
‘रसियामा बनेको’ मिसाइल पोल्याण्डमा खस्दा दुई जनाको मृत्यु भएको छ। लगभग नौ महिनाको युक्रेन युद्धमा पहिलो पटक नेटो देशको क्षेत्रमा मिसाइल खसेको हो।
मंगलवार दिउँसो युक्रेनी सिमानाबाट केही दुरी पर प्रेजेवोडो गाउँमा खसेको मिसाइल कसले प्रक्षेपण गर्यो भन्ने स्पष्ट भएको छैन। तर, यो ‘रसियामा बनेको’ मिसाइल हुनसक्ने पोल्याण्डका राष्ट्रपति आन्द्रेज डुडाले बताए।
पोल्याण्ड सरकारले स्पष्टीकरणका लागि मस्कोका राजदूतलाई बोलाएको बताएको छ। तर, रसियाको रक्षा मन्त्रालयले आफ्नो क्षेप्यास्त्रहरू पोल्याण्डमा प्रवेश गरेको अस्वीकार गर्दै यसलाई ‘सुनियोजित अतिरञ्जन’ भनेको छ।
‘रसियाली रकेटहरूले युक्रेनी-पोलिस राज्य सीमा नजिकका लक्ष्यहरूमा कुनै आक्रमण गरेको थिएन। पोल्यान्डको मिडियामा प्रेजेवोडो गाउँको घटनास्थलबारे प्रकाशित भग्नावशेषको रसियाली हतियारसँग कुनै सम्बन्ध छैन,’ रसियाली रक्षा मन्त्रालयले भनेको छ।
पूर्वी गाउँमा दिउँसो ३:४० बजे ठूलो विष्फोट हुँदा दुई किसानको मृत्यु भएको छ भने एउटा ट्याक्टर जलेर नष्ट भएको छ। घटनाबारे छलफल गर्न पोल्यान्डले नेटोको बैठक आह्वान गरेको थियो।
बालीमा जी२० शिखर सम्मेलन अन्तिम दिनमा प्रवेश गर्दैगर्दा राष्ट्र प्रमुखहरू पोल्याण्डमा भएको मिसाइल आक्रमणबारे छलफल गर्न साइड लाइनमा बैठक बसेका छन्। ह्वाइट हाउसले यसलाई ‘इमर्जेन्सी राउन्डटेबल’ भनेको छ भने उक्त बैठक बन्द कोठामा बसेको छ।
बैठकपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डमा खसेको मिसाइल रसियाले प्रक्षेपण गरेको कुरा ‘लगभग असम्भव’ भएको बताएका छन्।
पोल्याण्डमा भएको घटना रसियाबाट प्रहार गरिएको क्षेप्यास्त्रका कारण भएको हो वा होइन भन्ने कुरामा ‘प्रारम्भिक जानकारी’ आएको उनको भनाइ छ।
‘जबसम्म हामी पूर्ण रूपमा अनुसन्धान गर्दैनौं म कुनै दाबी गर्न चाहन्नँ, तर यो सम्भव छैन कि मिसाइल रसियाबाट प्रक्षेपण गरिएको थियो, तर हामी हेर्नेछौँ,’ उनले भने।
बाइडेनले पोल्याण्डमा भइरहेको अनुसन्धानमा के भएको हो भन्ने पत्ता लागेपछि विश्वका राष्ट्र प्रमुखहरुले सोही अनुसार अर्को कदम चाल्ने बताए।