PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पाकिस्तानको 'टिम गेम' को कमजोरीमा खेल्ने प्रशिक्षक कटुवालको योजना, नेपालमा के छ पाकिस्तानको योजना?



मुकुन्द घिमिरे

पाकिस्तानको 'टिम गेम' को कमजोरीमा खेल्ने प्रशिक्षक कटुवालको योजना, नेपालमा के छ पाकिस्तानको योजना?

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले बुधवार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। दशरथ रंगशालामा हुने खेलमा पाकिस्तानले फिफाको प्रतिबन्ध पछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमनको तयारी गर्दैछ।

यता, नेपाल भने पछिल्लो समयको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। पछिल्लो खेलमा बंगलादेशलाई ३-१ गोलअन्तरले हराएको नेपालको लक्ष्य जित हुनेछ। प्रशिक्षक प्रवेश कटुवालले इतिहासलाई हेरेर भन्दा पनि पछिल्लो लयलाई निरन्तरता दिने आफ्नो लक्ष्य रहेको बताए।

'छोटो समय र लिग पनि नभएको अवस्थामा तयारी गर्दा फिटनेसमा पनि केही समस्या थियो। त्यसैले बंगलादेशसँग खेलेकै खेलाडीबाट टीम तयार गरेका छौं, ' मछिन्द्र क्लबलाई दुई पटक लिग च्याम्पियन बनाएका कटुवालले भने , 'प्रशिक्षकको रुपमा राष्ट्रिय टोली हेर्न पाउँदा खुशी छु।'

टोलीले पछिल्लो खेलमा बंगलादेशलाई हराएकाले खेलाडीमा उच्च मनोबल रहेको उनले बताए। पाकिस्तान पछिल्लो समय फिफाको प्रतिबन्धमा रहे पनि खेलाडीले विभिन्न लिगहरु खेलिरहेकाले कमजोर आँक्न नमिल्ने उनले बताए।

 

'पाकिस्तानमाथि प्रतिबन्ध लागेको भए पनि खेलिरहेका थिए। तर फरक टिमबाट खेल्दा उनीहरुको टिमवर्क नहुँदा उनीहरुको कमजोरीलाई हेरेर त्यही अनुसारको तयारी गरेका छौं,' उनले भने।

नेपाली टोलीको कप्तानको जिम्मेवारी पाएका रोहित चन्दले पहिलोपटक कप्तानको जिम्मेवारी पाउँदा खुशी लागेको बताए।

'नतिजाको कुरा गर्दा पाकिस्तान जहिले पनि कठिन प्रतिद्वन्द्वी हो। तर राम्रै नतिजा आउँछ भन्ने छ,' उनले भने।

अर्कोतर्फ पाकिस्तानी टोलीका प्रशिक्षक शहजाद अनवरले संकट पछिको नयाँ टोली भएको भन्दै खेलाडी नयाँ धेरै नभए पनि टिमको प्रदर्शन सुधारमा जोड गर्ने बताए।

'हाम्रा सबै खेलाडी नयाँ होइनन्। संकटपछिको यो नयाँ टिम हो। ३ वर्षपछी मैदान फर्कँदा हाम्रो लक्ष्य फरक छ। यो खेलाडीलाई चिन्ने मौका हुनेछ,' उनले भने, 'खेलाडी छनोटसमेत गरेर हाम्रो २ महिनाको क्याम्प थियो। फीफाको प्रतिबन्ध भए पनि स्थानीय प्रतियोगिताहरु भने भएका थिए।'

पाकिस्तानी टोलीका कप्तान हसन बसीरले नेपालसँगको इतिहास राम्रो भएको भन्दै बुधवारको खेल 'टफ' हुने बताए।

खेलका लागि ४८ लाख ६५ हजार भन्दा बढी लागत लाग्ने एन्फाको अनुमान छ। यसका लागि साधारणतर्फ ५००, भीआईपीतर्फ १ हजार र भीभीआईपीतर्फ ५ हजार शुल्क एन्फाले तोकेको छ। टिकटका लागि फुटसल भिलेज प्रालिसँग २५ लाख ५१ हजार रुपैयाँको सम्झौता भइसकेको छ।

पाँच हजारको 'प्राइम' ठाउँमा हुने र भीभीआईपी नयाँ सिस्टमबाट लैजाने हिसाबले खर्च बढाएको एन्फाले जनाएको छ। त्यसमा जर्सीलगायत अन्य सर्प्राइज प्याकेजहरु हुने टिकेटिङ पार्टनर फुटसल भिलेजले जनाएको छ।

नेपालमा चुनावी माहोलका बिच पाकिस्तानले दुई खेलको प्रस्ताव गरेकोमा नेपालले एक खेलमात्र खेलाउने निर्णय गरेको थियो।

‘चुनावको समयले गर्दा उहाँहरुको दुईवटा खेल गराउने प्रस्ताव आए पनि गराउन सकिएन। चुनाव पछि गराउने भन्ने पनि छलफल भएको हो। तर, विश्वकप सुरु हुने भएकाले यही मिति उपयुक्त हुने ठहर भयो,’ एन्फा प्रवक्ता सुरेश शाहले भनेका थिए।

एन्फाले गोलाप्रथामार्फत एकजना भाग्यशाली दर्शकलाई विश्वकप फुटबल अन्तर्गत ब्राजिल र क्यामरुनबिचको खेलको टिकट उपलब्ध गराउने जनाएको छ।

खेल बुधवारसाँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell