काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।
मतदानका लागि मात्र तीनदिन बाँकी रहँदा आज दिउँसो पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका हुन्।
निर्वाचन क्षेत्रको सुरक्षा लगायत अन्य क्षेत्रमा पनि सुरक्षाकर्मी समेत परिचालन भइसकेको उनले जानकारी दिए। त्यस्तै दुई दिनभित्र निर्वाचन क्षेत्रमा मतदान केन्द्रहरु समेत निर्माण भइसक्ने आयुक्त थपलियाले जानकारी दिए।
निर्वाचनका लागि तीन घेरामा सुरक्षाकर्मी परिचान गरिएको छ। त्यस्तै ३० मिनेटमा पुग्ने गरि सुरक्षाकर्मीको रिजर्भ फोर्स तयारी अवस्था राखिएको समेत प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। निर्वाचनको दिन सुरक्षाकर्मीको घुम्ती टोली पनि परिचालन गरिने भएको छ। निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
निर्वाचनको लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरी समेत भर्ना गरेर खटाएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन्। त्यस्तै विभिन्न ६ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ।
आज राति १२ बजेबाट कुनै पनि प्रचार प्रसार गर्न दलहरुलाई रोक लगाइएको छ।