PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

बहकिएर मतदान नगर्न स्वर्णिमको सुझाव, भने : भोट हाल्दा खेलाची नगर्नुस्



पहिलोपोस्ट

बहकिएर मतदान नगर्न स्वर्णिमको सुझाव, भने : भोट हाल्दा खेलाची नगर्नुस्
फाइल फोटो

काठमाडौं : अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले चितवन क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्दै बहकिएर मतदान नगर्न आग्रह गरेका छन्।

'अहिले घण्टी बजेको सुनिँदैछ। लोकतन्त्रको एउटा सौन्दर्य र आकर्षण भनेकै आफूलाई मन लागेको कुरा शान्तिपूर्ण तरीकाले आफ्ना एजेण्डाहरु जनतामा लगेर प्रस्तुत गर्ने र जनताले रुचाएको खण्डमा अनुमोदित हुने नै हो,' वाग्लेले भने, 'त्यसैले ख्यालख्यालमा हाम्रो अमूल्य लोकतान्त्रिक मतलाई खेर फाल्नेतिर उद्दत नबनौं।'

उनले क्षणिक असन्तुष्टिका लागि मत घोप्ट्याउने काम नगर्न समेत आग्रह गरे।

'एउटा प्रोटेस्ट भोटका हिसाबले क्षणिक असन्तुष्टिका लागि कहीँ घोप्ट्याएर क्षणिक सन्तुष्टि चाहिँ मिल्ला। त्यो असन्तुष्टिलाई विश्राम दिनुहोला,' वाग्लेले भने 'तर त्यसको सामूहिक नतिजाले राष्ट्रको कोर्षलाई डिरेल गर्नसक्ने सम्भावना रहन्छ। त्यसैले यसप्रति साथीहरु विवेक पुर्‍याउनुहोला। कुन उम्मेदवारको योग्यता के हो? कुन उम्मेद्वार कस्तो राजनीतिक पृष्ठभूमिबाट आएका छन्। कस्ता राजनीतिक दलका प्रतिनिधि हुन्। त्यस बारेमा साथीहरुले बुझेर सोचेर मतदान गर्नुपर्ने हुन्छ। यो खेलाँची गर्ने चिज होइन।'

उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय मार्गचित्र पेश गरेर अगाडि बढेको पार्टीलाई छाडेर लहडमा बहकिएर गलत ठाउँमा आफ्नो मतको दुरुपयोग नगर्न समेत आग्रह गरे। उनले राजनीतिक पार्टीको विकल्प अरु हुन नसक्ने समेत स्पस्ट पारे।

'कोही साथीहरु यो सिस्टमबाट केही पनि हुँदैन भन्ने मत राख्‍न छुट होला। ७५ वर्ष अघि वीपी कोइरालाले के लेख्नुभयो भनेर पढ्ने विद्यार्थी भएको हुनाले यसलाई दीर्घकालीन हिसाबले हेर्नुपर्छ,' वाग्लेले भने।

उनले कुनै पार्टी विशेषप्रति कुनै कालखण्डमा व्यापक असन्तुष्टि हुनसक्ने बताउँदै त्यस्ता राजनीतिक दलले लामो आयु लिएर आएको तर्क गरे।

'अमेरिकामा रिपब्लिकन पार्टीमा अब्राहम लिंकनजस्तो सर्वोत्कृष्ट राष्ट्रपति पनि भए। डोनाल्ड ट्रम्पजस्तो धुन्धुकारी पनि राष्ट्रपति भए। तपाईँ बेलायतमा हेर्नुस् डेढ सय दुई सय वर्षदेखि लेवर पार्टीमा ह्यारोल्ड विल्सन जस्ता क्लेमेन्ट याट्लीजस्ता राजनेता पनि जन्मिए। अस्ति ४५ दिन पनि शासन गर्ने पनि आए,' उनले भने।

चितवनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रभाव विस्तार गरिरहेको अवस्थामा नेपाली कांग्रेसका युवा नेताबाट आएको अभिव्यक्तिले विशेष अर्थ राख्छ। राजनीतिक दल सामुहिकतामा चल्ने बताउँदै उनले कुनै एक व्यक्तिको पर्यायवाचीका रुपमा दल हुन नसक्ने तर्क गरे।

'राजनीतिक पार्टीहरु भनेको कुनै एउटा व्यक्तिले ड्राइभ गरेको परिचयसँग पर्यायवाचीका रुपमा तपाइँहरुले लिनुहुँदैन। त्यो विचार हो, गठन हो। यो दशौं लाख व्यक्तित्वहरुको गठजोड हो,' वाग्लेले भने, 'त्यसैले त्यसरी बुझ्नुभयो भने नेपाली कांग्रेसजस्तो र अन्य राजनीतिक पार्टीहरुको यो मुलुकको सम्मुन्नतिको यात्रामा ठूलो भूमिका रहन्छ।'

उनले राजनीतिक दलभित्र देखिएको विकृति पखाल्न फोहोरको आहलमा हाम्फाल्नुपर्ने अवस्था रहेको भन्दै राजनीतिमा सक्रिय हुन प्रेरित समेत गरेका थिए।

'देखिएका विकृतिहरुलाई पखाल्ने जिम्मेवारी पनि हाम्रै हो। अहिले देखिएको फोहोरको आहलमा हामफालेर त्यसलाई सफा बनाएर एउटा उन्नत राजनीतिक संस्कार र शैलीको जगमा सम्मुन्नत मुलुकको मार्गचित्रको झलक देखाउन मैले प्रयास गरेँ,' उनले भने, 'त्यो यात्रा हाम्रै पुस्ताले गर्नुछ।'

उनले नेपालको अर्थतन्त्रलाई गतिशील बनाएर अगाडि बढाउन सम्भव रहेको समेत बताए।

'२५ वर्षभन्दा मुनि आधा जनसंख्या छ। ६७ वर्षमा बुढ्यौलो समाज हुँदैछौं। २५/३० वर्षमा हामी बुढो समाज हुन्छौं। साच्चिकै यो अर्थतन्त्रलाई गतिशील बनाएर दौडाएर फड्को हान्ने हो भने हामीसँग जम्मा एक पुस्ताको अवधि बाँकी छ,' वाग्लेले भने, ' २०२५ सम्म नेपाललाई सम्मानयोग्य मध्यम आय भएको, विशाल मध्यमवर्गले सुसञ्जित उद्यममैत्री, उद्यम अनुकुल गतिशील अर्थतन्त्र, सबै नागरिकलाई सम्मानजनक जीवनस्तर बाँच्न योग्य बनाउने खालको आधुनिक सामाजिक सुरक्षाको खाकामा बाँध्न सकिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell