- प्रकाश भण्डारी/सविन ढकाल -
चितवन : गत वर्ष नेकपा एमाले यसरी विभाजित भयो कि एकै परिवारका दुई सदस्य अलग अगल पार्टीमा पुगे। नेता कार्यकर्ताको वर्षौसम्मको दोस्तीमै ‘ब्रेक’ लाग्यो। फरक कित्तामा उभिए, एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपाल। त्यही परिस्थितिमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको परिवार पनि सग्लो रहेन। दाजु राजेन्द्र नेकपा एकीकृत समाजवादीतर्फ लाग्दा १२ बुँदे सहमति गरेर सुरेन्द्र एमालेमै फर्किए। दुई पटकको प्रतिनिधिसभा विघटनका बेला एमालेका ओलीइतरको कित्तामा उभिएका थिए सुरेन्द्र र राजेन्द्रसँगै। तर, विभाजनका बेलामा दाजुभाइ नै अलग। राजेन्द्रले नेपाललाई साथ दिए भने सुरेन्द्रले ओलीलाई।
संयोग नै मान्नुपर्छ फरक पार्टीमा रहेका दाजुभाइको पद भने एउटै छ। सुरेन्द्र एमालेको र राजेन्द्र एकीकृत समाजवादीको उपाध्यक्ष। चार वर्ष अन्तरका राजेन्द्र-सुरेन्द्र बिच राजनीतिक हिसाबमा अहिले पनि समानता नभएको होइन - दाजुभाइ नै प्रतिनिधि सभाको उम्मेदवार छन्। तर, जिल्ला र क्षेत्र नै फरक छ। धादिङ-१ बाट राजेन्द्र र चितवन-१ बाट सुरेन्द्र प्रतिनिधि सभाको उम्मेदवार छन् - एकीकृत समाजवादी र एमालेका तर्फबाट। राजेन्द्र वाग्मती प्रदेशका मुख्यमन्त्री पनि हुन् भने सुरेन्द्र निवर्तमान प्रतिनिधि सभा सदस्य मात्रै।
राजनीतिक जीवनकै पहिलो घटना
राजेन्द्र-सुरेन्द्रको जीवनमा यसपटकको प्रतिनिधि सभाको निर्वाचनको अनुभव नौलो हो। साढे दुई दशक भन्दा लामो संसदीय राजनीतिक अनुभव भएका पाण्डे दाजुभाइ पहिलोपटक फरक पार्टीबाट उम्मेदवार बनेका हुन्। एमाले र एकीकृत समाजवादी एक अर्कालाई देख्नै नचाहने राजनीतिक शक्ति भए पनि राजेन्द्र-सुरेन्द्रको हकमा भने यही कुरा लागू हुँदैन।
‘यो पहिलो घटना नै हो हाम्रो पार्टी जीवनमा। यसभन्दा अगाडि हामी एउटै पार्टीमा थियौं धेरै लामो कालसम्म। एउटा कालखण्डमा मेरो दाजु म भन्दा धेरै एक्टिभ हुनुहुन्थ्यो। म त बच्चै थिएँ,’ चुनाव प्रचारका क्रममा हामीले दाजुभाइ सम्बन्धबारे सोधेपछि सुरेन्द्रले यसै भने।
उमेरमा मात्रै राजेन्द्र सिनियर होइनन् राजनीतिक हिसाबले पनि उनी सुरेन्द्र भन्दा पाको हुन्। तर दाजुभाइको उछिनापछिन भने जारी नै रह्यो राजनीतिक यात्रामा। दाजुभन्दा पहिलै सुरेन्द्र मालेको केन्द्रीय सदस्य बने। राजेन्द्रले शिक्षकको पेशा सम्हाले। एमालेमा रहँदा पनि राजेन्द्र केन्द्रीय सदस्य मात्रै थिए भने सुरेन्द्र स्थायी कमिटी सदस्य बनिसकेका थिए।
सुरेन्द्रले पाउलान राजेन्द्रको कम्प्लिमेण्ट?
एमाले विभाजनअघिसम्म सँगसँगै रहेका राजेन्द्र-सुरेन्द्रका लागि चुनावी मैदानमा भने उस्तै खालको चुनौती छन्। दुवैले आफ्नो किल्ला जोगाउनुपर्ने छ। सुरेन्द्रले चितवन-१ बाट निकालेको २ पटकको जित जोगाउनुपर्ने छ भने राजेन्द्रले यसपटक प्रतिनिधि सभामा धादिङ-१ मा जित्नुपर्ने छ, २०७४ मा राजेन्द्र प्रदेशसभाको सदस्यमा भएको जितलाई प्रतिनिधि सभामा कन्भर्ट गर्न चाहन्छन्। सुरेन्द्रलाई एमालेकै उम्मेदवार भएर एमालेकै गुटबन्दी चिर्नु जति कठिन छ त्यतिकै कठीन राजेन्द्रलाई एमालेबाट कमाएको राजनीतिक हाइट जोगाउन। राजेन्द्रले एमालेकै मतदाताले आफूलाई मतदान गर्ने दाबी गरे।
‘मलाई एमालेकै साथीहरुले पनि मत दिनुहुन्छ। माहोल मेरो एकदमै राम्रो छ,’ उनले भने। एमालेकै कार्यकर्ताले आफूलाई मत दिने दाबी गर्नुका पछाडिको कारण दाजुभाइ साइनो त होइन?
उनी यसबारे भने उनि खुल्न चाहँदैनन्। भाइको कारणले एमालेको कार्यकर्ताले मत दिने नभइ आफ्नो एमालेमा लामो समयको सक्रियता र आफूलाई नेता मान्ने नेता एमालेमा अहिले पनि भएकाले मत पाउने राजेन्द्रको भनाइ छ।
त्यसो त राजेन्द्रलाई सत्ता गठबन्धनको पनि साथ छ।शीर्ष नेता एक अर्काप्रतिको आक्रोशका बाबजुद एमाले र एकीकृत समाजवादीमा एक अर्का पार्टीप्रति सम्मान व्यक्त गर्ने नेता कार्यकर्ता नभएका होइनन्। राजेन्द्रले एमालेको कार्यकर्ताले मत दिने दाबी गर्दा धादिङबाटै बसाइसराइ गरेर चितवनमा मतदाता रहेका एकीकृत समाजवादीका नेता/कार्यकर्ताले के सुरेन्द्र पाण्डेलाई फेवर गर्लान?
सुरेन्द्रका लागि दाजु राजेन्द्र फ्याक्टरले फाइदा नै पुग्ने बताइन्छ। किनभने पाण्डेको क्षेत्रमा धादिङ लगायतका पहाडी क्षेत्रबाट बसाइसरेर गएकाहरुको संख्या उल्लेख्य छ। धादिङबाटै बसाइ सरेर चितवन पुगेका सुरेन्द्रलाई आफ्नो जन्मक्षेत्रको साइनोले भोटमा पनि काम गर्ने दाबी पाण्डे निकटहरुको छ। राजेन्द्रसँगको साइनोको फाइदा भोटमा हुने संकेत स्वयम् सुरेन्द्रले पनि गरेका छन्।
‘राजनीतिक रुपमा जे जस्तो खालको समझदारी हुनुपर्ने हो त्यो भइ नै हाल्छ। तर उहाँ एउटा बाटोमा हुनुहुन्छ म अर्को बाटोमा छु,’ सुरेन्द्र पाण्डले भने।
‘पोलिटिकल हाइटबाट समझदारी हुन्छ’
त्यसो त राजेन्द्र - सुरेन्द्र चुनावी चुनौतीका बारेमा बोल्न चाहँदैनन्। राजनीति भन्दा पर पारिवारिक सम्बन्धमा भने चुनावले कुनै फरक नपारेको बताउँछन्।
‘अहिले नै म केही भन्न चाहन्न। तर, उम्मेदवारीका कारण त्यस्तो पारिवारिक सम्बन्धमा केहीँ हुँदैन,’ राजेन्द्रले राजनीतिक पारिवारिक सम्बन्धबारे भने।
एमालेले एकीकृत समाजवादीसँग प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गरेको छैन। स्थानीय तह निर्वाचनका बेलामा भने एकाध ठाउँमा एकीकृत समाजवादीसँग पनि एमालेको तालमेल थियो।
सुरेन्द्र दाजु राजेन्द्रसँगको सम्झदारी राजनीतिक रुपमै हुने बताउँछन्।
‘स्वभाविक रुपमा पोलिटिकल हाइट भएको मान्छेले समझदारी त त्यही लेभलबाट गर्छ। घर झगडा जस्तो गर्नुपर्ने त केही छैन। म आफ्नो तरिकाले ब्रटअप भए। म भूमिगत भएँ भूमिगत हिसाबले विवाह गरे। बाहिर बाहिर बसेँ। ब्रटअप पनि फरक फरक छ,’ उनले भने।
बोलेर पढ्ने राजेन्द्र, कण्ठै पार्ने सुरेन्द्र
एउटै पारिवारिक पृष्ठभूमि भए पनि राजनीतिक हिसाबले अलग धारमा उभिएपछि पक्कै पाण्डे दाजुभाइका भिन्नता हुने नै भए। किनभने एकीकृत समाजवादी सत्ता गठबन्धनको एक हिस्सा हो भने एमाले सत्ता गठबन्धनको चर्को विरोधी। एमालेलाई एकीकृत समाजवादीले र एकीकृत समाजवादीले एमालेलाई दुश्मनका रुपमा व्यवहार गरिरहेका छन्। पाण्डे दाजुभाइको राजनीति/सैद्धान्तिक भिन्नता मात्रै होइन केही स्वभावगत भिन्नता पनि छन् जसलाई उनीहरुले नै हामीसामु ब्रिफ गरे। स्कुल पढ्दा राजेन्द्रको बानी थियो बोलेर पढ्ने। तर सुरेन्द्रले मनमनै पढ्थे। राजेन्द्रले कराएर पढेको सुन्दै कण्ठ पार्थे सुरेन्द्र।
‘१३ वर्षमा मैले एसएलसी गरेँ। मेरो दाजु म भन्दा ४ वर्ष जेठो। उहाँ मभन्दा एक वर्ष अगाडिको एसएलसी हो। १५ वर्षमा आइकम पास गरेँ। उहाँ अलि बोलेर पढ्ने बानी थियो। म नबोलेर पढ्थेँ। उहाँले पढेको म कण्ठै पारेर भनिदिन्थेँ,’ दाजुभाइको स्कुले जीवनबारे सुरेन्द्रले सुनाए।
सुरेन्द्रले खुट्टाएको अर्को भिन्नता हो राजनीतिक सक्रियता। सुरुमा राजेन्द्रले राजनीति गर्न सुरेन्द्रलाई प्रेरित गरे। पछि सुरेन्द्र सक्रिय भएपछि राजेन्द्र घर व्यवहारमा जेलिए।
‘राजनीतिमा मान्छेले इच्छा गरेको जस्तो नहुँदो रहेछ। म पढ्नुपर्छ भन्थेँ। भूमिगत भएँ। उहाँ राजनीतिमा जानुपर्छ भन्नुहुन्थ्यो। मान्छेको जीवनमा फैसला गर्ने कुरा व्यक्ति आफैँले निर्णय गर्ने विषय हो,’ पाण्डेले भने। दाजुभाइका राजनीतिक र स्वभावगत भिन्नता भए पनि दुवैले प्रतिनिधिसभामा जिते फेरि प्रतिस्पर्धी हुने बाटो खुला हुने छ। त्यसो त सुरेन्द्र राजनीतिक रुपमा फरक कित्तामा उभिने राजनीतिज्ञका रुपमा आफ्ना दाजुभाइ मात्रै नयाँ नभएको बताउँछन्।
‘मात्रिकाप्रसाद कोइराला र वीपी कोइराला भिन्न ठाउँमा उभिनुभयो। त्यसले एउटाको राजनीतिमा अर्काले शंका गर्नुपर्ने जरुरत पनि हुँदैन,’ उनको भनाइ छ।
कम्युनिस्ट स्कुलिङको एउटै नर्सरीबाट हुर्किएका राजेन्द्र र सुरेन्द्रको सम्बन्धले चुनावमा एक अर्कालाई परिपुरकको काम त गर्ने नै छ। अर्कोतिर जन्मस्थान धादिङमा राजेन्द्र उम्मेदवार हुनु र धादिङकै मान्छेको बसाइ रहेको चितवन-१ मा सुरेन्द्र उम्मेदवार हुनुसँग केही न केही कनेक्नस हुने नै छ। बाँकी त मंसिर ४ आउन अब ३ दिन बाँकी छ। त्यसपछि धेरै कुरा थप प्रष्ट खुल्ने नै छ।