ब्लास्ट, रगडा अनि लफडा।
अघिल्लो निर्वाचनहरुमा मधेश प्रदेशका क्षेत्रमा चुनावी नजिकिँदा सुनिने समाचारका विषय हुन् यी।
यसपटक मधेश शान्त छ। ठाउँठाउँमा म्यादीले नै सुरक्षा सम्हालिरहेको देखिन्छ।
चुनावी घरदैलो शुरु भएको दोस्रो हप्तामा मधेश पुग्दा भारतीय सीमामा पर्ने गाउँमा बरु कुस्ती खेल चलिरहेको थियो। वजनदार खेलाडीहरु आफूविरुद्ध भिड्न मैदानमा हाँक दिइरहेका भेटिन्थे। मसिना माटामाथि पसिनाले टिलिक्क परेका फिला र पाखुरा देखाएर छाती बजाउँदै कुस्ती मैदानमा फनफनी घुम्दा लाग्थ्यो – ती पहलमानसँग प्रतिस्पर्धामा उत्रन सक्ने कोही छैनन्।
तर एकैछिनमा ठीकठीकैको ज्यान देखिने फूर्तिला युवा आउँथे। एकै छिनमा ती फूर्तिला युवा पहलमानलाई पछारेर धुलो चटाउँदै जित आफ्नो नाममा दर्ज गराउँथे।
ती बलिया पहलमान झैं मधेशका गाउँगाउँमा अहिले उम्मेदवारहरु परिणाम आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन्। यसरी दाबी गर्नेमा धेरैजसो त ठुला दलका उम्मेदवारहरु नै। सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी र एमालेका उम्मेदवारहरु यसरी हुँकार दिँदै गरेको कोणसभामा देखिन्थे। उनीहरुको दाबी हुन्थ्यो - जित्ने हामीले हो।
मधेशमा धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिराहा, रौतहट, बारा र पर्सा गरी ८ जिल्ला छन्। सबै जिल्लामा ४/४ निर्वाचन क्षेत्र छन्। ८ जिल्लामध्ये यसपटक विषेशगरी रौतहटको क्षेत्र १, क्षेत्र ३, सर्लाही ४, धनुषा ४, पर्सा १ र सप्तरी २ लाई विशेष चासोका साथ हेरिएको छ।
यसैगरी मिथिला नगरी जनकपुरधाम क्षेत्र पर्ने धनुषा ३ र आर्थिक नगरी वीरगंज पर्ने पर्साको नतिजा कस्तो आउला, चासोको विषय बनेको छ।
यद्यपि, यहाँका उम्मेदवारहरु भने दंगलको बलिया पहलमान झैं मसँग भिड्ने कोही छ? भन्दै आफ्नो क्षेत्रमा फनफनी घुमिरहेका छन्। ती उम्मेदवारको चमकधमक छाती बजाएर हुँकार छाड्ने बलिया पहलमानको भन्दा कम छैन।
कस्तो छ चुनावी माहोल?
कात्तिकको तेस्रो हप्ता पुग्दा मधेश प्रदेशको राजधानी जनकपुरधाममा चुनावी चहलपहल खासै देखिदैनथ्यो। हामी पुग्दा जनकपुरधाम वरपर प्रचार दलहरुमाथि आचारसंहिता देखाउँदै माइक बजाएर गीत घन्काउँदै प्रचार गर्न रोक लगाइएको थियो। जनकपुरधाम छाडेर देहात छिर्दा भने चुनावी माहोलको रन्को उधुम देखिन्थ्यो। बाटोका पर्खालमा उम्मेदवारका रँगीचँगी पोस्टर जताततै टाँसिएको देखिन्थ्यो भने ब्यानरहरु रुखदेखि घरसम्म टाँगिएका।
धनुषाबाट मुख्य बाटो हुँदै रौतहटको गौर, मौलापुर, ईश्लामपुर पुग्दा त्यहाँ चुनावी रन्को लागेको देखिन्थ्यो। आर्थिक नगरी वीरगंज पुग्दा त्यहाँको चुनावी माहोल त्यति रन्किएको थिएन।
यो यात्रामा विभिन्न दलका नेताहरुसँग भेटवार्ता भयो। भेटका क्रममा आफ्नो दल नै मधेशको प्रमुख पार्टी बन्ने दाबी गर्दै थिए।
पर्सा ४ बाट कांग्रेसका उम्मेदवार रहेका रमेश रिजाल मधेशमा कांग्रेस पहिलो दल बन्ने दाबी गर्दै थिए। प्रतिनिधि सभा तर्फ १५ सिट पाउँदा कांग्रेसले यहाँ प्रदेशमा २६ सिट पाएको छ। 'विगतमा मधेशवादी भनेर आएका दलहरुले सत्तामा जानका लागि मधेशको जनतालाई भर्याङ बनायो। र सोचेअनुसार काम गरेनन्। झुक्याउनमात्र रहेछ भन्ने बुझिसके जनताले। त्यसकारणले उनीहरुलाई जनताले पत्याएको छैन। त्यसैले यसपटक मधेशको जनमत कांग्रेसको पक्षमा आउँछ,' उनले भने, 'मधेश प्रदेशको सरकार यसपटक कांग्रेसको सरकार बन्छ। प्रतिनिधिसभामा पनि राम्रो सिट आउँछ।'
रिजालमात्र हैनन् कांग्रेस उपसभापति भइसकेका नेता विमलेन्द्र निधिले पनि यसपटक मधेश प्रदेशमा कांग्रेसको राम्रो मत आउने दाबी गरे। आफ्नो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झालाई जिताउन जनकपुरमा अड्डा जमाएर बसेका नेता निधिले अघिल्ला वर्षहरुमा सत्ता साँठगाँठका कारण मधेश केन्द्रित दलहरुको शक्तिमा ह्रास आएको बताए। यसले कांग्रेसलाई यसपटक फाइदा हुने उनको दाबी थियो।
'मधेशवादी दलहरु अब कसैको नाम मधेशसँग जोडिएको छैन। जसपा, लोसपा, पहिलेपहिले फोरम तमलोपा के के थियो। मधेश केन्द्रित राजनीति गर्ने दलहरुले नै आफ्नो नामबाट नै मधेश शब्द हटाइसकेको छ। यसको एउटा कारण परिणाम के भने अब धेरै परिणाममुलक राजनीति गर्न सक्दैन,' निधिले भने, 'यसको मतलब हो उनीहरुलाई जनताले पत्याएन। त्यसकारण त्यो वातावरण नेपाली कांग्रेसको पक्षमा आएको छ। जसपा लोसपाको पर्फर्मेन्सले गर्दा जनताले के बुझे भने यिनीहरुको दाउ सत्तामा जानेमात्र रहेछ त्यसकारणले मधेशमा जनतामा तथाकथित मधेशवादी दलहरुप्रति जनताको विश्वास घटेको छ र अब गठबन्धनबाट जसपा हटेको छ। लोसपा त चुनावको मुखमा आएको छ। मधेशमा कांग्रेसको तुलनात्मक रुपमा बढी परिणाम आउने आशा हामीले गरेका छौं।'
यतिमात्र हैन मधेशमा विगत ३५ वर्षदेखि पत्रकारिता गरिरहेका जनकपुर टुडेका प्रधानसम्पादक वृजकुमार यादवले मधेशमा अहिले मधेशवादी दल नै नरहेको तर्क गरे। 'मधेशवादी दल कुन छ र यहाँ सबैले आफूलाई राष्ट्रिय दल भनेका छन्,' यादवले भने, 'त्यसैले यसपटक मधेश केन्द्रित राजनीति यहाँ छैन।'
किन शान्त छ मधेश?
पत्रकार यादवका अनुसार मधेश पछिल्लो दिनहरुमा शान्त छ। स्थानीय निर्वाचनमा पनि रौतहटको यमुनामाईमा मतपत्र बोकेर दौडनेबाहेक थप अप्रिय घटना भएनन्। यसपटक पनि चुनाव शान्तिपूर्ण हुने यादवको अपेक्षा छ।शुरुशुरुका निर्वाचनमा नेताहरुको दबंग शैलीकै कारण हिंसात्मक घटना हुने गरेको उनको तर्क थियो। 'ब्लास्ट, गोलीकाण्ड हुनुको कारण जनता नेताद्वारा परिचलित हुन्थे। चेतना थिएन। पढेलेखेका थिएन। नेतालाई यति विश्वास गर्थे। नेताहरु पनि दबंग टाइपको हुन्थे,' यादवले भने, 'कम्युनिस्टको त धनीलाई धम्क्याउने तर्साउने सिद्धान्तै हुन्थ्यो। त्यसपछि कांग्रेस कम्युनिस्टको झगडा परिरहन्थ्यो। धनुषा १ मा विशेषगरी यस्तो झगडा भइरहन्थ्यो। घाइते हुन्थे। हामी अस्पतालमा पुगेर सोध्थ्यौ। कसरी यस्तो भयो। घाइतेको जवाफ हुन्थ्यो - रामचन्द्र झाजी आउनुभएपछि भन्नुहुन्छ। अब घाइतेले बोल्दैन। रामचन्द्र झाले जे बोल्थ्यो त्यही घाइतेको स्पिच हुन्थ्यो। कांग्रेसमा पनि त्यही थियो। अहिले परिवर्तन हुँदैछ।'
जनकपुर टुडेका प्रधानसम्पादक बृजकुमार यादव।
हिजो राष्ट्रपतिको विरोधमा उत्रिएको जसपा र जसपाको विरोध गर्ने एमाले काँध जोडेर चुनावी मैदानमा उत्रनु पनि चुनावको रोचक पक्ष भएको उनको बुझाई छ। 'कार्यकर्ताले त यो बुझेका छन् नि। अनि किन झगडा गरिरहने त?' पत्रकार यादवले भने।
यसो त धनवादको राजनीतिले पनि यसलाई प्रभाव पारेको देखिन्छ। महासेठ र जुलीको जोडीले टिकट पाउनुलाई नै यसको उदाहरण मान्न सकिएला।
मधेशमा माओवादी केन्द्रले ५, एकीकृत समाजवादीले ३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ७ निर्वाचन क्षेत्रमा साझा उम्मेदवार उठाएका छन्। उनीहरुले दुई निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने र एक क्षेत्रमा नेकपा एमाले परित्याग गरेका प्रभु साहलाई सघाउने समझदारी गरेका छन्।
यसैगरी एमाले जसपा गठबन्धनमा मधेशमा एमालेले १४ स्थानमा र जसपाले १४ स्थानमा सिट बाँडेको छ। प्रभु साहको क्षेत्रमा एमालेले माछा चिह्न पाएका स्वन्तन्त्र उम्मेदवारलाई सघाउने भएको छ।
यसपटक एमालेले मधेशमा चुनावी कमान्डर पाउन सकेन। प्रभु साहको भरमा बसेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा धोका पाए। साहले अन्तिम समयमा यस्तो चक्मा दिए कि एमालेले उनको क्षेत्रमा कांग्रेस छाडेर आएको उम्मेदवारलाई सघाउन बाध्य भएको छ एमाले। अब मधेशमा रघुवीर र जुली महतो नै खारिएको नेता भएको बताउँछन् पत्रकार यादव।
'एमालेमा रघुवीर महासेठ र जुली महतोबाहेक अरु खारिएको नेता नै छैन। ओली नजिकका अरु सिनियर नेता छैनन्,' यादवले भने।
सप्तरीमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्दै गर्दा एमालेले उनलाई सघाइरहेको छ। नागरिकता विधेयक रोकेपछि यस विषयबाट आफ्नो मत प्रभावित हुने डर एमालेलाई छ। यद्यपि कांग्रेसले नागरिकताको समस्यमा समाधान नगर्ने र मधेशमा चुनावी मुद्दा बनाइराख्ने रघुवीरको दाबी छ। 'नेपालमा विद्यामान कानुन छँदैछ। नागरिकता नदिएको भए ठीकै थियो। यही जन्मेका सात लाखमा ६ लाख मधेशी छन् नागरिकता नपाउने। रोक्ने काम गठबन्धन सरकारले नै गरेको हो,' उनले भने।
ओली सरकारले ल्याएको विधेयकमा कुनै कमजोरी नरहेको तर्क महासेठको थियो। 'हामीले ल्याएको विधेयकमा के कमजोरी थियो? कांग्रेसको सरकारले ल्याएको विधेयक छलफल गर्न नसक्ने अनि बहुमतको आधारमा त्यसलाई थन्क्याएर अर्को विधेयक ल्याउन मिल्छ? पेल्न मिल्छ? नागरिकताको विधेयक कांग्रेसको सरकारले ल्याउँदै ल्याउँदैन। नागरिकताको समस्या समाधान गर्यो भने अर्को चुनावमा उहाँको नारा के हुन्छ?' डिफेन्समा उत्रिए उनी।
विचित्रको राजनीति!
कुनैबेला एमालेको 'आइकन' थिए माधव नेपाल। पार्टीमा ओलीको एकाधिकार भएको भन्दै पार्टी नै फोडेपछि नेपाल अहिले कलम चिह्नबाट चुनाव लड्दैछन्। उनी आफ्नो पुरानै क्षेत्रमा फर्किएर पुरानै प्रतिद्वन्द्वीसँग भिड्दैछन्। रोचक त के भने, मधेसी जनाधिकार फोरमबाट २०७० मा नेपालसँग भिडेका अजय गुप्ताले यसपटक सूर्य चिह्न पाए।
रौतहट १ बाट उम्मेदवारी दिएका नेपाललाई जसरी पनि हराउनुपर्ने अभियानमा लागेको छ एमाले। किनकि पार्टी फोडेको रिस साँध्नु छ ओलीलाई। यद्यपि नेपाल भने जसरी पनि जित निकाल्ने दाउमा छन्। रौतहट २ को राजनीति पनि रोचक छ। कांग्रेसको स्थानीय कमिटीले जेलमा रहेका मोहमद आफताब आलमलाई टिकट सिफारिस गरि पठाएको थियो। चौतर्फी विरोधपछि उक्त क्षेत्रमा कांग्रेसले आलमका छोरा मो. फिरदोस आलमलाई उम्मेदवार बनाएको छ। उक्त क्षेत्रमा एमाले छाडेर आएका किरण साह चापाकल चिह्नबाट मैदानमा छन्। प्रभु साहका उम्मेदवार उनी सत्ता गठबन्धनलाई भारी पर्ने देखिन्छ।
धनुषाको दुई क्षेत्रमा रघुवीर - जुली जोडीलाई टिकट दिएको एमाले यसपटक मधेशमा 'डिफेन्सिभ' मुडमा देखिन्छ। चुनावी दंगलमा भिड्ने आफू जित्ने अवस्था नदेखे विपक्षीको खुट्टा तानेर अर्कोलाई जिताउने एमालेको रणनीति देखिन्छ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा सिके राउत सप्तरी दुईमा दंगलमा उत्रिएका छन्। मधेशवादी मुद्दा उठाएर राजनीतिमा छाएका यावदविरुद्ध राउत कतिको भारी पर्ने हुन्? चुनावी परिणाम कुर्नैपर्ने देखिन्छ।
कांग्रेसलाई पनि यसपटक त्यति सजिलो भने छैन। कांग्रेसमा रहुन्जेल 'भारतीय एजेन्ट'को आरोप खेपेका अमरेशकुमार सिंहलाई यसपटक पार्टीले टिकट दिएन। अहिले उनी माछा चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका छन्। सर्लाही ४ मा सतागठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका पूर्वजिल्ला सभापति नागेन्द्र कुमार रायलाई अमरेशले चेपुवामा पार्ने देखिन्छ। पर्सा १ मा कांग्रेसका अजयकुमार द्विवेदी गठबन्धनका लक्ष्मणला कर्णविरुद्ध माछा चिन्ह लिएर स्वतन्त्रबाट चुनावी मैदानमा छन्। धनुषा ४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवविरुद्ध एमालेका सचिव रघुवीर महासेठ छन्। उनीहरुविरुद्ध जसपाका महाजन यादव र कलाकार कृष्णकुमार महतो स्वतन्त्रबाट उम्मेदवार छन्।
मधेशमा स्थानीयकाअनुसार पहिलेपहिले देखिने चुनाव चिह्नहरु रुख र सूर्यबाहेक अरु बाक्लो रुपमा देखिएका छैनन्। साइकल, नमस्कार गरेको हातको साटो चापाकल, कैची र माछा चुनाव चिह्न प्रशस्त देखिन्छन् बाटोमा। कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिने र एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिनेहरु प्रशस्तै भेटिन्छन् मधेशमा। फेरि तिनै स्वतन्त्र उम्मेदवारहरुलाई प्रमुख दलहरुले सहयोग गरिरहेका देखिन्छन्। प्रभु साहविरुद्ध माछा चिन्ह लिएर उम्मेदवार बनेका ओमप्रकाश जैसवाललाई एमालेले साथ दिइरहेको छ। कांग्रेसले टिकट नदिएपछि जैसवालले स्वतन्त्र उम्मेदवारी दिएका थिए। यता एमालेलाई चक्मा दिएका प्रभु साहलाई गठबन्धनले सघाउने भएको छ। यद्यपि चुनावी समयमा स्वतन्त्र उम्मेदवार र दलहरुको चाला देखेर प्रभुलाई नै अचम्म लागेको रहेछ। 'मैले भने नि, त्यो पक्ष यो पक्ष यो क्षेत्रमा छैन। मलाई विचित्र लागिरहेको छ कि सूर्य छापले गाछीलाई साथ दिइरहेको छ। छाता छापलाई गाछीले भोट मागिरहेको छ। गाछीले स्वतन्त्रलाई भोट मागिरहेको छ,' प्रभु साह भन्दै थिए, 'यो भनेको अनैतिकता हो। म त निष्ठाको राजनीति गर्छु। हरेक काममा यो लागू हुन्छ। अनैतिकताको विरुद्ध लागेर मात्र निष्ठाको राजनीति बढ्छ।'
यस्तो विचित्रको राजनीति राष्ट्रिय समस्या भएको बताउँछन् पत्रकार यादव। 'यो त राष्ट्रिय समस्या हो। स्वतन्त्र उठ्ने। मधेशमा मात्र हैन,' उनले भने, 'दलहरुसँग कुनै एजेन्डा नभएपछि स्वतन्त्रको लहर चलेको हो।'
जातीय मतको एक्स्चेन्ज!
मधेशमा निर्वाचनलाई प्रभाव पार्ने अर्को मुख्य विषय रहेछ जातीय मत। यादव बाहुल्य क्षेत्रमा यादव उम्मेदवार बनाउनुपर्ने। साह बाहुल्य क्षेत्रमा साह थरका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने। दलहरुले प्रतिनिधि सभामा साहलाई उम्मेदवार बनाए प्रदेशमा यादवलाई उम्मेदवार बनाउने। राउत बाहुल्य क्षेत्रमा त्यसै गर्ने, झा बाहुल्य क्षेत्रमा त्यसै गर्ने। अनि मत कता जान्छ? यसको उत्तर भने बाकस खोलेरमात्र थाह पाउने स्थानीय बताउँछन्। रघुवीरको क्षेत्रमा एमालेबाट प्रदेश क का उम्मेदवार छन् सन्तोष यादव। धनुषा कांग्रेसका उपसभापति यादव भर्खरै एमाले प्रवेश गरेका हुन्। कांग्रेसका शेषनारायण यादव मंसिर २२ गतेसम्म जसपा थिए। मनोनयनको दिन उनी कांग्रेस पसे। यादवको मत तान्न यादवहरुलाई पार्टीले तानातान गरेको देखिन्छ यस क्षेत्रमा।
चुनावमा गठबन्धन बनाएर लडेका दलले पनि पुरानै अनुहारलाई उभ्याएको छन्। मधेशी मुद्दा र मधेश केन्द्रित राजनीति गरेर छाएका नेताहरुलाई कांग्रेस एमालेले टिकट दिएर प्राथमिकतामा राखेको छ। लक्ष्मणलाल कर्ण, अनिल झा, उपेन्द्र यादव, प्रभु साहहरुलाई जिताउने ठेक्का प्रमुख दलले लिएको छन्। उनीहरु पनि बलिया पहलमान झैं छाती ठोक्काएर मैदानमा यताउति गरिरहेका छन्। यो तरिका जनकुपरधाममा प्रदीप ठाकुरलाई ठीक लागिरहेको छैन। 'मधेसवादी मुद्दा उछालेर असफल भइसकेका नेताहरुलाई फेरि जिताउने? यस्तो काममा को लाग्छ?' मट्का चियाको स्वाद फड्कार्दै उनी भन्दै थिए।
उनको प्रश्न यसरी सोझिन्छ कि - कतै मधेशको चुनावी ब्याटलमा दंगल मैदानको दृश्य त दोहोरिने हैन?
(जनकपुरबाट सुमित मिश्र र पर्सामा राधेश्याम पटेलको सहयोगमा)