PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

काठमाडौं-५ का मतदातासँग गगन थापाले मागे प्रदीप पौडेल, भने : संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ



पहिलोपोस्ट

काठमाडौं-५ का मतदातासँग गगन थापाले मागे प्रदीप पौडेल, भने : संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत भोलिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले उम्मेदवार र दलहरुले आआफ्नो प्रचारप्रसारलाई तिब्रता दिएका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको पक्षमा पनि आज चुनावी सभा आयोजना गरिएको छ। सो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापादेखि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेतले प्रदीपका लागि मत मागे।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार समेत रहेका गगन थापाले प्रदीप आफूलाई संसदमा चाहिएको सांसद भएको बताएका छन्। गगनले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू जितेर आउने भन्दै प्रदीपलाई पनि जिताएर पठाउन आग्रह गरेका छन्।

उनले भने, 'उहाँ प्रदीप पौडेल हुनुहुन्छ। म जिम्मा लिन्छु उहाँको। सिद्धार्थ बनस्थली पढ्दा कक्षा १० मा प्रदीप पढ्दा म कक्षा ९ मा थिएँ। हामी एकदम नजिकको साथी हौं। म पनि जितेर आउँदैछु। मुहान सफा गर्नुपर्नेछ, म प्रदीप पौडेल माग्न आएको हुँ,' थापाले भने, 'संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ। काठमाडौं ५ मा मात्रै हैन। देशको लागि बोल्न सक्ने मानिस हुन्।'

थापाले विजयपश्चात प्रदीप र आफूले एकै ठाउँमा विजय जुलुस गर्ने समेत बताए।

गगनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लहडका कारण पाँच वर्ष खेर गएको आरोप समेत लगाएका छन्। उनले मंसर ४ गते गठबन्धनको पक्षमा मत दिएर लहड देखाएका नेतालाई मतदाताले 'साइज'मा ल्याउनुपर्ने बताएका छन्।

भने, 'एउटा व्यक्तिको लहडले ५ वर्ष खेर गयो हिसाब माग्ने कि नमाग्ने। प्रतिपक्षीमा के के गर्न सक्थ्यौ भनेर हामी अहिले चुनावमा आउँथ्यौं। मतदाताले छातीमा हात राखेर भन्नुपर्छ अहंकार र लहडको हिसाब माग्नुपर्छ साइजमा ल्याउने भनेर। अहिले हो मतदाता मञ्चमा बस्ने मौका। नेतालाई साइजमा ल्याउनुपर्छ नागरिक रिसाएका छन्।'

गगनले नेता र दलहरुले आफ्नो काम गर्ने शैली बदल्न आवश्यक भइसकेको समेत बताएका छन्। उनले देशमा थिति बस्दैछ भन्ने विश्वास दिलाउन सक्नु पर्ने बताएका छन्।

'संसदको हुलमा गठबन्धनलाई पनि अल्छी लाग्न सक्छ। घमण्ड लाग्न सक्छ। त्यस्तो बेला गठबन्धनको विरुद्ध बोल्न सक्ने सांसद चाहिएको छ,' गगनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell