PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गगनको 'प्रधानमन्त्री बन्ने' महत्त्वकांक्षामा स्वर्णिमको ब्रान्डिङ : कति सहज कति असहज?



नेत्र तामाङ

गगनको 'प्रधानमन्त्री बन्ने' महत्त्वकांक्षामा स्वर्णिमको ब्रान्डिङ : कति सहज कति असहज?

काठमाडौं : नेकपा एमालेले यसपटक आफ्नो अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गर्दा सत्ता नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस यसबारे मौन छ। त्यसैले होला, प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको समूहका नेताहरुले भावी प्रधानमन्त्रीकै रुपमा प्रस्तुत गरिरहेका छन्।

सत्ता गठबन्धनको नेतृत्व गर्दै निर्वाचनमा उत्रेको कांग्रेसले आफ्नो घोषणापत्रमा 'संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार' नारा तय गरेको छ। यद्यपि, प्रधानमन्त्रीको उम्मेदवार को हो? तय भने गर्न सकेको छैन। हुन त कांग्रेसमा प्रधानमन्त्रीका आकंक्षी दर्जन छन् तर देउवालाई महाधिवेशनमा साथ दिएका नेताहरुले दरिलो साथ कसैले पनि यो पदमा आँट गरेका छैनन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा शेखर कोइराला, डा शशांक कोइरालाले बेलाबेलामा प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरे पनि माहोल उनीहरुको पक्षमा बनिरहेको छैन।

ठीक यस्तै असमन्जस्यताको स्थितिमा पार्टीका महामन्त्री गगन थापाको क्याम्पेनिङमा 'प्रधानमन्त्री' जोडतोडका साथ अटाइरहेको छ। उनको दावीमा धेरैले हैसे पनि गरिरहेका छन्। उम्मेदवारी मनोनयनकै समयमा थापाले आफ्नो दावी प्रधानमन्त्रीमा रहने बताएका थिए।

'पार्टीको पनि मूल जिम्मेवारी लिनुपर्छ। र, मेरो प्रयत्न त अब यहाँसम्म नेपालका राजनीतिक दलहरुले ल्याउनु भएकोमा उहाँहरुलाई धन्यवाद दिँदै, उहाँहरुलाई आभार प्रकट गर्दै अब ड्राइभिङ सिटमा आफैं बसेर अब यसभन्दा अगाडिको पाँच वर्षको निम्ति आफैँ मुल ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो,' उम्मेदवारी मनोनयनपछि थापाले भनेका थिए।

मंसिर ४ नजिकिँदा गगनले ड्राइभिङ सिटमा बस्ने आफ्नो दावीलाई थप दरिलो बनाउँदै लगेका छन्। ४६ वर्षीय थापाले अहिले धमाधम उम्मेदवारहरुलाई भिडियो सन्देशमार्फत् मत मागेर कांग्रेसमा आफूलाई राष्ट्रिय नेताको रुपमा स्थापित गर्न खोजेका छन्।

डिजिटल युगमा प्रविधिको प्रयोग गर्दै गगनले नेताहरुको पक्षमा माहोल बनाउँदा उत्साह छाएको देखिन्छ। चुनाव प्रचारको अन्तिम दिन काठमाडौंको महाराजगञ्ज पुगेर थापाले प्रदीप पौडेलको साथ समेत खोजेका छन्। आफूलाई साथ दिन संसदमा प्रदीपको आवश्यकता रहेको उल्लेख गर्दै काठमाडौं ५ का मतदातालाई उनले भने – 'म प्रदीप पौडेल माग्न आएको हुँ। संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ। काठमाडौं ५ मा मात्रै हैन। देशको लागि बोल्नसक्ने मानिस हुन्।'

प्रदीप संसदमा लागि अतिआवश्यक भएको उल्लेख गर्दै उनले गठबन्धनको सरकार बने पनि बहकिने अवस्थामा फरक मत राख्न सक्ने प्रदीप नै भएको तर्क गरे।

चुनाव नजिकिँदा पुराना दलहरुमा वितृष्ण बढ्दो छ। शीर्ष नेता र पुराना अनुहारलाई सत्तोसराप गरेको सामाजिक सञ्जालमा देख्न सकिन्छ। सामाजिक सञ्जालमा 'नो नट अगेन' अभियानसमेत चल्यो।

युवाको खोजीमा चलेको यो अभियान गगनमाथि पनि सोझियो। तर, जब यस अभियान गगनमाथि सोझियो – अभियान एकाएक कमजोर बन्न पुग्यो। अभियान क्रमश: फितलो बन्दैजानुका कारण बने गगन।

नो नट अगेन भन्दै थालिएको बलजफ्ती अभियानलाई मत्थर पार्न गगनको नाम पर्याप्त हुँदा कांग्रेसमा एकाखाले उत्साह पैदा भएको छ। चौथोपटक संसदमा छिर्ने दाउमा रहेका उनले जति जिम्मेवारी पाएका छन्, कुशलतापूर्वक निभाएका छन्। यतिमात्र हैन, कांग्रेसका उम्मेदवारहरुले गगनले मत मागिदिए आफूले जित्नेसम्मको अपेक्षा राख्ने स्थितिले उनलाई प्रखर रुपमा स्थापित गरेको छ।

युवा उम्मेदवार, प्रष्ट वक्तामात्र उनको परिचय रहेन – समयमै काम गर्ने र गर्न नसकेका कामको कारण खुलाउने नेताका रुपमा पनि चिनिएकाले उनीप्रतिको भरोसा बढ्दो छ।

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिका संयोजकसमेत रहेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत गगनलाई प्रधानमन्त्रीका रुपमा सघाउने वचन दिइसकेका छन्। अमेरिका पुग्दा होस् या अरु ठाउँमा गगनलाई साथ दिने वचन दिएका शर्माले मंगलवार झापाको दमकमा चुनावी सभालाई सम्बोधन गर्दै भने, 'गगन थापा अगाडि बढ्नु पर्छ, युवा हो, उमेरले भाइ हो तर मेरो साथी पनि हो। विद्यार्थी राजनीतिक र अन्य राजनीतिमा म अघि भए पनि म भन्दा अघि सांसद भएका व्यक्ति थापा हो।’

गगनलाई ढाडस दिन शर्माले अझ थपेका थिए, 'यदि थापा अलिकति पछि सरे झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीको रूपमा म अघि सर्छु।'

यसअघि स्वास्थ्य मन्त्री हुँदा पर्फर्मेन्स राम्रो गरेका कारण उनको दावेदारीलाई सम्भाव्य रुपमा आँकलन गरिएको छ। अझ अर्का महामन्त्रीको साथ अनि युवा नेता प्रदीप पौडेल गगनसँगै उभिँदा कमजोर भनिँदै आएको कांग्रेस भाइब्रेन्ट हुने देखिन्छ। गगन, विश्व र प्रदीपको एकताले कांग्रेसमाथि युवापुस्ताको आकर्षण कायम रहने अनुमान गर्न गाह्रो छैन।

२०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईको क्रेजलाई कांग्रेसले क्यास गर्दा पार्टी सभापति गिरिजाप्रसाद कोइराला मौन रहेका थिए। अहिले कांग्रेसका शीर्ष नेता गगनको दाबीप्रति त्यसैगरी मौन छन्। गगनको फेसले कांग्रेसलाई बलियो बनाउनसक्छ भन्ने आँकलन कांग्रेसीबिच लामो समयदेखि चर्चाको विषय बन्दै आएको थियो।

पूर्व महामन्त्री डा शशांक कोइरालाले भने गगनले अझै पर्खनुपर्ने अभिव्यक्ति दिएका छन्। उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल रङ्गिएको थियो। नेतृत्वका हिसाबले शशांकले फरकखाले छाप छाड्न भने सकेका छैनन्।

पछिल्ला दिनमा टिकट नपाए पनि कांग्रेसको प्रचारमा आइकन बनेका अर्थविद् डा स्वर्णिम वाग्लेले चुनावपछि गगन देशको प्रधानमन्त्री बन्ने बताएका छन्। पटकपटकको चुनावी सम्बोधनमा वाग्लेले गगनको ब्रान्डिङ गरिरहेका हुन्। शनिवारमात्र काठमाडौंको चुनावी सभालाई सम्बोधन गर्दै वाग्लेले भनेका छन्, 'गगनलाई मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री बनाउन सके राम्रो। सामाजिक सुरक्षाको अर्किटेक्चर हामी बनाउन सक्छौं। कोभिडकै बेला गगनको भूमिका देख्नुभएकै छ। संसदमा ओली सरकारको विरोधमा उभिए। सँगै काम गर्नसक्ने वचन दिए। स्टेट्स्मेनको झल्को उनमा देखिन्छ। क्षेत्र नम्बर ४ ले जिताएर पठाउनुभयो भने निकट भविष्यमै प्रधानमन्त्रीका रुपमा पाउनुहुन्छ।'

गगनलाई डा गोविन्द केसीदेखि चर्चित कलाकारहरुले साथ दिए दिएका छन्। यसो त प्रोजेक्ट गर्भमेन्ट अभियानमार्फत् पनि गगनले आफूलाई आगामी नेतृत्वका लागि कसरी तयारी गरिरहेका छन् भन्ने देखाएका छन्।

यसपटक सिट बाँडबाँड कार्यदलमा समेत रहेका गगनले टिकट बाँडेका सांसदहरुको सायद नाडी छामेको हुनुपर्छ। त्यसैले उनले प्रधानमन्त्रीमा दरिलो दाबी प्रस्तुत गर्न थालेका हुन्। आफ्नो व्यक्तिगत चुनावी संकल्पपत्रमा पनि गगनले यसबारे खुलाएका छन्। चार पन्ने संकल्पपत्रको तेस्रो पृष्ठमा भनिएको छ, 'नागरिकको मनमा आशाको सञ्चार गराउने प्रमुख दलहरुको नेतृत्वको हो। नेतृत्व जमेको पोखरी होइन। बगेको खोलाजस्तो कञ्चन र गतिशील हुनुपर्छ। नेपालको राजनीतिक दलहरुभित्र नेतृत्वको रुपान्तरण हुनुपर्छ, पार्टीको शुद्धीकरण हुनुपर्छ भन्ने अभियानमा लागिसकेको छु। त्यही मान्यताको साथ कांग्रेस पार्टीको गत महाधिवेशनमा म महामन्त्री पदमा निर्वाचित भएको यहाँहरुलाई विदितै छ। म त्यो अभियानलाई संसदमा निरन्तरता दिन प्रतिवद्ध छु।

नेतृत्वमा दाबीबारे संकल्पपत्रमा भनिएको छ – ड्राइभिङ सिटमा बसेर समुन्नतिको त्यो यात्रालाई अगाडि लैजान सक्छु भन्ने मेरो आत्मविश्वासको स्रोत र यसरी अग्रमोर्चामा उभिने आँट मैले अहिलेसम्म हासिल गरेको अनुभव र तपाईँहरुकै ममता र भरोसाले दिएको हो। मलाई यो चुनौतीपूर्ण नयाँ भूमिकाका लागि सदा झैं फेरि एकचोटि तपाईँहरुकै आड, भरोसा र स्नेह चाहिएको छ।

यद्यपि, प्रधानमन्त्रीका रुपमा अघि बढ्न उनले प्रक्रियामा जानैपर्छ। पहिलो त जित निकाल्नुपर्छ। त्यसपछि संसदीय दलमा भिड्नुपर्नेछ। कि त उनले सभापति देउवालाई विश्राम गर भन्न सक्नुपर्छ, नभए दलको नेता चुनिने बेला देउवाविरुद्ध जित्ने मत तयार गर्न सक्नुपर्छ। यतिमात्र हैन आफ्नै समूहका डा शेखर कोइरालालाई मनाउनुपर्ने पनि देखिन्छ। थप आकंक्षीहरुलाई कसरी सम्बोधन गर्ने हो त्यसको रणनीति त बनाउनु पर्ने चुनौती त छँदैछ। चुनावपछिको प्रधानमन्त्री तयारी हो भने गगनले यस्ता विषयलाई नजरअन्दाज गरेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell