PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

निर्वाचन संविधानको रक्षा गर्ने र नगर्नेको जनमत सङ्ग्रहः प्रचण्ड



पहिलोपोस्ट

निर्वाचन संविधानको रक्षा गर्ने र नगर्नेको जनमत सङ्ग्रहः प्रचण्ड

विराटनगरः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ को निर्वाचन नेपालको संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने र नगर्ने बिचको जनमत सङ्ग्रह भएको बताएका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिकामा बुधबार आयोजित चुनावी सभामा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको संज्ञा दिएका हुन्।

प्रचण्डले भने, ‘यो सामान्य निर्वाचन होइन। जनताले आफैँले बनाएर आफैँले जारी गरेको संविधानको रक्षा गर्ने र नगर्नेका बिचको लडाइँ हो। यो संविधान बनाएपछि मैले त अब यो मुलुकमा दुर्घटना हुँदैन भन्ने ठानेको थिएँ। तर मैले आफैँले प्रस्ताव गरेर प्रधानमन्त्री बनाएका व्यक्तिले संविधानलाई च्यातेर खाल्डामा हाल्ने प्रयत्न गरे। इतिहासलाई पछि फर्काउन खोजे। त्यसैले आगामी निर्वाचन संविधान पक्षधर अनि देशलाई सामन्ती निरङ्कुश राजतन्त्रतर्फ फर्काउनेका बिचको जनमत सङ्ग्रह हो।’

उनले अग्रगमन, शान्ति, समृद्धि र जनताका हकहितका पक्षमा उभिएर गठबन्धनलाई विजयी बनाउन आग्रह गरे।

अध्यक्ष प्रचण्डले जनयुद्धमा माओवादी नेपाली काङ्ग्रेससित  आमनेसामने भएर लडेको उल्लेख गर्दै अन्तमा यही पार्टीसित मिलेर विस्तृत शान्ति सम्झौता र १२ बुँदे समझदारी गरेको बताए।

‘विस्तृत शान्ति सम्झौता गर्दा मैले गिरिजाबाबुलाई जय नेपाल भनेको थिएँ। उहाँले मलाई लालसलाम भनेर अभिवादन फर्काउनु भएको थियो। यो एकता त्यही बेलादेखिको हो’, प्रचण्डले भने।

उनले गठबन्धनले नै आगामी सरकार बनाउने ठोकुवा गर्दै त्यस सरकारको मूल एजेन्डा आर्थिक परिवर्तन हुने जानकारी दिए।

प्रचण्डले आर्थिक परिवर्तन हुन नसके राजनीतिक स्थिरता पनि कायम नहुने धारणा प्रकट गरे।

उनले मोरङ क्षेत्र नम्बर ६ का गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले शान्ति प्रक्रियामा उल्लेख्य योगदान गरेको बताए।

सभामा नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस संविधानमा भएका कमीकमजोरीलाई यही संविधानमा टेकेर संशोधन र परिमार्जन गर्दै लैजाने बताए।

प्रवक्ता डा. महतले नेपालको संविधान र जनताको अधिकारलाई कमजोर बनाउन विभिन्न रूपमा पलाएका शक्तिलाई निमिट्यान्न पार्न गठबन्धनलाई जिताउनु आवश्यक भएको विचार व्यक्त गरे।

गठबन्धनका तर्फबाट मोरङ ६ मा नेपाली काङ्ग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज ल्याएरै छाड्ने आफ्नो प्रतिबद्धता रहेको बताए।

डा. कोइरालाले आफ्नो मुख्य राजनीतिक मुद्दा सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता भएको चर्चा गर्दै आफू आफ्नो निर्वाचन क्षेत्रको विकासमा पनि क्रियाशील भइरहने  आश्वासन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell