विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले आजको निर्वाचनपछि गठन हुने सरकारले मुलुकमा सुशासन दिएर भ्रष्टाचारको न्यूनीकरण गर्न नसके सडक आन्दोलन गरेर सरकार परिवर्तन गर्ने चेतावनी दिएका छन्।
आइतवार बिहान मतदानपछि स्थानीय संवाददातालाई वरिष्ठ नेता डा कोइरालाले भने, ‘अब गठन हुने सरकारले सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्न सकेन भने हामी संसद्, सडक र मिडिया सबैतिर छाइरहन्छौँ र त्यो सरकारलाई परिवर्तन गर्छौँ।’
उनले भ्रष्टाचार र खराब शासनका कारण मुलुकमा दलप्रति वितृष्णा बढ्न थालेको स्वीकार गर्दै आफू अब असल शासन, पारदर्शिता, भ्रष्टाचारको नियन्त्रण, स्थिरता र जवाफदेहिताका लागि सक्रिय रहने जानकारी दिए।
डा कोइरालाले आगामी सरकार लोकतान्त्रिक-वाम गठबन्धनले नै निर्माण गर्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने दाबी गरे। निर्वाचनको परिणामपछि तपाईं संसदीय दलको नेता हो भन्ने प्रश्नमा उनले यसका बारेमा अहिले नै बोल्नु हतार हुने जवाफ फर्काए।
कोइरालाले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै आइतवार सम्पन्न हुने निर्वाचनले संविधानको रक्षा, स्थिरता र सुशासनको सन्देश दिएको प्रतिक्रिया व्यक्त गरे।
मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभाको उम्मेदवार भएका उनले विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित आदर्श विद्यालयबाट मतदान गरे।