PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

'गाउँ शहरमा ओली' : कोही आक्रोशित, कोही कट्टर समर्थक



नेत्र तामाङ

'गाउँ शहरमा ओली' : कोही आक्रोशित, कोही कट्टर समर्थक

'गाउँ गाउँमा ओली, शहर शहरमा ओली,' अहिले नेकपा एमालेको चुनावी अभियानमा सबैभन्दा बढी गुञ्जने गीत हो। दुईपटक संसद विघटन गरेर सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको यो स्तुतिगान अहिले एमालेजनको मुखमुखमा झुन्डिएको छ।

चुनावी गीत चै गज्जब छ है - विपक्षीले पनि भन्न थालेका छन्। यसले देखिन्छ विपक्षीलाई पनि यो गीतले मज्जाले छोएको छ।

गीतमा भने झैं ओलीमाथि गाउँ गाउँमा कस्तो छ त मानिसहरुको नजर? चुनावी दौडमा काभ्रे, सिन्धुली, धनुषा हुँदै पर्सा, बारा र मकवानपुर पुग्दा हामीले त्यहाँका स्थानीयलाई ओलीबारे सोधेका थियौं। जसमध्ये कतिले ओलीको खरो विरोध गरे भने कति त कट्टर 'डिफेन्स'मा उत्रिए।

सिन्धुलीको सदरमुकाम माडी बजारमा रहेको एमालेको जिल्ला कार्यालयमा भेटिएका ७५ वर्षे जगतविक्रम कुवँर ओलीका कट्टर प्रशंसक रहेछन्। कमलामाई रानीचुरीका उनी एमालेको पक्षमा माहोल बनाउन पार्टी कार्यालय आएको बताउँदै थिए। २०५४ मा एमालेबाट रानीचुरी गाविसका उपाध्यक्षमा निर्वाचित भएका रहेछन् उनी।

तपाईंहरुको पार्टीलाई त ओलीले बर्बाद् बनाउँदै लग्नुभयो नि हैन?

पार्टीमा लामो समय काम गरेको सुनेपछि हामीले प्रश्न राख्यौं उनलाई। कुवँरलाई हाम्रो कुरा चित्त बुझेनछ।

पार्टी बिगार्ने त माधव नेपाल हुन् नि। झलनाथले पनि बुद्धि बिगारेर यस्तो भएको हो - तुरुन्तै उनले जवाफ फर्काए।

१५ वर्ष पार्टीको नेतृत्व गरेका नेपालमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको कुवँरको आरोप थियो। महासचिवमा जिताउन आफूले दिलोज्यान दिएकामा नेपालले पार्टी फुटाएको उनलाई फिटिक्कै चित्त बुझेको रहेनछ। 'माधव नेपाल फुटेर गए पनि एमालेलाई केही फरक पर्दैन,' कुवँर जोशिए। पार्टी फुटाउँदा झलनाथले आगोमा घ्यु थप्ने काम गरेको उनको भनाई थियो।

प्रधानमन्त्री भइसकेको मान्छेले पार्टी फोड्नु ठीक नभएको कुँवरको भनाई थियो। तर ओलीले संसद विघटन गरेर बदनाम त भयो नि एमाले?

'त्यो त बाध्यता थियो नि बाबु,' डिफेन्समा उत्रिए कुवँर। त्यसो भए अहिले पार्टी ठीक ठाक छ? हामीले थप ज्ञिज्ञासा राख्यौं।

'ओलीले पार्टीलाई ट्र्याकमा राखेका छन्,' उनले भने।

सिन्धुलीको माडी बजारबाट हामी भिमानमा पुग्यौं। त्यहाँ सडकमा पसल गरिरहेका रवीन्द्र वन भने ओलीमाथि आक्रोशित सुनिए।

ओलीकै कारण कमलामाई नगरपालिकाको वडामा एमालेले ३० वर्षे विरासत गुमाउनुपरेको दाबी गरे उनले। 'यहाँ ३० वर्षदेखि एमालेको विरासत थियो। ओलीकै कारण यसपाली वडा ९ पुरै कांग्रेसले लग्यो,' आफू एमाले समर्थक रहेको उल्लेख गर्दै उनले भने।

रौतहटको गौरमा भारतीय सीमा नजिकै भन्सार रोडमा चिया पसल गरिरहेका एक व्यापारी पनि ओलीप्रति असन्तुष्ट रहेछन्। कोभिड-१९ को संक्रमणको समयमा सबैको व्यापार चौपट बनाउने ओली नै भएको आरोप थियो ती व्यापारिको। 'कोरोनामा व्यापार चौपट पार्ने ओली हैन?' उनी जंगिए।

बाराको पथलैयामा भेटिएका युवा व्यापारी ओलीकै कारण एमालेले मत गुमाउँदै गएको दावी गर्दै थिए- हामी पहिलेबाटै एमाले हो। रोजगारदेखि विकासमा एमालेले राम्रो गर्दै आएको थियो। तर यसपाली ओलीले अधिनायकवादी कदम चाले।

भीम रावल, घनश्याम भुसालजस्ता व्यक्तिलाई टिकट नदेखिएकोमा आक्रोशित सुनिए उनी। 'रावल र भुसाललाई टिकट दिएको भए विरोधीलाई पनि ओलीले ठाउँ दिने रहेछ भन्ने सन्देश जान्थ्यो नि। त्यो पटक्कै देखिएन,' ती युवाले भने। यसपटक आफ्नो मत स्वतन्त्रतिर जाने उनको भनाई थियो।

ओली आफै पनि चुनावी प्रचारका लागि अहिले गाउँ शहर पुगिरहेका छन्। एमालेले अहिले सात साना पार्टीसँग तालमेल गरेको छ भने सत्ता गठबन्धन एमालेसँग प्रतिस्पर्धामा उत्रिएको छ। झन्डै दुईतिहाईको मत पाउँदा पनि राम्रोसँग सत्ता सम्हाल्न नसकेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्यो। एमाले चोइटियो। यस्तो अवस्थामा गाउँठाउँमा एमालेका समर्थक विभाजित छन्। नतिजामै गाउँगाउँमा ओली, शहर शहरमा ओली हुने हो कि गीतमामात्र? यसको परिणाम हेर्न चाहि मंसिर ४ नै कुर्नुपर्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell