
काठमाडौं : मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदैछ। आज चुनाव प्रचारप्रसारको अन्तिम दिन दल तथा उम्मेदवारहरु प्रचारप्रचारमा बिहानै देखि खटिएका छन्। नेताहरुलाई मात्रै होइन कलाकारहरुलाई पनि अहिले चुनावी चटारोले निकै छोएको छ।
कार्यकर्ता तान्न र चुनावी मञ्च धान्न नेताहरुले कलाकारको प्रयोग गरेका छन्। यसपटकको चुनावमा पनि धेरै कलाकारहरु पार्टी तथा उम्मेदवारको प्रचारप्रचारको माध्यम बने। कलाकारहरुले चुनावमा साँगीतिक माहोल बनाउनुका साथै मनपर्ने उम्मेदवारको चुनावी घरदैलोमै गएर भोटसमेत मागे।
यसपटक चुनाव प्रचारप्रचारमा निकै सक्रिय कलाकारमा पर्छन् : निश्चल बस्नेत। स्थानीय तह निर्वाचनमा बालेन शाहको समर्थनमा उभिएका निश्चल यस पटक भने स्वतन्त्र उम्मेदवारका साथै पार्टीगत उम्मेदवारको प्रचारमा समेत संलग्न देखिएका छन्। चुनावी माहोल सुरु भएसँगै बस्नेतको फेसबुक प्रचारप्रसारले भरिएको छ।
बस्नेतले काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार श्री गुरुङ, कास्की २ का स्वतन्त्र उम्मेदवार ऋगेन्द्र नेपाली गिरी, राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाकी समानुपातिक उम्मेदवार विनीता कठायत र मनिष झा अनि डडेलधुरामा उम्मेदवार रहेका सागर ढकाल लानि भोट मागेका छन्।
त्यसैगरि, अभिनेत्री केकी अधिकारी काठमाडौ-४ का नेपाली कांग्रेस उम्मेदवार गगन थापाको समर्थनमा उभिएकी छिन्। केकीले भिडियोमार्फत गगनलाई भोट माग्दै सफल राजनीतिज्ञको रुपमा उदय होस भनेर शुभकामना दिएकी छिन्।
अभिनेता प्रदीप खड्कालाई पनि चुनाव लागेको छ। उनी आफूलाई मनपर्ने उम्मेदवारको पक्षमा खुलेरै बोलिरहेका छन्। मंगलवार नवलपरासी-१ का कांग्रेस उम्मेदवार नेता तथा उद्यमी विनोद चौधरीका लागि भोट मागेका प्रदीपले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापाको लागि पनि भोट मागेका छन्। गगनको चुनावी घरदैलो कार्यक्रममा पुगेका प्रदीपले उनलाई भावी प्रधानमन्त्री रुपमा अघि सारेका छन्। साथै प्रदीपले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमको लागि समेत भोट मागेका छन्। यस्तै, अनुपविक्रम शाहीले पनि गगन थापाको पक्षमा मत मागेका छन्।
अभिनेत्री मनिषा कोइरालाआसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा छिन्। राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएको बताउने मनिषाले राप्रपाको लागि भोट मागेकी हुन्।
अभिनेता राजेश हमाल खासै पार्टी तथा उम्मेदवारको पक्षमा खुल्दैनन्। तर, यसपटक भने हमाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं १ का उम्मेदवार पुकार बमको समर्थनमा खुलेका छन्। उनले बमलाई शुभकामना दिँदै युवाको जोश र विज्ञतालाई सदनमा पुर्यउनु पर्ने बताएका छन्। अभिनेता दयाहाङ राई, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र निर्देशक प्रदीप भट्टराई पनि बमको पक्षमा खुलेका छन्।
त्यस्तै,अभिनेत्री वर्षा सिवाकोटी पनि चुनावी मुडमा छिन्। वर्षाले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं-२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमलाई भोट माग्दै समर्थन गरेकी छिन्।
ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार डा. तोसिमा कार्कीलाई अभिनेता तथा कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले चुनावी कार्यक्रममै पुगेर भोट मागेका छन्। बानियाँको पुकार बमलाई पनि समर्थन रहेको छ।
अभिनेता दयाहाङ राईलगायत विल्सनविक्रम राई र गायक राजेशपायल राई भोजपुरका नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीको पक्षमा छन्। गायक राईले झापा-१ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मालाई समेत भोट मागेका छन्।
त्यसैगरि, एमाले नेतृ करिश्मा मानन्धरले मोरङ-३ बाट राप्रपा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाको लागि खुलेरै भोट मागेकी छिन्। कलाकार राष्ट्रका अभिन्न अंग भन्दै करिश्माले सामाजिक सञ्जालमार्फत रेखालाई भोट मागेकी हुन्।