
राधेश्याम पटेल/नेत्र तामाङ
वीरगंज : गत बिहीवार वीरगंजको गहवामा रहेको सेतो प्याजी रंगको घर अगाडि पुग्दा बिहानको ७ बजिसकेको थियो। दुईतिर घर अनि साँघुरो सडक भएर होला अटो रिक्सालाई सडक छिचोल्न गाह्रो परिरहेको थियो। कारण उक्त घरअगाडि मोटरसाइकलको लाइन लागेको थियो।
हामी पर्सा ४ बाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाललाई भेट्न गेटभित्र पस्यौ। रिजाललाई कार्यकर्ताले घेरिसकेका रहेछन्। पहेलो कुर्ता र सेतो सुरुवालमा सजिएका रिजालले हामीलाई स्वागत गरे। घरदैलोमा निस्कन हतारिसकेका रहेछन् उनी।
कस्तो छ त चुनावी माहोल?
चुनावी कुराकानी तताउन हामीले सोध्यौं सुरुमा।
हाम्रो प्रश्न खस्न नपाउँदै रातो कूर्सीमा बस्दै रिजालले आफ्नो निधारतिर देखाए। अनि भने, 'पर्सा ४ मा पब्लिक रिस्पोन्स राम्रो छ। मधेशमा पहिले निर्वाचनअघि सिन्दुर लाउँदैनथे। यसपाली सिन्दुर लाएर रातै भइसक्यो। त्यसले पनि राम्रो देखाउँछ नि हैन?'
कांग्रेसको १४ औं महाधिवेशनमा सबैभन्दा बढी लफडा भएको ठाउँ हो मधेश प्रदेश। यहाँका विभिन्न जिल्लामा पटकपटक जिल्ला अधिवेशन स्थगित भयो। पार्टी सभापति शेरबहादुर देउवाले यस क्षेत्रमा रिजाललाई खटाएका थिए। रिजालले 'एनीहाउ' अधिवेशन सकाए। त्यसले कतिपय नेताकार्यकर्ता अझै सन्तुष्ट छैनन्। तुष बाँकी नै रहेको प्रमाण स्वतन्त्र उम्मेवारीले छर्लाङ्ग पार्छ।
यसको असर पर्ला नि?
'आम जनता हाम्रो पक्षमा छ। रिसाएका साथीहरु मसँग प्रत्यक्ष सम्पर्कमा आउन थालेका छन्। मतदान गर्छु भनेर प्रतिबद्धता जनाउनुभएको छ। साथीहरु अहिले बुझेर आफै मत माग्न निस्कन थाल्नुभएको छ,' जवाफमा रिजालले भने।
यसो त यसपटक गठबन्धनको साथ छ रिजाललाई। अघिल्लोपटक जसपाका लक्ष्मणलाल कर्णसँग पराजित रिजाललाई अर्को सजिलो विषय हो - कर्ण क्षेत्र १ तिर जानु।
सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीका कर्णलाई क्षेत्र १ पठाएको हो।
गत निर्वाचनमा कर्णले २० हजार ७३८ मत पाउँदा रिजालले १४ हजार ७०२ मत पाएका थिए। यसैगरि माओवादीकी उर्मिला अर्यालले ९ हजार ६१७ मत पाएकी थिइन्। यसपटक आफूलाई माओवादीको राम्रो साथ रहेको रिजालको दाबी छ।
'गठबन्धनमा माओवादीको राम्रो साथ पाएको छु,' उनले भने।
'जालिम मियाँसँग लड्नुपर्दा दु:ख लागेको छ'
यसपटक नेकपा एमालेले यस क्षेत्रमा जालिम मियाँ मन्सुरीलाई मैदानमा उतारेको छ। मान्सुरी ती व्यक्ति हुन् जो प्रधानपञ्च भएर कांग्रेस हुँदै अहिले एमालेबाट राजनीतिमा सक्रिय छन्।
२०२९ सालको पञ्चायती व्यवस्थामा उनी तत्कालिन जगरनाथपुर गाविस वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित भएका थिए। विजवनिया जगरनाथपुर गाउँ पञ्चायतबाट २०३५ सालमा प्रधानपञ्चसमेत बनेका मियाँ बहुदलीय व्यवस्थापछि भने नेपाली कांग्रेसमा आवद्ध थिए।
कांग्रेसबाटै चुनाव लडेर इलाका सदस्यमासमेत निर्वाचित भएका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
प्रतिनिधिसभाको चुनावको लागि मियाँ २०७८ पुस ८ गते एमालेमा प्रवेश गरेका थिए। मियाँलाई जगरनाथपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए।
प्रतिस्पर्धी जालिम मियाँबारे तपाईंको धारणा के हो? हामीले रिजाललाई सोध्यौं। सुरुमा जालिमबारे आफ्नो भन्नु केही नरहेको रिजाल बताए। तर, कडा प्रतिस्पर्धा उहाँसँगै हुने देखिन्छ नि? हाम्रो जिज्ञासको जवाफमा उनले भने, 'उहाँलाई लड्ने स्वतन्त्रता छ। उहाँजस्तो मान्छेसँग लड्नुपर्दा मलाई दु:ख लागेको छ। कुनै लेभल मिल्दैन उहाँसँग।'
यसपटक कांग्रेसबाट मधेश प्रदेशमा चुनावी मोर्चा सम्हालेकोले होला, रिजाल निर्धक्क देखिन्थे। गठबन्धन भएकाले होला कांग्रेससँग खासै एजेन्डा त देखिँदैन। तैपनि हामीले चुनावी एजेन्डाबारे रिजालसँग प्रश्न राख्यौं।
'प्रतिगमनका विरुद्ध, संघीयताविरोधीलाई परस्त गर्न हामीले मत मागेका छौं। जितिसकेपछि विकास निर्माणका कुरा छँदै छ,' एजेन्डाका कुरा रिजालले यतिमै टुङ्ग्याए।
पर्सा क्षेत्र नम्बर ४ मा दुर्गम ठाउँहरु पर्छन्। तर यहाँबाट निर्वाचित भएपछि नेताहरु काठमाडौंमै हराउँछन्। यस्तो प्रश्न पटकपटक उठ्दै आएको हो। यो विषय पनि हामीले रिजालसँग राख्यौं।
'हैन संसदमा गइसकेपछि त काठमाडौंमा पनि बस्नुपर्यो। निर्वाचन क्षेत्रमा पनि बस्नुपर्यो। जितेको बेलामा होस या हारेको बेला मैले जिल्लामा बसेर सेवा गरेकै हुँ,' उनले भने।
जनताले नेताहरु सधैँ सम्पर्कमा रहोस् भन्ने चाहना राख्ने गरेको पनि उनले सुनाए। तर चुनाव सकेपछि जनता पनि काममा व्यस्त हुने भएकोले नेताले पनि जनता भेट्न नसक्ने रिजालको तर्क थियो। यद्यपि, प्रजातन्त्रमा जनताले नेता खोज्नु धेरै राम्रो विषय भएको उनको धारणा रह्यो। 'हामीलाई जनताले काम गर्न संसदमा पठाएका हुन्। त्यसैले भेट हुन गाह्रो हुन्छ। तर जनताले यस्तो चाहना राख्नु धेरै राम्रो हो,' उनले भने।
'फेरि पनि लड्न सक्छु'
निर्वाचनमा ३ पटक जित र ३ पटक हार व्यहोरिसकेका रिजाल ६५ वर्ष पुगे। २०४८ सालदेखि लगातार चुनाव लड्दै उनले २०४८, २०५१ र २०६४ को चुनाव जितेका थिए भने २०५६, २०७० र २०७४ मा पराजय भोगे। सातौंपटक मैदानमा उत्रँदा पनि कांग्रेसबाट यहाँ उनका उत्तराधिकारी छैनन्। हामीले यो विषय कोट्याएपछि रिजालले भने, 'ठीक हो। अब बन्छ।'
त्यसो भए अन्तिम लडाई हो त?
'हैन फेरि पनि लड्न सक्छु। तर उत्तराधिकारी तयार भयो भने म छोड्छु। साथीहरु तयार भए अन्तिम हो,' रिजालले झट्टै जवाफ दिए।
मधेशवादी दलको अक्षमताका कारण यसपटक मधेसमा कांग्रेसको अवस्था धेरै सुध्रिएको बताउँदै थिए उनी। मधेश प्रदेशमा पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी उनको थियो।
'विगतमा मधेशवादी भनेर आएका दलहरुले सत्तामा जानका लागि मधेशको जनतालाई भर्याङ बनायो। र सोचेअनुसार काम गरेनन्। झुक्याउनमात्र रहेछ भन्ने बुझिसके जनताले। त्यसकारणले उनीहरुलाई जनताले पत्याएको छैन। त्यसैले यसपटक मधेशको जनमत कांग्रेसको पक्षमा आउँछ,' उनले भने, 'मधेश प्रदेशको सरकार यसपटक कांग्रेसको सरकार बन्छ। प्रतिनिधिसभामा पनि राम्रो सिट आउँछ।'
मधेशका जनताले पटकपटक कांग्रेसलाई नै मत किन दिने त?
'मधेशबाट सुरु भएको हो यो पार्टी। मधेशको ठुलठुला नेताहरु सुरुदेखि नै यस पार्टीमा आवद्ध हुनुभयो प्रजातन्त्रप्रति विश्वास भएकोले। प्रजातान्त्रिक शासन व्यवस्थित गर्ने र विकास गर्ने शक्ति भएको कारणले पनि मधेशका जनताले कांग्रेसलाई मत दिन्छन्,' रिजालले भने।
गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिँदा कांग्रेसलाई फाइदा भएको उनको भनाई थियो। मधेशवादी दलले सम्बोधन गर्न नसकेका विषयहरु कांग्रेसले समाधान गर्ने प्रतिबद्धतासमेत रिजालले जनाए।
'जसपा गयो। जसपा नाँगियो। हामीलाई केही असर गर्दैन। मधेसवादी दलले उठाएका मुद्दाहरुलाई कांग्रेसले सम्बोधन गर्छ। ती विषयहरु समाधान गर्न कांग्रेसले सक्रिय भूमिका निर्वाह गर्छ। नागरिकताको विषय संविधानले दिएको हो नि। जन्मसिद्ध नागरिकलाई एन बनाएर नागरिकता देउ भनेको छ त,' उनले भने।
नागरिकता विधेयक कांग्रेस नेतृत्वको सरकारले पास गर्दा राष्ट्रपतिले रोकेको उनले बताए।
'हामीले नागरिकता विधेयक पास गरेर राष्ट्रपतिसमक्ष पुर्याएको हो। एमालेले भ्रम फैल्याएको छ। हामीले पनि बुझाउन सक्नुपर्छ नि,' रिजालले भने।
यति भनेपछि रिजाल हतारिए झैं देखिए। हामीले पनि कुराकानीलाई बिट मार्दै अन्तिम प्रश्न सोध्यौं - कति मतान्तरले जित्ने आशा गर्नुभएको छ?
रातो कूर्सीबाट उठ्दै रिजालले जवाफ दिए - प्रतिस्पर्धा हो। मेरो अनुमान, मैले १० हजार बढी मत पाउँछु।