PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कमल थापा हराउने दाउमा लिङ्देन! एक हप्तामै दुई पटक किन पुगे मकवानपुर?



निशा गुरुङ

कमल थापा हराउने दाउमा लिङ्देन! एक हप्तामै दुई पटक किन पुगे मकवानपुर?

हेटौंडा : मकवानपुरको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बहादुर सिंहलाई मत माग्न गत शुक्रवार मात्रै पूर्वी मकवानपुरको बकैयाँ गाउँपालिका-४ मा भएको आमसभामा आएका थिए राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन। उनी एक हप्ता नबित्दै सोमवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा भएको राप्रपाको आमसभालाई सम्बोधन गर्न पुनः मकवानपुर आइपुगेका हुन्।

‘मकवानपुरका जनताले पटक-पटक एउटै मान्छेलाई जिताएर पठाइसकेको छ। साँच्चै यो क्षेत्रबाट हाम्रो दाइ पनि उठ्नुभा छ होइन? उहाँलाई पनि तपाईँहरुले पठाएर हेर्नुभाको छ,’ सोमवारको आमसभालाई सम्बोधन गर्दै उनले भने।

उनी मकवानपुरमा आएर पटक-पटक सिंहको लागि मत मागिरहँदा क्षेत्र नम्बर २ तर्फका उम्मेदवार राजन मैनाली र प्रदेश सभाका उम्मेदवारहरुका लागि भने मत माग्नै बिर्से। कार्यक्रममा सँगै बसेका अन्य उम्मेदवारहरुलाई भने उनले देख्दै देखेनन्।

१३ नम्बर वडामा भएको चुनावी सभामा पुगेका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार राजन मैनालीले आफूलाई केन्द्रीय अध्यक्षले नदेखेको भन्दै चिन्तित थिए।

‘उहाँलाई थाहा छैन होला, क्षेत्र नम्बर २ बाट म पनि उम्मेदवार हुँ भनेर,’ पटक-पटक केन्द्रीय अध्यक्ष मकवानपुर आएर दिपक सिंहलाई मात्र मत मागेको भन्दै उनले दुख व्यक्त गरे।

आमसभामा आफू एक्लै हुँदा पनि भ्रष्टचारविरुद्ध र राष्ट्रियताको पक्षमा निरन्तर बोल्दै आएको दावी गर्दै अध्यक्ष लिङ्देलले सिंहलाई जिताएर साथी बनाइदिन आग्रह गरे। महाधिवेशनपछि पार्टी सशक्त ढंगले अघि बढेको बताउँदै उनले ४ मंसिरमा हुने निर्वाचनपछि पार्टी देशको वैकल्पिक शक्तिको रुपमा आउने दाबी समेत गरे।

मकवानपुरका मतदाताहरुलाई गम्भीर समीक्षा गरेर पटक-पटक हार्दापनि मकवापुरे जनताको निम्ति केही गर्छु भनेर लागेका सिंहलाई एकपटक विश्वास गरेर मतदान गर्न अनुरोध गरे।

मकवानपुरका अन्य उम्मेदवारबारे चासो नै नदेखाएका लिङ्देन पटक-पटक मकवानपुरमा मात्रै किन आए? उनी यहाँ पटक-पटक आउनुको कारण सिंहलाई विजयी बनाउन र विशेषगरी कमल थापालाई पराजित गराउन भएको राजनीतिकवृत्तमा चर्चा छ।

राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग २ सय २७ मतले पराजित भएका थापा आफूलाई हराउन निर्मल निवास नै लागेको बताउँदै पार्टीबाट अलग्गिएर राप्रपा नेपाल ब्युँताएका थिए। राप्रपा नेपाल ब्युँताएका थापा हाल एमालेको सूर्य चिह्न लिएर दिपक सिंहकै प्रतिस्पर्धी बनेका छन्।

आफू पार्टी अध्यक्ष भएर थापाले अर्को पार्टीको चिह्न लिएर चुनाव लडेका छन्। तर, उनका पार्टीका पदाधिकारी र नेताहरु तीर चिह्न लिएर चुनावी मैदानमा उत्रेका छन्।

राप्रपाका एक पदाधिकारीले प्रतिक्रिया दिँदै भने, ‘पार्टी अध्यक्ष भएर अर्को पार्टीको चिह्नबाट चुनाव लड्नु यो चरम अवसरवाद र सिद्धान्तहिन कुरा हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell