PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मानिसभित्रै प्रकृति रहेको अनुभूति भएपछि कपिलले बनाउन थाले 'न्यूड आर्ट'

मानिसभित्रै प्रकृति रहेको अनुभूति भएपछि कपिलले बनाउन थाले 'न्यूड आर्ट'

लक्ष्मी बलायर/पहिलोपोस्ट


काठमाडौं : ग्यालरीभित्र पस्ने बित्तिकै बायाँतर्फको भित्तामा लहरै देखिन्छन् तीन पेन्टिङहरु। ती पेन्टिङहरुमा महिलाका शरीरका विभिन्न आकृतिहरु देखिन्थे। चित्रहरुमा तीन चरण देखाइएको थियो : महिलाको युवादेखि अर्धवैशे हुँदै वृद्धावस्थासम्मलाई।

यी पेन्टिङमा महिलाको शारीरिक वनावटसँगै अनुहारको हाउभाउ परिवर्तन हुँदै गएको देखाइएको छ। दृश्य हो झम्सिखेलस्थित ‘विइन्ड हर्स ग्यालरी’ को। जहाँ कलाकार कपिलमणी दीक्षितको एकल ‘न्यूड’ आर्ट प्रदर्शनी चलिरहेको छ।

यी तीन न्यूड पेन्टिङसँगै महिलाका शरीरका अन्य पेन्टिङहरु पनि प्रदर्शनीमा राखिएको छ। मानव शरीरलाई एउटा उत्सवको रुपमा लिनुपर्छ भनेर न्यूड पेन्टिङ तयार पारेर प्रदर्शनीमा राखिएको दीक्षित बताउँछन्।

‘हामीले आफ्नो शरीलाई सेलिब्रेट गर्नुपर्छ भन्ने थिमले न्यूड आर्ट प्रदर्शनी राखिएको हो। सुरुमा हामीले आफ्नो शरीरलाई चिन्नु पर्छ। आफ्नो शरीर जस्तो छ त्यसलाई स्विकार्नुपर्छ। नग्नता हामी सबैसँग हुन्छ। जसलाई हामीले नजिकबाट चिनेर उत्सवको रुपमा मनाउँनुपर्छ भन्ने मेरो प्रदर्शनीको लक्ष्य हो,’ उनले भने।

कपिलका बुवा पेन्टिङहरु बनाउँथे। जसकारण पनि उनलाई सानैदेखि पेन्टिङमा रुचि जागेको छ। कक्षा ५ मा पढ्दा बुवाले न्यूड पेन्टिङ बनाएको समेत सम्झन्छन् उनी। जसले पनि आफूलाई पनि ‘न्यूड’ आर्टप्रति रुचि जागेको उनको भनाई छ। सुरुमा कपिल नेपालमै हिमाल, पहाड र खोलानालाका 'ल्यान्डस्केप' चित्र बनाउने मात्र काम गरे।

उनलाई आर्टसम्बन्धि थप अध्ययन गर्न मन लाग्यो। ‍दुई दर्शकअघि कपिल अमेरिकाको टेक्सस विश्वविद्यालयमा कला विषय पढ्न गए। त्यसैबीच उनी एकदिन न्यूड आर्ट कक्षामा पुगे। त्यहाँ मोडललाई अघि राखेर न्यूड पेन्टिङ बनाइरहेको उनले देखे। त्यसपछि उनले सोचे, ‘मैले पहिलेदेखि प्रकृतिको पेन्टिङहरु बनाउँदै आए। तर, प्रकृति त हामीभित्रै पो रहेछ।’  

त्यसपछि हो कपिलले ‘न्यूड’ आर्टमा आफ्नो उडान भर्ने निधो गरेको। अमेरिकामा न्यूड आर्ट बनाउन थालेसँगै उनले नेपालमा पनि पेन्टिङहरु प्रदर्शनीमा पठाए। सन् २००६ मा पहिलोपटक नेपालमा ‘न्यूड’ आर्ट प्रदर्शनीमा राखेको उनी सुनाउँछन्।

न्यूड आर्टलाई अश्लिलतासँग जोडेर हेर्न नहुने कपिलको भनाई छ। ‘हाम्रो समाजमा न्यूड भन्ने बित्तिकै अश्लिलताको रुपमा लिने गरिन्छ। तर, त्यो गलत हो। न्यूड भन्नेबित्तिकै यौनसँग मात्र जोड्नुहुँदैन। आफ्नो शरीरलाई हामीले उत्सवको रुपमा लिनुपर्छ। हामीले यसबारे खुलेर कुराकानी गर्नुपर्छ,' उनले भने।

दीक्षितको यो १८ ‍औँ एकल ‘न्यूड’ आर्ट प्रदर्शनी हो। यी न्यूड पेन्टिङहरु बनाउँदा प्रत्यक्ष मोडलहरु राखेर बनाएको र कुनै काल्पनिक पनि बनाइएको उनी सुनाउँछन्। २० वर्षदेखि न्यूड आर्ट क्षेत्रमा सक्रिय कपिलको यो एकल ‘न्यूड’ कला प्रदर्शनी शनिवारसम्म चल्नेछ।

 

 

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell