काठमाडौं : खिम्ती शिवालय जलाशययुक्त जलविद्युत आयोजनाको सम्भाव्यता (फिजिविलिटी) अध्ययन पूरा नभएपछि एक वर्ष समय थपिएको छ।
२०७६ चैत १० गते सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन साढे दुई वर्षमा सक्ने गरि सम्झौता भएको थियो। त्यसको भोलिपल्ट अर्थात चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लक डाउन जारी गर्यो।
कोरोनालाई देखाएर एक वर्ष समय थपिएको आयोजनाका इन्जिनियर राजेश श्रेष्ठले बताए। उनका अनुसार आगामी २०२३ सेप्टेम्बरसम्म थपिएको छ। यो अवधिमा अध्ययन सक्नेमा आयोजनाका अधिकारीहरु आशावादी देखिन्छन्।
इनर्जी इन्फ्राटेक प्रालि(भारत) र जीइओसीई कन्सल्ट्यान्ट प्रालि (नेपाल)को जेभीले आयोजना अध्ययनको जिम्मा पाएको छ। यही कम्पनीको जेभीले ११६ मेगावाटको कोखाजोर जलाशययुक्त जलविद्युत आयोजनाको पनि सम्भाव्यता र ईआइए अध्ययनको काम गरिरहेको छ। कम्पनीले प्रारम्भिक इन्सपेक्सन रिपोर्ट भने बुझाएको छ। ड्राफ्ट रिपोर्ट तयार पारिरहेको बताइएको छ। प्रारम्भिक प्रतिवेदन अनुसार आयोजनाको जडित क्षमता १५४७ मेगावाट हुनेछ।
यो ड्यामको उचाइ २३१ मिटर हुनेछ। रामेछापको शिवालय भन्ने स्थानमा ड्याम बनाएर करिब १४ किमी सुरुङमार्ग निर्माण गरेर विद्युत उत्पादन गरिनेछ। ‘धेरै हेड लिनका लागि सुरुङमार्ग तलसम्म लगिएको छ’, इन्जिनियर श्रेष्ठले भने, ‘ड्यामको बायाँ साइडमा रामेछाप र दायाँ साइडमा दोलखा पर्छ।’
जलाशययुक्त आयोजनाको पोखरी शिवालयबाट गर्ज्याङ भ्यालीसम्म पुग्नेछ। जसले ५ र ७ मेगावाटको संचालनमा रहेका दुई जलविद्युत आयोजना समेत डुबाउनेछ। ‘ड्राफ्ट आएपछि मात्रै लागत र डुबाउने क्षेत्र कुन कुन भनेर यकिन गर्न सकिन्छ। ड्राफ्ट बनिरहेको छ,’ श्रेष्ठले भने।
यो खिम्ती नदीमा पहिचान भएको आयोजना हो। अहिले फिल्डमा ड्रिलिङ लगायत विभिन्न चरणका अध्ययनको काम चलिरहेको श्रेष्ठको भनाइ छ। आयोजनाको ईआइएको काम भने रोकिएको छ। राष्ट्रिय निकुञ्जको सहमति लिन प्रक्रिया चलिरहेकाले काम रोकिएको बताइएको छ।
आयोजना बनाउन बंगलादेश इच्छुक
यो जलविद्युत आयोजना संयुक्त रुपमा विकास गर्नका लागि बंगलादेशले इच्छा व्यक्त गर्दै आइरहेको छ। नेपाल-भारतबिच चौथो ऊर्जा सचिवस्तरीय बैठकमा ६८३ मेगावाटको सुनकोसी तेस्रो र खिम्ती शिवालय जलविद्युत आयोजना सयुक्त रुपमा विकास गर्ने विषयमा छलफल भएको थियो।
उनीहरु त्यसमा सकारात्मक देखिएका थिए। उनीहरुले बंगलादेशले बनाउन इच्छुक रहेको विश्वास समेत दिलाएका थिए। छलफल अघि बंगलादेशका प्राविधिक सहितको टोलीले आयोजनाको साइट समेत निरीक्षण गरेका थिए। बंगलादेशले नेपालमा आयोजना विकास गरेर विद्युत लैजान चाहेको छ।
बंगलादेशले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५ सय मेगावाट लैजाने प्रस्ताव गरेको छ भने अहिले नै ५० देखि १०० मेगावाट लैजान प्रस्ताव गरेको छ। तर, भारतको बाटो प्रयोग गरेर मात्रै विद्युत पठाउन सकिन्छ। भारतले सहमति नदिएका कारण नेपाल-बंगलादेश विद्युत व्यापारमा ‘ब्रेक थ्रु’ हुन सकेको छैन।
सुनकोसी तेस्रो जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ भने ईआइए प्रतिवेदन तयार पारेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ। आयोजना रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र काभ्रेपलान्चोकमा पर्छ।
आयोजनाको बाँधस्थलबाट ४५ किमीसम्म पोखरी फैलन्छ। आयोजनाको बाँधस्थल नदीको बायाँ किनारतर्फ रामेछापको खाँडादेवी गाउँपालिका र दायाँतर्फ काभ्रेको तेमाल गाउँपालिका पर्छ। सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार यो आयोजना निर्माण सुरु गरेको सात वर्षमा विद्युत उत्पादन गर्न सकिन्छ।
प्रस्तावित आयोजना निर्माण भए नेपालकै सबैभन्दा ठूलो जलाशयमा आधारित जलविद्युत परियोजना हुनेछ। जसबाट वार्षिक सरदरमा २३५६.२७ गिगावाट घण्टा विद्युत शक्ति उत्पादन हुनेछ।