PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बढ्यो विदेशी मुद्राको सञ्चिति, खुल्ला गाडी र मोबाइलमा लागेको आयात प्रतिबन्ध?



खेमराज श्रेष्ठ

बढ्यो विदेशी मुद्राको सञ्चिति, खुल्ला गाडी र मोबाइलमा लागेको आयात प्रतिबन्ध?
Photo: myurlpro.com

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आयात प्रतिबन्ध खुला गर्ने बाटो खुलेको छ। विदेशी मुद्राको सञ्चिति बढेसँगै मन्त्रालयलाई प्रतिबन्ध खुला गर्ने बाटो खुलेको हो।

राष्ट्र बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ। बैंकले मौद्रिक नीतिमार्फत प्रत्येक महिना ७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति राख्ने लक्ष्य लिएको छ।

‘नेपाल सरकारको बजेट वक्तव्य २०७९/८० ले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको छ। नेपाल जस्तो सानो र आयातमा आधारित खुला अर्थतन्त्र भएको मुलुकले सुविधाजनक स्तरमा विदेशी विनिमय सञ्चिति कायम गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम राख्दै माग पक्षबाट मूल्यमा चाप पर्न नदिई लक्षित आर्थिक वृद्धि हासिल गर्न सहयोग पुऱ्याउनु मौद्रिक नीतिको लक्ष्य हुनेछ,’ मौद्रिक नीतिमा उल्लेख गरिएको छ। 

वैदेशिक मुद्राको सञ्चिति बढेसँगै वाणिज्य मन्त्रालयलाई प्रतिबन्ध खोल्ने बाटो खुलेको हो। मन्त्रालयले २०७८ बैशाख १३ गतेदेखि १० वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। जसमध्ये हाल गाडी, मोटरसाइकल, मोबाइल, टेलिभिजन र मदिरा ४ वस्तुमा आयात प्रतिबन्ध कायम छ। मन्त्रालयले यो प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याएको छ।

चुनावपछि आयात प्रतिबन्ध हटाउन सकिने वाणिज्य सचिव तोयम रायले बताए। सचिव रायले भने ‘आयात खोल्ने नखोल्ने विषय सबैभन्दा धेरै भूमिका अर्थमन्त्रालय र राष्ट्र बैंकको हुन्छ। यदि राष्ट्र बैंकले खोल्न संकेत गरे हामी आयात खोल्न तयार छौं।’ आयात मंसिरसम्म लम्ब्याउन पनि राष्ट्र बैंककै सुझावमा वाणिज्यले प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको थियो। 

आयात प्रतिबन्ध गर्नुको मुल उद्देश्य वैदेशिक मुद्राको मौज्दात बढाउनु भएकोले राष्ट्र बैंकको विश्लेषणका आधारमा निर्णय हुने रायले बताए। देशको अर्थतन्त्र सुधार गर्न प्रतिबन्ध गरेर नभई समग्र पक्षमा सुधार गर्नुपर्ने सचिव रायको तर्क छ।

गाडी प्रतिबन्धकै कारण राजस्व संकलनमा समेत असर परेकोले चुनावपछि आउने सरकारले आयात खुलाउने विश्वास गरिएको छ। भन्सार विभागको तथ्यांक अनुसार गत वर्षमात्रै गाडी आयातबाट सरकारले ३८ अर्ब ९० करोड राजस्व उठाएको थियो।

यसैगरी, विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाउँदा चोरी पैठारी बढेको व्यवसायीहरुले बताउँदै आएका छन्। प्रत्येक दिन त्रिभुवन विमानस्थल भन्सारबाट ५ सय बोतल विदेशी मदिरा भित्रिने गरेको तथ्यांक छ। विशेषगरी नेपालमा महँगो विदेशी मदिरा आयात प्रतिबन्ध लगाउँदा भारतबाट अवैध रुपमा भित्रिएको छ। यसले राजस्वमा गम्भीर असर गरेको छ।

सरकारले ३ सय डलर भन्दा माथिको मोबाइल आयातमा समेत प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाएका मोबाइल बजारमा छ्यापछ्याप्ती पाइन्छ। प्रतिबन्धित मोबाइल पनि भारतबाट अवैध रुपमा नेपाल भित्रिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell