछापुच्छे गाउँपालिका जोड्ने नमुना सडक बनाउने बताएका हुन्।

उनले भनेका थिए, ‘कृषि र पर्यटनको महत्व रहेको लामाचौर, सार्दीखोला हुदै माछापुच्छे गाउँपालिका केन्द्र जोड्ने नमुना सडक निर्माण गर्न हामीहरुले बिषेश पहल गर्नेछौं। जीर्ण सडकको अबस्थाले स्थानीयले धेरै दुःख पाएको हामीले महसुस गरेका छौं।'

प्रदेशको मैदानमा को छन्?

कास्की ३ ‘क’मा गणेशमान गुरुङ प्रतिस्पर्धामा उत्रिँदा गठबन्धनबाट माओवादीका दुर्गादत्त भण्डारी छन्। यसअघि यस क्षेत्रबाट गण्डकीका अर्थमन्त्री रामजीले १५ हजार ८२३ मत ल्याएर निर्वाचित भएका हुन्। यस क्षेत्रमा माछापुच्छे गाउँपालिका र पोखराको वडा १, २, ३, १८, १९ र २५ पर्छन्।

यस्तै  कास्की ३ ‘ख’मा राजीव पहारी प्रतिस्पर्धामा उत्रिँदा कांग्रेसका प्रकाश बराल मैदानमा छन्। राजीव पहारी गण्डकीका निवर्तमान सांसद हुन्। अघिल्लो निर्वाचनमा उनले १६ हजार १६७ मत ल्याउँदै निर्वाचित भएका थिए। कांग्रेसका प्रकाश भने पहिलोपटक निर्वाचन लड्दैछन्। यद्यपl प्रकाश कास्कीमा राम्रा नेता मानिन्छन्। अन्य पार्टीसँग पनि उनको सम्बन्ध राम्रो छ। यस क्षेत्रमा अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरका ५, ६, २३, २२ र २४ वडा पर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell