काठमाडौं : माघ २ गते ‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ। फेस्टिभलको तेस्रो संस्करणको यस वर्षको नारा ‘मोटरसाइकलिङ सेफ्टी’ रहेको छ।
ग्लोबल एलायन्स अफ एनजीओ फर रोड सेफ्टी, एफआईए फाउन्डेसन र अन्य विभिन्न संघसंस्थाले नासा फाउन्डेसन नेपालसँगको सहकार्यमा यो फेस्टिभल हुन लागेको हो। फेस्टिभलमा सडक सुरक्षा, सुरक्षित सवारी र हेल्मेटको महत्त्व सम्बन्धी फिल्महरु प्रदर्शन गरिने फेस्टिभलका संयोजक इश्वर बल्लभ उप्रेतीले जानकारी दिए।
‘यो वर्ष हामीले मोटरसाइकलको सुरक्षा थिममा फेस्टिभल गर्न लागेका छौं। फेस्टिभल मार्फत सडक र सवारी सुरक्षा सम्बन्धी जनचेतना फैलाउने हाम्रो लक्ष्य रहेको छ,’ उनले भने।
फेस्टिभलमा सहभागी हुन चाहने प्रतिस्पर्धीले आउँदो डिसेम्बर ३० सम्म मोटरसाइकल सेफ्टीमा आधारित भिडियोहरु बुझाउनु पर्नेछ। भिडियो ३ देखि १० मिनेटसम्मको हुनुपर्ने नियम छ।
जसबाट छनोट भएका १० फिल्महरुलाई प्रतियोगितामा समावेश गर्नुका साथै काठमाडौंको दरबार मलमा रहेको ‘दरबार सिनेम्याक्स’ मा प्रदर्शन गराइने छ। उत्कृष्ट तीन फिल्मलाई पुरस्कार दिइने आयोजकले जनाएको छ।