PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

यूएईमाथि नेपालको संघर्षपूर्ण जित, सिरिजको तेस्रो खेल निर्णायक हुने



पहिलोपोस्ट

यूएईमाथि नेपालको संघर्षपूर्ण जित, सिरिजको तेस्रो खेल निर्णायक हुने

काठमाडौं: नेपाल-यूएई एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईमाथि ३ विकेटको जित निकालेको हो।

आज सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

मध्यक्रमबाट लय बिगारेको यूएईले सुरुवात भने राम्रो गरेको थियो। यूएईलाई सानदार सुरुवात दिलाउन ओपनर द्वय बृत्य अरविन्द र मोहम्मद वसीमले ७२ रनको साझेदारी गरे। नेपालका दीपेन्द्रसिंह ऐरीले ११.५ ओभरमा बृत्य अरिविन्दको विकेट लिँदै नेपाललाई ब्रेक थ्रू दिलाएका थिए।

यूएईका लागि मोहम्मद वसीमले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५० रन बनाउँदा एलिसन सरफूले ३५ तथा बृत्य अरविन्दले २५ रन बनाए। त्यस्तै बसिल हमिदले २४ रन बनाउँदा कप्तान आरपी रिजवानले २२ तथा विष्णु सुकुमरनले १५ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र ललितनारायण राजवंशीले समान ३ विकेट लिँदा करण केसी, गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए।

ब्याटिङमा नेपालको सुरुवात राम्रो हुन नसके पनि गुलसन र आरिफले साझेदारी बनाउँदा नेपाल जिततर्फ उन्मुख भएको थियो। अघिल्लो खेलमा अर्धशतक बनाएका ओपनर अर्जुन साउद डकआउट हुँदा अर्का ओपनर आशिफ शेख ६ रन बनाएर पभेलियन फर्किए। त्यस्तै ज्ञानेन्द्र मल्लले २६ रन बनाउँदा कुशल भुर्तेलले ३५ रन बनाए। कप्तान रोहित पौडेलको खराब ब्याटिङले भने आज पनि निरन्तरता पायो। उनी २३ बलमा ८ रन बनाएर एलबीडब्लु आउट हुन पुगे। त्यस्तै दीपेन्द्र सिंह ऐरीले १३ रनमा विकेट गुमाउँदा धर्मराएको नेपालको ब्याटिङलाई गुलसन झा र आरिफ शेखले राम्रो साझेदारी गर्दै उकासेका थिए। शेखले अविजित ३३ रन बनाउँदा झाले सर्वाधिक ३७ रन बनाए। त्यस्तै सोमपाल कामी १६ रनमा अविजित रहे।

बलिङतर्फ यूएईका रोहन मुस्तफाले सर्वाधिक ३ विकेट लिँदा हजरत बिलालले २ तथा बसील हमिदले १ विकेट लिए।

योसँगै नेपाल र यूएईबीचको तीन खेलको सिरिजमा १-१ को बराबरी भएको छ। पहिलो खेल यूएई र दोस्रो खेल नेपालले जितेसँग तेस्रो खेलमा सिरिजको विजेताको टुंगोल लाग्ने छ। सिरिजको निर्णायक खेल शुक्रवार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell