PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

संघ र प्रदेशका ८२५ सदस्यका लागि आज निर्वाचन : ११ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा



पहिलोपोस्ट

संघ र प्रदेशका ८२५ सदस्यका लागि आज निर्वाचन : ११ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा
फाइल फोटो।

काठमाडौं : संघीय संरचनामा दोस्रोपटक संघीय र प्रदेशसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ। संघमा २७५ र प्रदेशमा ५५० सदस्यका लागि निर्वाचन हुन लागेको हो। यो पटक एकै चरणमा निर्वाचन हुन लागेको हो। संघमा २७५ सदस्यका लागि दुई हजार ४१२ जना प्रतिस्पर्धामा छन्।

प्रत्यक्षतर्फ १६५ जनाका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी २ हजार ४१२ जनाबिच प्रतिस्पर्धा हुँदैछ। जसमा पुरुष उम्मेदवारको संख्या धेरै छ। २ हजार १८७ जना पुरुष छन् भने महिला उम्मेदवारको संख्या २२५ जना मात्रै छ।

आइतवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ।

एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता निर्वाचन आयोगको मतदाता सूचीमा सुचीकृत छन्। शनिवारको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिएका अधिकृत तथा कर्मचारीलाई डर त्रास देखाएमा कडा कारबाही गरिने चेतावनी दिएका थिए। उनले निर्वाचनको सबै तयारी पूरा भइसकेको पनि बताए।

यस्तै, प्रदेश प्रत्यक्षतर्फ ३३० जना प्रतिनिधिका लागि हुन लागेको निर्वाचनका लागि ३ हजार २२४ जना उम्मेदवार छन्। १० हजार ८९२ मतदानस्थलका २२ हजार २२७ मतदान केन्द्रमा मतदान हुँदैछ।

निर्वाचन सुरक्षाका लागि आधा घण्टामा पुग्नेगरी रिजर्भ फोर्स तयारी अवस्थामा रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा तीन घेराको सुरक्षा रहेको छ। निर्वाचन आयोगले सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई तीन भागमा विभाजन गरेको छ। जसमा सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा विभाजन गरिएको आयोगको भनाइ छ।

आवश्यकता अनुसार हवाइ गस्तीको समेत व्यवस्था गरिएको छ। मतदान स्थलमा मोबाइल फोन लिन नमिल्ने व्यवस्था गरिएको छ। यसैगरी, १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिकतर्फ मतदान गर्न सक्नेछन्।

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ। प्रदेश सभातर्फ समानुपातिक निर्वाचन प्रणालीमा ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ।

प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फ जम्मा पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि ३ करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधि सभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख पाँच हजार गरी आठ ८ करोड, पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिएको निर्वाचन आयोगले जनाएको छ। ७ हजार दुई सय १९ पर्यवेक्षक निर्वाचनमा खटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell