पोखरा : २०३२ सालमा तत्कालिन अञ्चलाधीश शंकरराज पाठक र योजनाकार पदमबहादुर क्षेत्रीले पोखरामा व्यवस्थित बसपार्क निर्माण गर्ने योजन बनाए। योजना अनुरुप सोही समयमा तत्कालीन नगर उपत्यका विकास समितिले बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण गर्यो। तत्कालिन समयमा समितिले २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। अधिग्रहण गरेको जग्गा पृथ्वीराजमार्गको मापदण्डमा पर्यो। राजमार्गको मापदण्डमा परेपछि बसपार्कको जग्गा घटेर १ सय ८१ मा झर्यो।
पाँच दशक हुन लाग्यो पोखरेलीले र पोखरा महानगर वडा नं ९ का बासिन्दाले व्यवस्थित बसपार्कको सपना देख्न थालेको। तर, आजसम्म बसपार्क निर्माण भएन। बन्यो त केवल राजनीतिक दलका लागि चुनावी एजेण्डा। उल्टै, अधिग्रहण गरेको जग्गा घटेको घट्यै।
पोखराको मुख्य बसपार्क नै पृथ्वी बसपार्क हो। पोखरा आउने पर्यटक तथा यात्रु ओलिर्ने स्थान यही हो। बसबाट ओर्लिन साथ नाक खुम्च्याउन बाध्य हुन्छन् यात्रु। कारण हो अव्यवस्थित बसपार्क। हिलो, धुलो र फोहोरले सास्ती बनाउँछ यात्रु र बासिन्दालाई। पार्किङको समस्या उस्तै।
१६ वर्ष बढी बित्यो चालकको रुपमा अमृत थापाले काम गरेको। काठमाडौं र पोखराको रुटमा गाडी चलाउने उनले आफनो गाडी पार्किङ बसपार्कमा गर्छन्। तर, पार्किङको लागि सहज भने छैन। बर्खाको समयमा हिलो हुने सडक र हिउँदमा धुलो बन्ने बसपार्कले उस्तै सास्ती हुन्छ। यसबिच बसपार्कको धेरथोर स्तर उन्नति भयो। खाल्डा पुर्ने काम भयो। बसपार्क भने व्यवस्थित भएन।
‘समस्या त छ। अहिले पहिले भन्दा राम्रो भाको हो। पानी पर्दा हिलो हुन्थ्यो। अहिले धुलो छ। खाल्डा थिए। अब खाल्डा पुरेको छ। बसपार्क सानो छ। गाडी पार्क गर्नलाई समस्या छ पार्क सानो भएछ,’अमृतले भने।
दुई दशक भयो नारायण प्रसाद शर्माले बसपार्कमा होटल गरेर बसेको। पोखरा विमानस्थल बनाउँदा तत्कालिन समयमा लगभग ३८ घरधुरीलाई बसपार्कको क्षेत्रमा ल्याएर व्यवस्थापन गरिएको थियो। सोही स्थानमा भाडा तिरेर होटल व्यवसाय गर्छन् उनले। सँगै उनी ट्याक्सी चालक पनि हुन्। उनी आइसकेपछि होटल थपिए। बस्ती बाक्लियो। तर, बसपार्क व्यवस्थित बनेन। गुनासो पोख्छन् उनी,‘अव्यवस्थित पार्किङ एक नम्बर। शौचालयको व्यवस्था छैन। टिकट काउन्टर कोही बाहिर कोही कता छन्। उपभोक्ता आउँछन् टिकट काट्ने कता हो भन्छन्। पानी पर्यो हिलाम्मे गाडीहरु त्यस्तै अस्तव्यस्त छन्। मैले जान्दा देखिको बसपार्क यस्तै हो।’
बसपार्क बनाउने निर्णय भएको १६ वर्षपछि यो योजना चुनावी एजेण्डा बन्दै आएको छ। प्रत्येक चुनावमा उम्मेदवार आउँछन् आश्वासन दिन्छन् जान्छन्। तर, जितेपछि प्रतिबद्धता बिर्सिन्छन्।
कास्की क्षेत्र नं २ मा पर्छ वडा नं ९। यस्तै प्रदेश तर्फ क्षेत्र नं २ (ख)मा। यस निर्वाचन क्षेत्रबाट चुनाव जीतेका संघदेखि प्रदेशमा मन्त्री भएका छन्। अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट स्वर्गीय रविन्द्र अधिकारीले चुनाव जीतेर पर्यटन मन्त्री बने। प्रदेश तर्फ विन्दु कुमार थापा कानुनी मन्त्री छन्। अहिलेको निर्वाचनमा यसक्षेत्रबाट नेकपा एमालेको तर्फबाट विद्या भट्टराई उम्मेदवार छिन् भने एकिकृत समाजवादीबाट श्रीनाथ बराल। प्रदेश तर्फ उनै बहालवाला मन्त्री पुन: मैदानमा छन्।
निर्वाचन आएपछि राजनीतिक दल बसपार्क क्षेत्र पुग्छन्। आश्वासन दिन्छन्। स्थानीय तहको निर्वाचनमा बसपार्क निर्माण गुरुयोजना नै बन्यो घोषणा पत्रमा। प्रत्येक निर्वाचनमा दलहरुले दिएको आश्वासन सम्झिएर लेखाजोखा गर्छन् स्थानीय।
‘अब चुनावपछि ढलान गर्ने हो भन्ने कुरा आएछ। पहिला स्थानीय तहको चुनावपछि भन्ने कुरा भयो अहिले चाहिँ प्रतिनिधिसभाको चुनावपछि भन्ने कुरा भयो। अब त्यो चुनावी नारा पनि हुनसक्छ,’नारायणले भने, ‘भोट बैँक जस्तै बनाइराखेका छन् नि राजनीति गर्नेले। यो बसपार्क बन्न नसक्नुको कारण नै राजनीतिकरण गर्नुले हो। नत्र भने यो बसपार्क बन्नपर्यो।’
२०३६ सालदेखि बसपार्क क्षेत्रभित्र बस्न थालेका हुन् रुपक थापा मगर। उनी जन्मेको हुर्केको बसपार्कमै हो। धुलाम्मे बसपार्कले समस्या भोग्नुपर्छ। अव्यवस्थित ढलको समस्या पनि छ बस्तीमा।
‘बसपार्क राम्रोसँग बनाइदियो भने मान्छेलाई सुविधान हुन्थ्यो धुलो हुन्थेन। ढल निकास गरेर यसलाई व्यवस्थित गरे सबैलाई राम्रो हुन्थ्यो। नेताहरु आउँछ चुनावको माहोलमा यस्तो गर्छु र उस्तो गर्छु भन्छ सत्तामा पुगेपछि केही गर्दैन। अब नि भन्न त भने छ यो दुईवर्षको अवधिमा निर्माण गरिन्छ भनेछ। के हुन्छ अब आश्वासन देखाइराखेको छ क्यारे। चुनावी खेल मात्र हुन्छ,’उनले भने।
बसपार्कको मध्यबिच भागमा लस्करै निर्माण भएको घरधुरीमा पर्छ उनको घर। जुन बसपार्ककै जग्गो हो । यद्यपि, उनी सुकुम्बासी बस्तीका भने होइनन्। बनेका घरहरुको केही हात पछाडि छ उनीहरुको कित्ता नं। उनीहरुको जग्गामा सुकुम्बासीको टहरा छ। सुकुम्बासीले आफनो जग्गा छोडे बसपार्कको बिच स्थान छोड्ने उनीहरुको भनाइ छ। बसपार्क निर्माण भएर आफनो कित्ता नं रहेको स्थानमा आवास पाए सर्ने बताउँछन् उनी।
बसपार्ककै अर्का स्थानिय राजनीतिक दलले भोट बैंक बनाएका कारण बसपार्क निर्माण नभएको आरोप लगाउँछन्। वडा ९ मा पोखराका अधिकांश सुकुम्बासी पनि पर्छन् यहाँ। जो स्थानिय तह निर्वाचनमा निर्णयक मतदाता बन्छन्। बसपार्कको पछाडि कृष्ण टोल, गणतन्त्र चोक लगायतको सुकुम्बासी बस्ती छ। जुन बसपार्क निमार्णको समस्या बनेका छन्।
‘अहिले यो बसपार्क भोट बैँक भयो। अहिले सुकुम्बासी समस्या भएर फयाट्ट बसपार्कको समस्या समाधान हुने देखिदैन। जो भूमिहिन छन् उनीहरुको पहिचान हुनपर्यो। दुईचारवटा टहरा हालेर भाडा खाने यहाँ कति छन् कति त्यसको छानबिन कसले गर्ने? त्यो छानबिन पनि भएको छैन एकनम्बर छानबिन गर्न आवश्यक छ,’ एक स्थानीयले भने।
बसपार्कको जग्गा घटेको घट्यै
बसपार्क निर्माणको लागि जग्गा अधिग्रहण गरेपछि २०३३ सालमा छुटाइएको जग्गा राजपत्रमा पनि प्रकाशित भएको थियो। तर, बिचमा विवाद उत्पादन भयो। नि:शुल्क जग्गा अधिग्रहण गरेका कारण सर्वोच्चमा मुद्दा दायर भयो। २०५२ सालमा सर्वोच्चले जग्गधनीलाई मुआब्जा प्रदान गर्ने आदेश दियो।
पृथ्वीराजमार्गको मापदण्डमा जग्गा परेपछि पनि १८१ रोपनी जग्गा बाँकी थियो। जुन घटेर ४१ रोपनीमा सीमित भएको छ। जग्गा अतिक्रमण सुकुम्बासी बस्तीले गरेको छ। बसपार्क निमार्णको समस्या सुल्झाउन २०७५ साल फागुनको १० गते महानगरले छानबिन गर्नका लागि ४ सदस्यीय समिति गठन गरेको थियो। पोखरा ९ का पूर्व वडाध्यक्ष रामराज लामिछानेको संयोजकत्वमा पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल, पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बराल र पोखरा ८ का वडासचिव लोकदर्शन कोइराला सदस्य सचिव थिए समितिमा। उनीहरुले अध्ययन गरेको प्रतिवेदन ०७६ वैशाख ६ गते महानगरको कार्यपालिका बैठकमा बुझाइएको थियो। जसमा बसपार्कको जग्गा ४१ रोपनीमा सीमित भएको उल्लेख छ। पूर्व वडाध्यक्ष रामराजका अनुसार बसपार्कको क्षेत्रमा अधिकांश सुकुम्बासीको बस्ती छ।
जग्गा अधिग्रहण गरेर बनेको सुकुम्बासी बस्तीकै कारण बसपार्क योजना अलपत्र परेको सुनाउँछन् दुईपटक नगर विकास समितिका अध्यक्ष बनेका अशोक पालिखे।
‘चुनाव आयो कि बसपार्क बनाउँछौँ व्यवस्थित बनाउँछौ भन्ने अहिले हुँदाहुँदा थुप्रै घर भइसक्यो। ति घरहरुलाई हटाउन गाह्रो छ। अन्त लगेर व्यविस्थत रुपमा बसाल्ने भन्ने कुरा छ त्यो पनि राम्रो हो तर खाली चुनावको मुखमा भन्ने त्यसपछि नगर्ने परिपाटीले बसस्टप बिग्रेको हो। पोखरा जस्तो सुन्दर शहरमा बसस्टप ८०, ९० रोपनी हुनुपर्ने अहिले खुम्चिएर सानो भइसकेको छ,’ अशोकले भने।
बसपार्क बन्ने निर्णय भएपछि २०५४ सालपछि सुकुम्बासी बस्ती बस्न थालेको सुनाउँछन् पृथ्वीचोक बसपार्क टोल विकास संस्थाका उपाध्यक्ष गंगाराज पौडेल।
‘राज्यले के बुझनुपर्ने हो कुनै न कुनै राजनीतिक दलको आड र भरोसामा यहाँ उनीहरु आइपुगेका हुन् । २०५४-२०५५ सालबाट त्यहाँ बसेका हुन् मलाई याद छ। छानबिन गर्ने हो भने राज्यले आफनो प्रक्रिया अनुसार गर्नुपर्यो। उनीहरुलाई व्यवस्थापन गर्न पनि पर्छ,’उनले भने।
राजनीतिक दलले बसपार्क क्षेत्रलाई राजनीतिकरुप दिएर माछापोखरी बनाएको आरोप लगाउँछन् उनी। अव्यवस्थित बसपार्कका कारण महानगरले आफूहरुलाई नागरिकको अधिकार पनि प्रदान नगरेको गुनासो पोख्छन् उनी।
‘बसपार्क नबन्नु भनेको हामीलाई मानव व्यवहार नगर्नु पनि हो महानगरको नागरिक भएर पनि यस्तो धुलोधुवाँ पोलुसन र खाल्टाखुल्टीमा बस्नुपर्ने होइन। हामीलाई पनि नागरिक अधिकारको बारेमा चेतना छ तर निकम्मा सरकार भएपछि कसको के लाग्ने?,’ गुनासो पोखे उनले।