PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बलिया बन्दै प्रतिस्पर्धी, नेपालको ‘सदाबहार’ फितलो ब्याटिङ : अझै प्रयोगकै चरणमा छ नेपाली क्रिकेट?



मुकुन्द घिमिरे

बलिया बन्दै प्रतिस्पर्धी, नेपालको ‘सदाबहार’ फितलो ब्याटिङ : अझै प्रयोगकै चरणमा छ नेपाली क्रिकेट?

काठमाडौं : यही महिना सम्पन्न टी-२० विश्वकपमा कमजोर आँकिएका टोलीले अप्रत्यासित नतिजा ल्याए। नेपालसँग खेल्दै आएका केही टोलीले क्रिकेटका सशक्त र टेस्ट मान्यताप्राप्त देशहरुलाई हराए।

विश्वकपमा नामिबियाले श्रीलंकालाई, स्कटल्याण्डले वेस्ट इन्डिजलाई, आयरल्याण्डले वेस्टइण्डिज र इङ्ग्ल्याण्डलाई, जिम्बावेले पाकिस्तानलाई तथा नेदरल्याण्ड्सले जिम्बावे र दक्षिण अफ्रिकालाई हराइदियो।

एकाध यस्ता नतिजा आएको भए यसलाई संयोगका रुपमा परिभाषित गर्न सकिन्थ्यो। तर, विश्वकपमै आएका यी नतिजाहरुले सिधा संकेत गर्छन् : क्रिकेटको पूर्णकालीन सदस्य र एसोसिएट देशहरुबिचको दुरी घट्दैछ।

बलियो बन्दै प्रतिस्पर्धी

विश्वकपमा यसपाला टेस्ट राष्ट्रहरुलाई हराएर सनसनी मच्चाएका कतिपय मुलुकहरु टी-२० वरीयतामा नेपालसँग अघिपछि भइरहन्छन् भने एकदिवसीयमा लिग २ मा प्रतिस्पर्धा गरिरहेका छन्। जस्तो यही महिना सम्पन्न विश्वकपमा श्रीलंकामाथि सनसनीपूर्ण जित निकालेको नामिबियासँग नेपालले लिग २ अन्तर्गतको सिरिजमा डिसेम्बरमा उसैको मैदानमा खेल्ने तालिका छ। अझ एकदिवसीय मान्यता जोगाउन जतिसक्दो धेरै जित निकाल्नु पर्ने दबाब नेपाललाई छ।

सात टोलीको लिग २ मा नेपाल छैटौँ स्थानमा छ। शीर्ष पाँचमा ओमन, स्कटल्याण्ड, अमेरिका, यूएई र नामिबिया रहँदा नेपालभन्दा पछाडि पपुवा न्युगिनीमात्र छ। नेपालले २० खेलबाट १७ अंक जोड्दा नेपालभन्दा ठीक अगाडि रहेको नामिबियाले २२ खेलबाट २६ अंक जोडेको छ। अर्थात नेपालभन्दा दुई खेल बढी खेलेर ११ अंक बढी जोडेको छ। लिग टूमा अनुभवी नामिबिया र स्कटल्याण्डसँगको सिरिज नेपालका लागि महत्वपूर्ण त छ नै त्यसमा जितको दबाब उत्तिकै छ।

त्यही सिरिजका लागि नेपालले अहिले घरेलु मैदानमा यूएईसँग तीन खेलको एकदिवसीय सिरिज खेलिरहेको छ। जसमा पहिलो खेल यूएईले जित्दा दोस्रो खेल नेपालले जितेको छ। शुक्रवार नेपाल र यूएईबिचको अन्तिम खेल हुँदैछ। यो विश्वकप लिग टूको लागि नेपाल र यूएई दुवैको तयारी हो।

विश्वकपमा सनसनीपूर्ण नतिजा नेपालका प्रतिस्पर्धी देशहरुले निकालिरहँदा नेपालको प्रदर्शन कति सुध्रिएको छ?

नेपालको नियति र यूएई सिरिज

नेपाली क्रिकेटमा ‘ट्रान्जिसन’को अवस्था सकिने नाम लिइरहेको छैन। छोटो समयमै पारस खड्काको युगबाट ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने हुँदै नेपाली टोलीले नयाँ कप्तान पाएको छ रोहितकुमार पौडेल। पौडेलको कप्तानीमा नेपालले यूएईसँग एकदिवसीय सिरिज खेलिरहेको छ।

यसैबिचमा प्रशिक्षक पनि लामोसमय टिकीरहेका छैनन्। उमेश पटवाल, डेभ ह्वाटमोर, पुबुदु दासानायके र हालका मनोज प्रभाकर गरि केही वर्षभित्र प्रशिक्षक पनि पटक-पटक फेरिएका छन्। केन्या टूरपछि प्रभाकरको प्रशिक्षणमा नेपालले यूएईसँग खेलिरहेको छ।

नेपाल र यूएईसँगको एकदिवसीय सिरिजमा शुक्रवारको खेल निर्णायक बन्दैछ। पहिलो खेलमा यूएईले जित निकाल्दा दोस्रो खेलमा नेपालले जित निकालेको छ। क्रिकेट विश्वकप लिग २ को तयारीका रुपमा हेरिएको यो सिरिजमा नेपालको प्रदर्शन हेर्दा चिन्ताको विषय हो : नेपालको ब्याटिङ।

यूएईसँगको पहिलो खेलमा १७९ रनमा समेटिएको नेपालले दोस्रो खेलमा १९१ रनको लक्ष्य पछ्याउन संघर्ष गर्‍यो। उसो त एकदिवसीय अन्तर्राष्ट्रियको कुरा गर्दा पछिल्लो समय नेपालको ब्याटिङमा जम्न नसकेको धेरै भइसक्यो।

पछिल्लो समय अमेरिकासँग जुन महिनामा भएको विश्वकप लिग २ सिरिजमा हो २ सय रनको आँकडा पार गरेको। त्यसयता ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा नेपालले २ सय रन बनाउन सकेको छैन। जुन एकदिवसीयमा कमजोर स्कोर हो।

त्यसमाथि नेपालका मुख्य बलर सन्दीप लामिछाने नाबालिक बलात्कारको मुद्दामा तानिएसँगै नेपाली ब्याटिङ लाइनलाई ठूलो स्कोर खडा गर्नुपर्ने थप दबाब पर्ने नै छ।

लामिछाने टोलीमा नहुँदा नेपाली बलर दबाबमा आएको बताउँछन् यूएईका पूर्व कप्तान तथा अलराउण्डर रोहन मुस्तफा।

‘उनीहरुले सन्दीपलाई बलिङमा मिस गरिरहेका थिए। मिडलमा आएर उसले विकेट लिने गर्थे। जब त्यो स्तरको बलर मिस गर्नुहुन्छ अर्को बलरलाई दबाब हुने नै छ,’ उनले भने।

बल्झिरहने समस्या ब्याटिङ

नेपाली टोलीका नवनियुक्त कप्तान रोहित पौडेल ब्याटिङमा सुधारका लागि शीर्ष क्रमका ब्याट्सम्यानले जिम्मेवारी उठाउन सक्नुपर्ने बताउँछन्।

‘ब्याटिङमा आउँदा टप अर्डरले जिम्मेवारी लिन नसकिरहेको अवस्था छ। त्यसपछि आरिफ दाई र गुलसनको साझेदारी भयो। दुवैतर्फबाट सेन्सिबल भयो,’ यूएईसँगको सिरिजको दोस्रो खेलमा जित निकालेपछि पौडेलले भने।

समग्रमै पनि ब्याटिङको कुरा गर्दा पौडेल लोअर मिडललाई दबाब परिरहेको बताउँदै यसबारे टिममा छलफल भइरहेको बताउँछन्।

‘हाम्रो टप फोरले जुन हिसाबले ब्याटिङ गरिरहेको छ, सबैले जिम्मेवारी लिनुपर्ने हुन्छ। जुन हिसाबले विकेट दिइरहेका छौँ त्यसले दबाब बढाइरहेको छ लोअर मिडर अर्डरलाई। त्यसमा हामी छलफल गरिरहेका छौं। अब राम्रो हुँदै जानेछ,’ उनले भने।

शीर्ष चार ब्याट्सम्यानको कुरा गर्दैगर्दा पौडेलको कप्तानीमा नेपालले दुई खेल खेल्यो। यूएई सिरिजको यी दुवै खेलमा पौडेल शीर्ष चारमै ब्याटिङ गर्न आएका थिए।

नेपालको भरपर्दा ब्याट्सम्यान मध्येका पौडेलले सिरिजको पहिलो खेलमा ५ बल खेलेर १ रन बनाउँदा दोस्रो खेलमा २३ बलमा ८ रन बनाएर पभेलियन फर्किए। आफ्नो प्रदर्शनबाट उनी आफैलाई चित्त बुझिरहेको छैन। बुधवार उनी आउट हुँदा अम्पायरको निर्णयसँग असन्तुष्ट भएको स्पस्ट हाउभाउ थियो पभेलियनतिर फर्केर आउँदा उनको।

‘अलिकति अनलक्की पनि भनौँ, खुशी थिइनँ। बलले प्याडमा छोएको जस्तो लागेको थिएन। पछि हेर्दा पनि त्यस्तो केही थिएन। यो पार्ट अफ गेमका रुपमा लिएको छु,’ उनले भने।

यता टिमको ब्याटीङमा पौडेलको जोड शीर्ष चारमै छ।

‘टप फोरले चाहीँ राम्रो स्टार्ट दिनै पर्‍यो। पछिल्लो खेलमा जसरी ५० मा ४० मा ४ विकेट जाने भइरहेको छ, यसले बढी दवाब भइरहेको छ। यसको जिम्मेवारी शीर्ष चारले लिनै पर्‍यो’, उनी भन्छन्, ‘टप फोरमध्ये दुई जनाले खेलिदियो भने यस्तो दबाबको अवस्था सिर्जना हुँदैन।’

अझै ‘एक्स्पेरिमेन्ट’कै चरणमा छ नेपाली क्रिकेट?

ब्याटिङको समस्याको चर्चा गर्दा सबै भन्दा लामो समयदेखि खड्किएको र धेरै ‘एक्स्पेरिमेन्ट’ भएको विषय हो ओपनिङ। प्रशिक्षक डेभ ह्वाटमोरले नेपालको प्रशिक्षण सम्हाल्दा बनाएको ओपनिङ जोडी हो कुशल भुर्तेल र आशिफ शेखको। ओपनिङमा एउटा आशा जगाएका थिए यी दुईले।

त्यसयता केही सिरिजमा राम्रो गरे पनि भुर्तेल फितलो प्रदर्शनकै कारण बिचका सिरिजमा टिमभन्दा बाहिर रहे। खासगरी केन्या सिरिजमा अर्जुन साउद विकेटकिपर र ‌ओपनिङ ब्याट्सम्यानका रुपमा राष्ट्रिय टोलीको ढोका ढक्ढकाए। योसँगै भुर्तेलको भूमिका यूएई सिरिजमा फेरिएको छ। 
ओपनिङ अर्जुन र आशिफले गरिरहँदा भुर्तेल युएईसँगको पहिलो खेलमा तल्लो क्रममा र दोस्रो खेलमा मध्यक्रममा आएर ब्याटिङ गरे। के उनको भूमिका फेरिएकै हो त?

‘खेलको अवस्था कस्तो छ, त्यही हिसाबले प्रयोग गरेको छ उहाँलाई। बुधवारको खेलमा उहाँ अलि माथिल्लो क्रममा आउनु भयो। उहाँले स्पीनर राम्रो खेल्नुहुन्छ’, भुर्तेलको भूमिकाबारे कप्तान पौडेल भन्छन्, ‘त्यही हिसाबले 'पुस' गरेको माथि। कुनै बेला ४० ओभर पछि प्रयोग गर्ने हो। पावर हिटिङ छ उहाँको। त्यो हिसाबले पनि प्रयोग गर्न सकिन्छ। ओभरअलमा कुरा गर्दा ट्राइ पनि हुन्छ। र, जित्नु पनि छ।’

ब्याटिङ अर्डरलाई तलमाथि गरिरहँदा प्रदर्शनलाई प्रभाव पार्दैन भन्ने प्रश्नमा पौडेल तर्क गर्छन्: प्रदर्शनलाई त्यस्तो असर गर्दैन। शीर्ष चार/पाँचमा चलाएको छैन। मिडल अर्डरमात्र हो तलमाथि गर्ने। त्यस्तो अरु केही होइन।

नेपाली टोलीले यो सिरिजमा एक्स्पेरिमेन्ट गर्ने पौडेल बताउँछन्।

‘नामिबिया टूरका लागि प्रयोग गरिरहेका छन् सबैलाई। हेरौँ को कहाँ फिट हुनेछ। यी तीनवटै खेलमा को कहाँ फिट हुन्छ भनेर हेरिरहेको अवस्था हो,’ पौडेलले भने।

बुधवारकै खेलको कुरा गर्दा नेपालले ५४ रन बनाउँदा ४ विकेट गुमिसकेको थियो। खेलको मोमेन्टमले संकेत दिइरहेको थियो : के घरेलु मैदानमा १ सय ९४ रन पनि पछ्याउन नेपालले नसक्ला?

तर, भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीसमेत १३ बनाएर पभेलियन फर्किएको अवस्थामा आरिफ शेखले कुशल भुर्तेल, गुलसन झा र सोमपाल कामीसँग साझेदारी गर्दै नेपाललाई जित दिलाए। उक्त खेलमा अविजित ३३ रन बनाएका आरिफलाई प्रश्न थियो, के यो पिचमा ब्याटिङ गर्न एकदमै कठिन थियो?

‘ब्याड डे पनि हुन सक्छ। एक/दुई वटा विकेट त्यसरी पनि गयो। तर, विकेट त्यति नराम्रो चाहीँ थिएन। विकेट राम्रै छ,’ उनले जवाफ दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell