PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

विश्वसनीयता नजोगाउने हो भने पत्रकारिता थप जोखिममा जाने प्राध्यापक खरेलको टिप्पणी



पहिलोपोस्ट

विश्वसनीयता नजोगाउने हो भने पत्रकारिता थप जोखिममा जाने प्राध्यापक खरेलको टिप्पणी

काठमाडौं : पत्रकार, मिडिया समीक्षक तथा प्राध्यापक परशुराम (पी) खरेलले नेपाली संचार माध्यम काठमाडौं उपत्यका केन्द्रित भएको टिप्पणी गरेका छन्। दी राइजिङ नेपालका सम्पादक समेत रहिसकेका खरेल पत्रकारिता तथा आम संचार विषयको पहिलो प्राध्यापक हुन्। खरेलले मुलधारका मिडियाले विश्वसनीयता र निष्पक्षतालाई कायम नराख्ने हो भने सोसल मिडियाले अझै प्रभाव बढाउने बताए।

रत्न राज्यलक्ष्मी क्याम्पसको पत्रकारिता विभागले प्राध्यापक खरेलको ७० औं जन्मदिनका अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा उनले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू नगर्ने हो भने पत्रकारिता थप कमजोर हुने टिप्पणी गरे।

खरेल नेपालमा पत्रकारिता शिक्षाको स्नातक तहमा पठनपाठन सुरु गर्ने प्राध्यापक हुन्। त्रिभुवन विश्वविद्यालको पत्रकारिता तथा आमसंचार विषय लामो समयसम्म खरेलकै प्राज्ञिक नेत्तृत्वमा अगाडि बढेको हो।

खरेलको प्राज्ञिक योगदानको कदर गर्दै आज ‘पी खरेल पत्रकारितामा पाँच दशक’ शीर्षकमा छलफल कार्यक्रम आयोजना भएको थियो। पत्रकारिताको अभ्यास तथा अध्यापनका विविध अनुभवबारे खरेलले जानकारी गराएका थिए। पाँच दशक पत्रकारितामा सक्रिय खरेलले २०४६ सालपछि पत्रकारितामा परिवर्तन आए पनि अझै थुप्रै समस्याहरु रहेको बताए।

२०३० सालमा राइजिङ नेपालबाट पत्रकारिता थालेका खरेलले हरेक वर्ष ७५ देखि एक सयवटा सम्म लेख लेखिरहेको खरेलले बताए। लेखबाट मात्रै सवा करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको जानकारी पनि उनले गराउँदै लेखनबाट आम्दानी हुने अवस्थाको चित्रण गरेका थिए। पत्रकारितामा लगानी कम रहेकोप्रति भने खरेलको चिन्ता थियो। संचार माध्यमका संचालक पजेरो चढ्ने तर श्रमजीवी पत्रकारलाई समयमा तलब नदिने प्रवृत्तिप्रति खरेलको कडा आलोचना गरे।

वरिष्ठ पत्रकार किशोर नेपालले नेपाल र दक्षिण एसियाको पत्रकारिताको विकासमा प्रा खरेलको महत्वपूर्ण योगदान रहेको टिप्पणी गरे। खरेलको लेखनमा रहेको सन्तुलन अहिलेका पत्रकारहरुले सिक्नुपर्ने पत्रकार नेपालको सुझाव थियो।

खरेलकै समकक्षी तथा हाल नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकूलपति रहेका पत्रकार गोपाल चित्रकारले प्राध्यापक खरेल आफ्नो प्राज्ञिक सल्लाहकार रहेको खुलासा गरे। चित्रकार नेपालका पहिलो फोटो पत्रकार हुन्।

आजको कार्यक्रममा खरेल, नेपाल र चित्रकारले २०३० को दशकको पत्रकारिताका सन्दर्भबारे अवगत गराएका थिए।

पत्रकारिता विभागका प्रमुख श्रीराम पौडेलले प्राध्यापक खरेलको पत्रकारिताको अनुभवबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्नेमा जोड दिए। रत्न राज्यलक्ष्मी क्याम्पसका प्रमुख प्रा डा जीवनधर ज्ञवालीले प्राध्यापक खरेललाई सम्मान सहित जन्मदिनको शुभकामना व्यक्त गरेका थिए।

दी राइजिङ नेपालका सम्पादक भीमसेन थपलियाले खरेलको लेखको सन्दर्भ उप्काउँदै ज्ञान हुने व्यक्तिमा दम्भ नहुने सन्दर्भ उठाएका थिए। खरेल सम्पादक रहँदा थपलियाले दी राइजिङ नेपालमा पत्रकारिता सुरु गरेका हुन्।  

कार्यक्रममा त्रिवि सहित पत्रकारिता अध्यापन हुने नेपालका अन्य विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व, वरिष्ठ पत्रकार तथा खरेलले योगदान दिएका संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो। सहभागीहरुले प्राज्ञिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गर्ने परम्पराको थालनी भएकोमा खुशी प्रकट गरेका थिए।

रत्न राज्यलक्ष्मी क्याम्पसको यही विभागले यसअघि नेपाली पत्रकारिता शिक्षाका थालनीकर्ता सह प्राध्यापक लालध्वज देउसा राईको पनि यसैगरी सम्मान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell