PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रचण्डले गरे शेखरको प्रशंसा : शान्ति सम्झौतामा गिरिजाबाबुको दाहिने हात



अनन्तराज न्यौपाने

प्रचण्डले गरे शेखरको प्रशंसा : शान्ति सम्झौतामा गिरिजाबाबुको दाहिने हात

विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङसिर ४ को निर्वाचन नेपालको संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने र नगर्नेका बिच जनमत सङ्ग्रह भएको धारणा प्रकट गरेका छन्।

मोरङको सुन्दरहरैँचा नगरपालिकामा बुधबार आयोजित चुनावी सभामा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको संज्ञा दिएका हुन्।

प्रचण्डले भने, ‘यो सामान्य निर्वाचन होइन। जनताले आफैँले बनाएर आफैँले जारी गरेको संविधानको रक्षा गर्ने र नगर्नेका बिचको लडाइँ हो। यो संविधान बनाएपछि मैले त अब यो मुलुकमा दुर्घटना हुँदैन भन्ने ठानेको थिएँ। तर मैले आफैँले प्रस्ताव गरेर प्रधानमन्त्री बनाएका व्यक्तिले संविधानलाई च्यातेर खाल्डामा हाल्ने प्रयत्न गरे। इतिहासलाई पछि फर्काउन खोजे। त्यसैले आगामी निर्वाचन संविधान पक्षधर अनि देशलाई सामन्ती निरङ्कुश राजतन्त्रतर्फ फर्काउनेका बिचको जनमत सङ्ग्रह हो।’

उनले अग्रगमन, शान्ति, समृद्धि र जनताका हकहितका पक्षमा उभिएर गठबन्धनलाई विजयी बनाउन आग्रह गरे।

अध्यक्ष प्रचण्डले ‘जनयुद्ध’–मा माओवादी नेपाली काङ्ग्रेससित  आमनेसामने भएर लडेको उल्लेख गर्दै तर अन्तमा यही पार्टीसित मिलेर विस्तृत शान्तिसम्झौता र १२ बुँदे समझदारी गरेको स्पष्ट पारे।

उनको भनाइ थियो, ‘विस्तृत शान्तिसम्झौता गर्दा मैले गिरिजाबाबुलाई जय नेपाल भनेको थिएँ, उहाँले मलाई लालसलाम भनेर अभिवादन फर्काउनु भएको थियो। यो एकता त्यही वेलादेखिको हो।’

उनले गठबन्धनले नै आगामी सरकार बनाउने ठोकुवा गर्दै त्यस सरकारको मूल एजेन्डा आर्थिक परिवर्तन हुने जानकारी दिए।

प्रचण्डले आर्थिक परिवर्तन हुन नसके राजनीतिक स्थिरता पनि कायम नहुने धारणा प्रकट गरे।

उनले मोरङ क्षेत्र नम्बर ६ का गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका उम्मेदवार डा.शेखर कोइरालाले शान्तिप्रक्रियामा गरेको योगदानका बारेमा पनि प्रकाश पारे।

‘डा. कोइरालाले गिरिजाबाबुको दाहिने हात बनेर शान्तिसम्झौता र १२ बुँदे समझदारी निर्माण गर्न योगदान गर्नुभयो’, प्रचण्डको भनाइ थियो, ‘डा. शेखरको सुझबुझपूर्ण योगदान नभएको भए शान्तिप्रक्रियाले त्यति छिटै र त्यस रूपमा मूर्त रूप पाउँथ्यो कि पाउँदैनथ्यो भन्ने कुरामा शङ्का छ।’

उनले आफूले पहिलो विदेश भ्रमण डा. शेखरसितै गरेको सम्झना गर्दै त्यस अवसरमा शेखरको बृहत् राजनीतिक ज्ञान र सुझबुझको अनुभव गर्ने मौका पाएको भन्दै प्रशंसा गरे।

नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस संविधानमा भएका कमीकमजोरीलाई यही संविधानमा टेकेर संशोधन र परिमार्जन गर्दै लैजाने बताए।

प्रवक्ता डा. महतले नेपालको संविधान र जनअधिकारलाई कमजोर बनाउन विभिन्न रूपमा पलाएका शक्तिलाई निमिट्यान्न पार्न गठबन्धनलाई जिताउनु आवश्यक भएको विचार व्यक्त गरे।

गठबन्धनका तर्फबाट मोरङ ६ मा नेपाली काङ्ग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज ल्याएरै छाड्ने आफ्नो प्रतिबद्धता रहेको स्पष्ट पारे।

डा. कोइरालाले आफ्नो मुख्य राजनीतिक मुद्दा सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता भएको चर्चा गर्दै आफू आफ्नो निर्वाचन क्षेत्रको विकासमा पनि क्रियाशील भइरहने आश्वासन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell