कतार विश्वकपमा स्पेनी टोलीमा नपरेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडी सर्जियो रामोसले टिमबाट बाहिरिँदा निराश बनेको बताएका छन्। पीएसजीमा अघिल्लो सिजन चोटका कारण कम समयमात्र टिमबाट खेलेका उनी फर्ममा फर्किएपछि पनि विश्वकपका लागि टिममा परेनन्।
स्पेनका प्रशिक्षक लुइस इनरिक्वले रामोसलगायत मिडफिल्डर थिआगो अलकान्टरा, डिफेन्डर मार्कोस अलोन्सो, गोलकिपर डेभिड डी गियालगायतका अनुभवी खेलाडीलाई बाहिर राख्दै २६ सदस्यीय टोली घोषणा गरेका हुन्।
रियल मड्रिडबाट विभिन्न १६ ट्रफी जितेका ३६ वर्षे डिफेन्डर रामोस अघिल्लो वर्ष पीएसजी पुगेका थिए। आफ्नो पाँचौँ विश्वकपमा टिममा नपरेपछि उनले सामाजिक सञ्जालमा समर्थकका लागि भावुक पत्र लेखेका हुन्।
'मैले आफूलाई, शरीर र आत्मालाई निको हुन र मसँग सधैं भएको अनुभूतिमा फर्कन समर्पण गरें, सौभाग्यवश, म भन्न सक्छु यो सिजन म फेरि आफू जस्तै महसुस गरिरहेको छु र फुटबलको आनन्द लिइरहेको छु,' रामोसले इन्स्टाग्राममा लेखेका छन्, 'विश्वकप? निसन्देह, यो ती ठूला सपनाहरूमध्ये एक थियो जुन मैले साकार गर्न चाहन्थें। यो मेरो पाँचौं हुने थियो तर दुर्भाग्यवश मैले यसलाई घरमा बसेर हेर्नुपर्नेछ।'
सन् २०१० मा स्पेनले विश्वकप जित्दा रामोस टोलीका महत्वपूर्ण सदस्य थिए।
'म आफ्नो बारेमा केही परिवर्तन गर्दिनँ। न मेरो मानसिकता, न जोश, न मेरो प्रतिबद्धता, प्रयास र समर्पण,' उनले लेखेका छन्।
स्पेनले कोस्टारिकासँगको विश्वकपको खेलअघि बिहीवार जोर्डनसँगको मैत्रीपूर्ण खेल खेल्दैछ। त्यसबाहेक समूह 'ई' मा उनीहरुको प्रतिद्वन्द्वी जापान र जर्मनी हुनेछन्।
२६ सदस्यीय स्पेनी टोली
गोलकिपर : उनाई साइमन (एथलेटिक बिलबाओ), रोबर्ट सान्चेज (ब्राइटन एण्ड होभ एल्बियन), डेभिड राया (ब्रेन्टफोर्ड)।
डिफेन्डर: सेजर एजपिलिकुएटा (चेल्सी), ड्यानी कार्भाजल (रियल म्याड्रिड), एरिक गार्सिया (बार्सिलोना), ह्युगो गुइलामोन (भ्यालेन्सिया), पाउ टोरेस (भिल्लारियल), अमेरिक लापोर्टे (म्यानचेस्टर सिटी), जोर्डी अल्बा (बार्सिलोना), जोसे गया (भ्यालेन्सिया)
मिडफिल्डर: सर्जियो बुस्केट्स (बार्सिलोना), रोड्रि हर्नान्डेज (म्यानचेस्टर सिटी), गाभि (बार्सिलोना), कार्लोस सोलेर (पेरिस सेन्ट जर्मेन), मार्कोस लोरेन्ट (एटलेटिको मड्रिड), पेड्रि गोन्जालेज (बार्सिलोना), कोके रेसुरेसिन (एटलेटिको मड्रिड)।
फरवार्ड: फेरान टोरेस (बार्सिलोना), निको विलियम्स (एथलेटिक बिलबाओ), येरेमी पिनो (भिल्लारियल), अल्भारो मोराटा (एटलेटिको मड्रिड), मार्को एसेन्सियो (रियल म्याड्रिड), पाब्लो साराबिया (पेरिस सेन्ट जर्मेन), ड्यानी ओल्मो (आरबी लाइपजिग), अन्सु फाती (बार्सिलोना)।