PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मल्ल र शेखको अर्धशतक र शतकीय साझेदारी, यूएईविरुद्धको सिरिज नेपालले जित्यो



पहिलोपोस्ट

मल्ल र शेखको अर्धशतक र शतकीय साझेदारी, यूएईविरुद्धको सिरिज नेपालले जित्यो

काठमाडौं: यूएईसँगको तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा यूएईमाथि ६ विकेटको जित निकालेसँगै नेपालले सिरिज २-१ ले जितेको हो।

शुक्रवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले नेपालसामू १७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जसलाई नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो।

सुरुवाती ब्याटिङमा उत्रिएको यूएईले फितलो सुरुवात गरे पनि आयान अफ्जल खान र हजरत बिलालले ८३ रनको साझेदारी गर्दै यूएईको पारि उकासेका थिए।

यूएईका लागि एलिसन सरफूले ३३ रन बनाउँदा रोहन मुस्तफाले २४ रन बनाए। त्यसअघि ओपनर मोहम्मद वसीमले ११ रन बनाउँदा अर्का ओपनर बृत्य अरविन्द डक आउट भएका थिए। त्यस्तै कप्तान सीपी रिजवान ४ रनमा आउट भएका थिए। पछिल्लो क्रममा आएका ब्याट्सम्यानले पनि दोहोरो अंकको रन जोड्न नसकेको अवस्थामा आयान र बिलालले सानदार पारि खेलेका हुन्। आयन ५४ रनमा अविजित रहँदा बिलाल २० रनमा अविजित रहे।

बलिङतर्फ नेपालका गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान २ विकेट लिँदा सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई ज्ञानेन्द्र मल्ल र आशिफ शेखले जिम्मेवार पारि खेल्दै लक्ष्यसम्म डोहोर्‍याएका थिए। ओपनर अर्जुन साउद ९ रन बनाएर ९.६ ओभरमा आउट भएपछी अर्का ओपनर आशिफ शेखले मल्लसँग १ सय २२ रनको ठूलो साझेदारी बनाउन सफल भएका थिए। शेखले सर्वाधिक अविजित ८८ रन बनाउँदा मल्लले ६४ रन बनाए।

बलिङतर्फ यूएईका हजरत बिलाल र आयन अफ्जल खानले समान १ विकेट लिए।

सिरिजको पहिलो खेलमा सोमवार सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा नेपाली टोली यूएईसँग ८४ रनले पराजित भएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा समेटिएको थियो।

त्यस्तो दोस्रो खेलमा बुधवार नेपालले ३ विकेटको जित निकालेको थियो। उक्त खेलमा खेलमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell