PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

आफ्नो क्षेत्रमा फर्किएकी डिना जित्नेमा ढुक्क, ‘अब मिठोको दिन आयो’ (अन्तर्वार्ता)



पहिलोपोस्ट

आफ्नो क्षेत्रमा फर्किएकी डिना जित्नेमा ढुक्क, ‘अब मिठोको दिन आयो’ (अन्तर्वार्ता)

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ यसपटक मकवानपुर-१ बाट चुनावी मैदानमा छिन्। क्षेत्र २ बाट पटक-पटक उम्मेदवार बने पनि जितको इतिहास दर्ज गर्न सकेकी छैनन् उनले। २०४८ देखिको निर्वाचनमा तीन पटक हार व्यहोरिसकेकी डिनालाई यसपटक गठबन्धनको साथ छ। त्यसैले होला यसपटक बढी कन्फिडेन्ट देखिएकी छन् उनी।

तर, एमालेले आफ्नो सूर्य चिह्न सुम्पिएर कमल थापालाई डिनाको प्रतिस्पर्धी बनाएको छ। यतिमात्र हैन राप्रपाले दीपक सिंहलाई मैदानमा उतारेर यहाँको माहोललाई रोचक बनाइदिएको छ। अब के होला चुनावी परिणाम? कांग्रेस उम्मेदवार उपाध्यायसँग पहिलोपोस्टकर्मी निशा गुरुङले सोधेकी छिन् :

गठबन्धनको साथ छ, ढुक्क हुनुहुन्छ है?
निर्वाचन जित्छु। म विश्वस्त छु।

तर, राप्रपाकै दीपक सिंह बलिया प्रतिस्पर्धीका रुपमा देखिनुभएको छ यो क्षेत्रमा, स्थानीय चुनावमा राम्रो मत आएको थियो उहाँको?
स्थानीय तहको निर्वाचन र राष्ट्रिय निर्वाचन फरक हो। स्थानीय निर्वाचन जतिबेला उहाँ उठ्नुभो। डाईरेक्ट कार्यकारीणी पदमा जाने ठाउँ भएकोले यसले गर्छकि भनेर भोट दिएको हुन्छ।

अहिले भनेको प्रतिनिधिसभामा। त्यसकारण प्रतिनिधि सभामा राष्ट्रिय पार्टी नै नबनेको पार्टीबाट एकल जाँदा त्यस्को अस्तित्व नै रहँदैन।  
त्यसकारणले सिंगलमात्रै जिताएर के हुन्छ? भन्ने कुरा जनताले बुझिसकेका छन्। हिजो राष्ट्रिय पार्टी बनाउन नसक्ने नेताहरुले जितेर गएर के गर्न सक्यो?

निर्वाचन क्षेत्र फेर्दाको असर पनि त पर्ला नि?
होइन, तपाईहरुले पनि अफवाह फैलाइरहनुभएको छ। मेरो निर्वाचन क्षेत्र परिवर्तन होईन। गएको ७४ सालको निर्वाचनमा चाँहि म अर्काको निर्वाचन क्षेत्रमा गएको हो। अहिले म आफ्नै निर्वाचन क्षेत्रमा फर्केको छु। त्यसकारण यो मेरै क्षेत्र हो।

पहिला मकवानपुरमा तीनवटा निर्वाचन क्षेत्र हुँदाखेरी म यो बजारबाट उठेको व्यक्ति हो। त्यसपछि ४ वटा निर्वाचन क्षेत्र भयो र, अहिले दुईवटा। यसलाई ‘क्ल्यिर’ बुझ्नुपर्छ कि म अर्काको निर्वाचन क्षेत्रमा आएको होइन म आफ्नै निर्वाचन क्षेत्रमा फर्केकी हुँ।

तपाईंको निर्वाचनको इतिहास हेर्ने हो भने तितो नै तितो छ नि?
तितोबाट मिठो हुन्छ नि त। अब मिठोको दिन आयो भन्ने लाग्छ मलाई।

तर, एमालेले राप्रपा नेपालका अध्यक्षलाई आफ्नो चिह्न नै सुम्पेर तपाईको विरुद्ध उठाएको छ?
अब प्रतिस्पर्धी भएपछि हराउने योजना उहाँले पनि गर्नुहोला। मैले पनि गरौँला। हामी मैदानमा छौं। त्यसकारण जिताउने हराउने जनताको हातमा छ। जनता के चाहन्छ त्यही हो। हिजो दिनमा पञ्चायतमा पनि शाषण गर्ने हिजो नेपालमा गणतन्त्र ल्याउनेको विरुद्धमा लड्ने आम जनताले अहिले त बुझेका छन्। त्यसकारण उहाँ जुनसुकै पार्टीबाट जुनसुकै चिन्ह लिएपनि उहाँलाई आम जनताले अहिले मन पराएका छैन।

त्यो तपाईहरुले पनि अध्ययन गर्न सक्नुहुन्छ। आम मतदाताले पटकपटक सत्तामा जाने लडाँई मात्रै गर्ने, फर्केर नआउने र आफू ठूलोभन्दा ठूलो पदमा रहेर पनि जनताको पक्षमा काम नगरेको भन्ने सबै मतदाताको गुनासो छ।

तपाई पनि सत्तामा पुगेर विकास नगरेको भन्ने जनताको गुनासो छ नि?
मकवानपुरमा केलाएर हेर्नुभयो भने मैले भन्दा बढी कसैले पनि गरेको छैन। तपाईले भनेजस्तो ठूला ठूला कुराहरु गरिनँ होला। जस्तै औद्योगिक क्षेत्र अहिले धरासयमा पुगेको छ त्यो औद्योगिक क्षेत्रलाई पुनःनिर्माण गर्ने मेरो योजना हो। आम जनताको माझमा महिलाको समस्याहरु, युवाको समस्याहरु, दलितका समस्याहरु आजपनि मैले सहकारी र विभिन्न संघसंस्थाका माध्यमहरुबाट धेरै काम गरेका छौं।

त्यहाँ हामीले उद्योग पनि सहकारीको माध्यमबाट खोलिरहेका छौं। हामीले किसानलाई प्रत्यक्ष सस्तोभन्दा सस्तो व्याजदरमा लगानी गरेका छौं। चिस्यान केन्द्रहरु धेरै कामहरुमा जनताका लागि म दिनहुँ लागिरहेको छु। जस्तै आफ्नो क्षमताले भ्याउनेसम्म पदमा नरहँदा, सरकारमा नरँहदा मैले धेरै काम गरेको छु।

अर्को कुरा तपाईले भनेको जस्ते म संसद रहँदा सविधानसभा सदस्य भएको हुँ। त्यो भन्दा अगाडि म ६ महिना मन्त्री जलस्रोत राज्यमन्त्री थिए। त्यतिबेला मैले विद्युतीय करणमा मनहरी, राक्सिराङ,कांकडा, हाँडीखोला त्यतिबेला त्यो मेरो क्षेत्र थियो। यही हटिया, हर्नामाडीमा मैले धेरै काम गरेको छु। तटबन्धमा मैले धेरै काम गरेको छु। छोटो समयमा पनि मैले हरेक गरिब महिलाहरुको घरमा बत्ती पुर्‍याउने योजनाहरु पनि मैले नै गरेको हो। नीतिगत निर्णय पनि धेरै गरेको छु।

कांग्रेसमा अन्तरघातको खेल हुन्छ, तपाईलाई पटक-पटक धोका दिएकै हो? 
यो भन्दा अगाडि भएको छैन। पहिलोपटक उठ्दा त्यतिबेला मकवानपुरमा कांग्रेस कमजोर थियो। २०५१ सालमा स्वतन्त्र हुनुहुन्थ्यो। पार्टी छोडेर स्वतन्त्र उम्मेद्वार बन्नुभएको थियो जस्ले मेरै भोट काटिएको हो।

बागी र अन्तरघातको कुरा मान्छेले अफवाह फैलाएका हुन्। बाहिर तपाईकै पार्टीबाट सहयोग गरेको छैन भन्ने झुण्ड विपक्षीहरुले तयार पारेका छन्। बजारमा त्यसका कुराहरु ल्याउने काम गरेका छन्। त्यसले गर्दा हाम्रै पार्टीका साथीहरुलाई आक्षेप लगाउने काम गरिरहेका छन्। होला अन्य जिल्लामा अन्तरघातको कुरा। तर, मकवानपुरमा त्यो माहोल छैन। बाहिरको मान्छेले त चुनाव बिगार्न जे पनि भन्छन्। 

त्यसो भए यो निर्वाचनमा तपाई निर्धक्क हुनुहुन्छ?
पार्टीको साथ छ। गठबन्धनको साथ छ। निर्वाचन जित्छौँ भन्ने आम पार्टीका साथीहरु लागिरहनु भएको छ। मेरो त दाबी छ, २० हजार मतान्तरले म चुनाव जित्छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell