PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सि-बाइडेन वार्ता : खुल्दै चीन-अमेरिका संवादको नयाँ ढोका



विधुर ढकाल

सि-बाइडेन वार्ता : खुल्दै चीन-अमेरिका संवादको नयाँ ढोका
Photo: Doug Mills/The New York Times

सांघाई : लामो कुटनीतिक तथा आर्थिक तनाबका बिच चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच भेटवार्ता भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औँ राष्ट्रिय कंग्रेसपछि पहिलोपटक देशबाहिर निस्किएका सि र मध्यावधिक चुनावमा रहेको अमेरिकाका राष्ट्रपति बाइडेनबिच इन्डोनेसियाको बालीमा सोमवार भेटवार्ता भएको हो।

सोमवारको भेटमा दुई देशबिचको सम्बन्धको रणनीतिक महत्त्वका विषयमा छलफल भएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ। त्यस्तै, सो भेटमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा समेत छलफल भएको समाचारमा उल्लेख छ

सो भेटमा चिनियाँ राष्ट्रपति सिले चीन-अमेरिकाबिचको सम्बन्ध दुई देशको मात्र चासोको विषय नभई सम्पूर्ण विश्वकै चासोको विषय रहेको बताएका छन्।

राष्ट्रपति सिले सीपीसीको २०औँ राष्ट्रिय कंग्रेसका उपलब्धि तथा आन्तरिक तथा विदेश नीतिका विषयमा जानकारी गराएका थिए। साथै, उनले सीपी र चिनियाँ सरकारका नीतिहरु खुला र पारदर्शीसमेत रहेको बताएका थिए। उनले चीनले चिनियाँ राष्ट्रको कायाकल्पका लागि सबै पक्षहरुमा आधुनिकीकरणमा अगाडि बढेको बताएका थिए।

उनले चीन विश्वव्यापी साझेदारीलाई थप विस्तार गर्दै लैजाने बताउँदै अन्तर्राष्ट्रिय प्रणाली तथा अन्तर्राष्ट्रिय व्यवस्थाका आधारमा अगाडि बढ्ने बताएका थिए। साथै, उनले अमेरिकालाई चीन र अमेरिकाबिच भएका तीन संयुक्त पत्राचारको महत्त्व दर्साउँदै सोही अनुसार आपसी द्वन्द्व अन्त्यका लागि आग्रह गरेका थिए।

त्यस्तै, सो भेटमा ताइवानको प्रश्नमा चीनको सैद्धान्तिक अडान कायम रहेको भन्दै ताइवान सम्बन्धी प्रश्न चीनको आन्तरिक विषय भएको बताएका थिए। उनले ताइवानलाई चीनबाट अलग गर्न खोज्ने जो कोहिले पनि चिनियाँ राष्ट्रको आधारभुत स्वार्थको उल्लंघन गर्ने बताएका थिए।

भेटका क्रममा बाइडेनले तेस्रो कार्यकालका लागि सीपीसीको महासचिवमा निर्वाचित भएकोमा सीलाई बधाई दिएको समाचारमा उल्लेख छ। साथै, उनले स्थायी र समृद्ध चीन-अमेरिका र विश्वकै लागि सही भएको बताउँदै चीनको व्यवस्थाको सम्मान गर्ने र यसलाई परिवर्तन गर्न नचाहेको बताएका थिए।

साथै, उनले अमेरिका नयाँ शित युद्ध नचाहेकोसमेत बताएका थिए। उनले चीनविरुद्ध कुनै गठबन्धन नचाहेकोसमेत स्पष्ट पारेको सिन्ह्वाले जनाएको छ।

‘अमेरिका ताइवान स्वतन्त्रतालाई समर्थन गर्दैन। दुई चीन वा एक चीन एक ताइवानलाई समर्थन गर्दैन। र चीनसँग कुनै पनि द्वन्द्व चाँहदैन,’ बाइडेनको भनाइ उल्लेख गर्दै सिन्ह्वाले लेखेको छ।

जवाफमा अमेरिकी राष्ट्रपति बाइडेनले सिनचियाङ, तिब्बत र हङ्कङमा चीनले गरिरहेको अभ्यासप्रति चासो व्यक्त गरेको ह्वाइट हाउसले जनाएको छ। साथै उनले मानवअधिकारको विषयमासमेत कुरा निकालेका थिए।

ताइवान मामिलामा बोल्दै बाइडेनले ‘एक चीन नीति’प्रतिको अमेरिकी नीति परिवर्तन नभएको बताएका थिए।

‘ताइवानको बारेमा, उहाँले हाम्रो एक चीन नीति परिवर्तन भएको छैन, संयुक्त राज्य अमेरिका कुनै पनि पक्षबाट यथास्थितिमा कुनै पनि एकपक्षीय परिवर्तनको विरोध गर्दछ र ताइवान जलडमरूमा शान्ति र स्थायित्व कायम गर्न विश्वको चासो रहेको बताउनुभयो’, ह्वाइट हाउसले भनेको छ, ‘उहाँले ताइवान तर्फ चीनको जबरजस्ती र बढ्दो आक्रामक कार्यहरूप्रति अमेरिकी आपत्ति उठाउनुभयो, जसले ताइवान जलडमरु र फराकिलो क्षेत्रमा शान्ति र स्थिरतालाई कमजोर पार्छ र विश्वव्यापी समृद्धिलाई खतरामा पार्छ।’

भेटवार्ताले संवाद खोल्दै

यसैबिच, भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले प्रत्यक्ष संवादलाई कुनै पनि टेलिफोन वा भर्चुल संवादले प्रतिस्थापन गर्न नसक्ने बताएका थिए। उनले भेटवार्ताको महत्त्व दर्शाउँदै गर्दा बालीमा सोमवार भएको भेटले दुई देशबिचको संवादहिनताको अवस्थाको अन्त्य गर्ने संकेत गरेको छ।

सोमवार नै ह्वाइट हाउसले यसको संकेत दिएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी व्लिङ्कनले पहिलो चीन भ्रमण गर्ने जानकारी गराएको छ।

अमेरिकाले साढे तीन घण्टा लामो भेटवार्तामा दुई राष्ट्रबिच वृहत क्षेत्र तथा मुद्दाहरुमा छलफल भएको बताउँदै संवादलाई थप अगाडि बढाउन सहमत भएको जनाएको छ।

‘राष्ट्रपति बाइडेनले भने कि संयुक्त राज्य अमेरिका जनवादी गणतन्त्र चीनसँग कडा प्रतिस्पर्धा गर्न जारी राख्नेछ, जसमा घरेलु शक्तिका स्रोतहरूमा लगानी गरेर र विश्वभरका सहयोगी र साझेदारहरूसँग प्रयासहरू पङ्क्तिबद्ध गर्नेछ’, भेटपछि ह्वाइट हाउसले भनेको छ, ‘उहाँ (बाइडेन)ले यो प्रतिस्पर्धालाई द्वन्द्वमा नलग्ने कुरा दोहोर्‍याउनु भयो र संयुक्त राज्य अमेरिका र चीनले जिम्मेवारीपूर्वक प्रतिस्पर्धाको व्यवस्थापन गर्न र सञ्चारको खुला लाइनहरू कायम गर्नुपर्दछ भनेर जोड दिनुभयो।’

ह्वाइटहाउसले यससँगै दुई नेताबिचको संवादको फलोअपका लागि अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले चीनको भ्रमण गर्ने विषयमा दुई नेताबिच सहमति भएको जनाएको छ।

सिको साथमा नयाँ अनुहार

बाइडेनसँगको भेटमा यसपटक चिनियाँ राष्ट्रपतिको साथमा नयाँ अनुहार देखिए। पहिलोपटक सीपीसीको सात सदस्यीय पोलिटव्युरो स्ट्यान्डिङ कमिटीमा बढुवा भएका तिङ स्वइसियाङ सहभागी थिए। सिको आगामी कार्यकालमा उनी नै विदेश नीति कोर्ने आर्टिटेक्चर हुने देखिन्छ।

तिङ यसअघि पनि अधिकांश सिका भ्रमणमा साथै सहभागी हुँदै आएका थिए। त्यस्तै सिको अर्को तर्फ विदेश मन्त्री वाङ यी बसेका थिए। गत महिना सम्पन्न सीपीसीको कंग्रेसबाट वाङ २४ सदस्यीय पोलिटव्युरोमा बढुवा भएका थिए।

यो भेटमा चीनबाट एक जनाको अनुपस्थिति देखिन्थ्यो ती हुन अमेरिकाका लागि चिनियाँ राजदूत छिन काङ। उनलाई वाङ पछि विदेश मन्त्रीको रुपमा प्रतिस्पर्धी मानिन्छ।

त्यस्तै, भेटवार्तामा नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका अध्यक्ष ह लिफङ पनि सहभागी थिए। उनी पनि गत महिना सम्पन्न कंग्रेसबाट पोलिटव्युरोमा ल्याइएका थिए। उनलाई सिका मुख्य आर्थिक सल्लाहकार तथा अमेरिका र युरोपियन युनियनसँगका वार्ताकार उपप्रधानमन्त्री लिउ हलाई प्रतिस्थापन गर्ने गरी पोलिटव्युरोमा ल्याएको थियो।

यस्तै, दुई सहायकविदेश मन्त्रीहरु सिय फङ, मा चाओसु उपविदेश मन्त्री तथा मन्त्रालयकी प्रवक्ता हुवा चुनइन र राष्ट्रपतिका सचिव लु लुहुवा पनि भेटवार्तामा सहभागी थिए।

यसैगरी, बाइडेनको टोलीमा विदेशमन्त्री व्लिङ्कनसहित ट्रेजरी सेक्रेटरी जानेट यलन र राष्ट्रिय सुरक्षा सल्लाहकार जाके सुलिभान पनि सहभागी थिए। त्यस्तै, ह्वाइट हाउसका इन्डो प्यासिफिक क्षेत्रका संयोजक कुर्त काम्वेल, पूर्वी एसिया तथा प्यासिफिक मामिला हेर्ने सहायक विदेश मन्त्री डानियल क्रिटेनव्रिंक र सुरक्षा परिषद्का अन्य दुई सदस्य पनि सहभागी थिए।

भेटवार्ता अगाडि दुई राष्ट्रपतिले संयुक्त रुपमा प्रेस अगाडि सम्बोधन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell