काठमाडौं : तपाईंले ख्याल गर्नु भएको छ? अहिले काठमाडौंका सडकमा ट्राफिकको सङ्ख्या पातलिएको छ। त्यसैले पनि होला जामै नहुने ठाउँमा पनि ट्राफिक नियम पालना नगर्दा जाम बढेको छ। र, मुख्य सडकसम्म त्यसको प्रभाव परिरहेको छ।
ट्राफिक प्रहरी नभए पनि केही म्यादी प्रहरीहरु भने सिठ्ठी फुकिरहेका भेटिन्छन् सडकमा अहिले। तर न त उनीहरु ट्राफिक नियमबारे नै जानकार छन् न त कसैले उनीहरुलाई टेरेका छन्। त्यसैले केही दिनदेखी काठमाडौंको ट्राफिक व्यवस्था भद्रगोल झैं बनेको छ।
यी सबैको कारण ट्राफिक प्रहरी चुनावमा नै खटिनु हो। अहिले काठमाडौं उपत्यकामा कार्यरत अधिकांश ट्राफिक प्रहरी काठमाडौं बाहिर गएका छन्। जसले गर्दा काठमाडौंमा कार्यरत ट्राफिक प्रहरीको सङ्ख्या कमी आएको छ।
' धेरै ट्राफिकलाई चुनावमा खटाउनु परेको छ। त्यसले गर्दा पनि सडकमा ट्राफिक प्रहरी कम देखिएको हो,' काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डिआइजी मिरा चौधरीले भने।
सामान्य समयमा काठमाडौं उपत्यकाभित्र ११ सय जना ट्राफिक प्रहरी सडकमा खट्ने गरेका थिए। चुनावसम्ममा पहिला खटिँदै आएकामध्ये १० प्रतिशत मात्र ट्राफिक रहने चौधरीले बताइन्। पाँच दिनअघि १५० जना भन्दा बढी ट्राफिक प्रहरी चुनावमा खटिसकेका थिए। अहिले यो सङ्ख्या बढेर गएको छ। अहिले काठमाडौंमा करिब ३ सय ट्राफिक प्रहरी मात्र सडकमा खटिएका छन्।
'अहिले हाम्रो करिब ३ सय जति जनशक्ति सडकमा छ। बाँकी चुनावमा खटिएका छन्,' ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्ले भने।
उपत्यकाभित्र खटिने ट्राफिक प्रहरीहरूलाई यतिखेर निर्वाचनको सुरक्षाको लागि विभिन्न क्षेत्रमा खटाइएको छ। जसले गर्दा ट्राफिक प्रहरीको सङ्ख्या दैनिक सडकमा घट्दै गएको छ। सरकारले आफ्ना अधिकांश कर्मचारीलाई चुनावका लागि खटाएको छ।
त्यस्तै, निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ। त्यति मात्र होइन, सरकारले १ लाख १५ हजार म्यादी प्रहरी समेत परिचालन गरेको छ। प्रहरीका विभिन्न युनिट र ब्युरोमा खटिने प्रहरीलाई समेत यतिखेर चुनावी सुरक्षामा परिचालन गरिएको छ।
काठमाडौंमा ट्राफिक प्रहरी चुनावमा खटिएकाले कार्यलयमा भएका ट्राफिक, जनपथ प्रहरी, म्यादी प्रहरीलाई सडकमा खटाइएको एसएसपी भट्ले जानकारी दिए।
सडकमा महानगर प्रहरी पनि
काठमाडौंका सडकमा ट्राफिक प्रहरीको सङ्ख्या घटेपछि बढ्दो जामलाई व्यवस्थापनलाई काठमाडौं महानगर प्रहरी खट्ने भएको छ।
महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले सवारी साधनको चाप धेरै भएका समयमा महानगर प्रहरी आजदेखि सडकमा खट्नेछ। बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको उनले बताए।
कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा महानगर प्रहरी परिचालन भइसकेको उनले बताए।