PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मोरङ- ६ मा फेरि शेखर भर्सेस् लालबाबु : कोइरालाले विपक्षी कार्यकर्ताको समर्थन पाउँदा पण्डितलाई आफ्नैको छैन भर



अनन्तराज न्यौपाने

मोरङ- ६ मा फेरि शेखर भर्सेस् लालबाबु : कोइरालाले विपक्षी कार्यकर्ताको समर्थन पाउँदा पण्डितलाई आफ्नैको छैन भर

विराटनगर : आम निर्वाचन सङ्घारमै भएका बेला मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को निर्वाचन रोमाञ्चक ढङ्गले अघि बढेको छ।

यस क्षेत्रमा नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइराला आफ्नो गुमेको वर्चस्व फर्काउन कसरत गरिरहेका छन्। अर्कातिर २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित नेकपा एमालेका नेता लालबाबु पण्डित आफ्नो निरन्तरता कायम राख्न कस्सिएका छन्।

कोइरालाका हकमा यस पल्टको निर्वाचन पहिलेका भन्दा सहज देखिएको छ। पहिलोपटक कोइरालामाथि अन्तर्घातको प्रतिशत नगण्य छ। पार्टीभित्र प्रधानमन्त्री देउवा लाइनका कट्टर समर्थक भनेर चिनिएका राष्ट्रिय सभामा काङ्ग्रेस संसदीय दलका नेता रमेशजङ्ग रायमाझी कोइरालाको प्रचारका सारथि बनेर हिँडेका छन् ।

त्यस्तै, विराटनगर महानगर क्षेत्रका एमाले समर्थकको ठुलो पङ्क्ति कोइरालाको समर्थनमा भित्रभित्रै लबिङ गरिरहेको छ।

‘हामी काङ्ग्रेसी होइनौँ तर काङ्ग्रेस पार्टी सुध्रनुपर्छ भन्ने हामी पनि चाहन्छौँ’, एमाले समर्थक एक कानुन व्यवसायीले भने, ‘यसका लागि डा. शेखर संसदमा पुग्नु अनिवार्य छ। शेखर संसदमा पुगेमा धेरै कुरामा चेक एन्ड ब्यालेन्स हुन्छ भन्ने हाम्रो समीक्षा छ। त्यसैले हामी उनको विजयका लागि प्रयास गरिरहेका छौं।’

लालबाबु एक भ्रम

२०७० सालको संविधासभा निर्वाचनमा समानुपातिकबाट सांसद भएका लालबाबु त्यस बेला सामान्य प्रशासन मन्त्री भएका थिए। पदमा हुँदा विदेशमा ग्रीनकार्ड र पीआर लिएका सरकारी जागिरेलाई कारबाही गर्ने प्रकरणका कारण लोकप्रिय बनेका थिए उनी। २०७४ सालको निर्वाचनपछि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पण्डितलाई त्यही मन्त्रालय दिए। तर, लालबाबुले पुरानो लोकप्रियता थामिराख्न सकेनन्। उल्टै कसैको काम नगरिदिएको भनेर अलोकप्रिय हुन पुगे उनी। फलतः उनले मन्त्री पदबाट हात धुनुपर्‍यो।

पण्डित तत्कालीन एमालेको गुट राजनीतिमा सधैँ माधव नेपाल समर्थक थिए। तर, पार्टी फुट्दा ओलीसँग मिसिए उनी। ओलीपक्षीय अधिकांश कार्यकर्ता पण्डितलाई टिकटको लोभले यो समूहमा आएको आरोप लगाउँछन्। त्यसैले यसपटकको निर्वाचनमा उनलाई असहयोग गर्ने पनि ओलीसमर्थक नै धेरै देखिएका छन्।

२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनासँगै लालबाबुका दिन र भाग्य एकै चोटि खुले। उनी मोरङको क्षेत्र नम्बर ३ बाट नेपाली काङ्ग्रेसका बद्रीनारायण बस्नेतलाई हराएर २०४८ मा प्रतिनिधि सभा सदस्य बने। २०५१ सालको मध्यावधि चुनावमा बस्नेतले पण्डितलाई हराए। २०५६ सालमा फेरि पण्डितले बाजी मारे। उनले सोही क्षेत्रबाट काङ्ग्रेसका गोपालमानसिंह राजभण्डारीलाई हराएका थिए।

त्यसपछि लालबाबु मोरङको ३ नम्बरतिर कहिल्यै फर्किएनन्। उनले निर्वाचनमा दिएका खानेपानी, स्वास्थ्यचौकी, अस्पताल र तटबन्धदेखि सडकसम्मका कुनै आश्वासन पूरा भएनन्। २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा उनले टिकट नै पाएनन्।

एउटा क्षेत्र गुमाएर अर्को निर्वाचन क्षेत्र बनाउन नसकेका पण्डित २०७० सालको दोस्रो संविधान सभामा माधवकुमार नेपालका कोटाबाट समानुपातिकमा परे। ओलीले २०७४ सालको निर्वाचनमा उनलाई मोरङको क्षेत्र नम्बर ६ हार्ने ठाउँ भनेर पन्छाउन खोजेका थिए। तर, काङ्ग्रेसको अन्तर्घातको चिट्ठा उनलाई पर्‍यो र उनी संसद पुग्न पाए।

विराटनगरकी युवा अभियन्ता जिना कार्की भन्छिन्, ‘लालबाबु केवल एक भ्रम थिए र अहिले पनि भ्रम नै हुन्। यो कुरा बुझ्न यस क्षेत्रका मतदाताले ५ वर्ष कुर्नुपर्‍यो। यसका कारण क्षेत्रको विकास सँगसँगै राष्ट्रिय राजनीतिमा पनि ठुलो असर पर्‍यो।’

लालबाबुले विगत ५ वर्षमा आफूले सडकनिर्माण लगायत विकासका थुप्रै काम गरेको र बाँकी काम आगामी कार्यकालमा पूरा गर्ने दाबी गरिरहेका छन् यसपटकको घरदैलोमा पनि।

कोइराला वंश थाम्लान् शेखरले ?

नेपालको राजनीतिमै चर्चित राजनीतिक परिवार अर्थात् कोइराला खलकका डाक्टर शेखर कोइरालालाई काङ्ग्रेसको ठुलो तप्काले कोइराला वंशको बिरासत थाम्ने नेताका रूपमा हेरेको छ। उनी बीपी कोइरालाका साहिँला भाइ केशवप्रसाद र स्वर्गीय नेतृ नोना कोइरालाका कान्छा छोरा हुन्।

गत मङ्सिरमा सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उनी पार्टी सभापतिका प्रत्याशी थिए। सभापतिको निर्वाचनमा शेरबहादुर देउवाले ६० प्रतिशत मत पाउँदा कोइरालाले ४० प्रतिशत पाएका थिए।

डाक्टरी पेशा छाडेर राजनीतिको मूलधारमा आएका कोइराला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ कार्यकाल उपकुलपति थिए। २०५८ सालमा उपकुलपतिको अवधि सकिएपछि उनले सक्रिय राजनीति अपनाए। गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको शान्तिप्रक्रियाका एक मुख्य सहयोगी थिए डा. शेखर।

कात्तिक ३० गते मोरङको सुन्दर हरैँचामा आयोजित चुनावी सभामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहलले शेखरको प्रशंसा गर्दै भनेका थिए, ‘डा. कोइरालाले गिरिजाबाबुको दाहिने हात बनेर शान्तिसम्झौता र १२ बुँदे समझदारी निर्माण गर्न योगदान गर्नुभयो। उहाँको सुझबुझपूर्ण योगदान र समर्पण नभएको भए शान्तिप्रक्रियाले त्यति छिटै र त्यस रूपमा मूर्त रूप पाउँथ्यो कि पाउँदैनथ्यो भन्ने कुरामा शङ्का छ।’

कोइराला २०६४ सालको पहिलो संविधान सभामा मोरङ क्षेत्र नम्बर ६ बाट तत्कालीन मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदारबाट पराजित भएका थिए। तर, लगत्तै सोही क्षेत्रमा २०६५ चैत २८ भएको उपनिर्वाचनमा कोइराला विजयी भए। २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा उनले तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारलाई सोही क्षेत्रमा हराएका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने कोइरालाले लालबाबुबाट पराजय खप्नुपर्‍यो। उनी लालबाबुबाट ६७५ मतले मात्र पराजित भएका थिए।

कोइरालाले मोरङको सुन्दरहरैँचा नगरपालिकामा अवस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज बनाउने, सिङ्गिया र केसलिया नदीमा तटबन्ध बनाउने, ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार दिने, सबैलाई स्वास्थ्य बिमाको कार्यक्रममा समेट्ने लगायतका चुनावी कार्यक्रम अघि सारेका छन्।

डा. शेखरलाई समर्थन गर्दै तमलोपाका उम्मेदवार राजु मण्डल, बहुजन शक्ति पार्टीका नारायण पासमान र स्वतन्त्र उम्मेदवार सुशील खड्काले आ–आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।

नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिका अध्यक्ष दीपक चापागाईंले डा. कोइरालाले यस पटक कम्तीमा ८ हजारको मतान्तरले विजय हासिल गर्ने दाबी गरे।

मोरङको क्षेत्र नम्बर ६ मा बुढीगङ्गा गाउँपालिकाका सबै वार्ड, विराटनगर महानगरपालिकाका वडा नम्बर ४, ५, ६, ७, ९, ११ र १२ तथा सुन्दरहरैँचा नगरपालिकाका वडा नम्बर २, ३, ४, ५, ६ र ७ पर्दछन्।

गत स्थानीय निर्वाचनको वडाध्यक्षको मत जोड्दा नेपाली काङ्ग्रेसले २८ हजार ४२८, एमालेले २५ हजार २३६, माओवादीले ५ हजार ३५६, जसपाले ३ हजार ९३९, राप्रपाले ३ हजार ६८९ र नेकपा एसले २ हजार ३६९ मत प्राप्त गरेको तथ्याङ्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell