काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका कांग्रेस नेता प्रकाशमान सिंहले आफूलाई अधिकांशले प्रधानमन्त्री हुनपर्यो भनेर अनुरोध गरेको बताएका छन्। मध्यबानेश्वरमा बुधवार चुनावी घरदैलोको क्रममा सिंहले उक्त भनाइ राखेका हुन्।
‘मलाई प्रधानमन्त्री हुनुपर्यो भनेर अधिकांशको अनुरोध छ,’ सिंहले भने।
काठमाडौं १ मा आफूले प्रशस्त विकास गरिसकेकोले यसपटक घरदैलोमा जनता हँसिलो देखिएको उनको भनाइ थियो। यद्यपि, खानेपानीको समस्या भने अझै समाधान भइनसकेको सिंहले बताए।
चौथोपटक आफू चुनावी घरदैलोमा आएको उल्लेख गर्दै उनले भने, ‘समुदायलाई हुने बाटोदेखि गल्लीगल्ली ढुंगाले छाएको छ। मेन रोडहरु पिच भएका छन्। यसैले सबै हाँसमुख छन्। तर, एउटा दुःखको कुरा खानेपानी कहिले दिन्छौ भनेर कराउँछन्।’
यसैगरी, शिक्षा र स्वास्थ्य महँगो भइरहेको धेरैको गुनासो आएको सिंहको भनाइ थियो। सिंहले यसमा नीति बनाएर काम गरिने बताए।