PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

विवाद, आलोचना र भव्यताका बिच आजबाट सुरु हुँदै विश्वकप फुटबल



पहिलोपोस्ट

विवाद, आलोचना र भव्यताका बिच आजबाट सुरु हुँदै विश्वकप फुटबल
Photo: FIFA

फिफा विश्वकप २०२२ आजबाट सुरु हुँदैछ। १२ वर्षसम्म आयोजनालाई लिएर आलोचना र विवादमा झेलिएको विश्वकप अन्ततः आजबाट सुरु हुने भएको हो।

मध्यपूर्वमा अवस्थित मुस्लिम राष्ट्रमा पहिलो पटक हुन गइरहेको विश्वकप उद्घाटनको दिनसम्म आइपुग्दा विवाद र आलोचना झेलिरहेको छ। खासगरि मानव अधिकार र त्यहाँको कानुनलाई लिएर आलोचनाहरु भइरहेका छन्। विभिन्न देशहरुले विरोध गरिरहँदा फिफाले भने फुटबलमा केन्द्रित हुन भन्दै सहभागी देशहरुलाई पत्र नै काटेको थियो।

खासगरी पश्चिमा मुलुकहरुले कतारको विश्वकप आयोजनालाई लिएर आलोचना गर्दै आएका छन्। विश्वकप आयोजना गर्न कतारले कोरिया, जापान, अस्ट्रेलिया र अमेरिकालाई पछि पार्दै बिड जितेको थियो। पछि यसक्रममा व्यापक भ्रष्टाचार भएको भन्ने आरोपहरु पनि लागे। तर, कतारले सँधै यसको अस्वीकार गर्दै आएको छ।

फेब्रुअरी २०२१ मा द गार्डियनले एक रिपोर्ट प्रकाशित गरेको थियो, जस अनुसार कतारले विश्वकप आयोजनाको जिम्मेवारी पाएयता भारत, पाकिस्तान, बंगलादेश, नेपाल र श्रीलंकाका गरि ६५०० आप्रवासी कामदारको मृत्यु भइसकेको छ। उक्त रिपोर्ट ती देशहरुको राजदुतावासले दिएको आँकडाको आधारमा भएको दाबी गरिएको थियो।

तर, कतारले भने यसलाई अस्वीकार गर्दै आएको छ। यो ‘मिस्लिडिङ’ भएको भन्दै कतारले दाबी गरेको छ : यो आँकडा विश्वकपसँग सम्बन्धित काममा मात्र निधन भएका मानिसहरुको संख्याको होइन।

त्यस्तै, एलजीबीटी अभियान्ताहरुले पनि कतारको कानुनलाई लिएर आलोचना गर्दै आएका छन्। ‘होमोसेक्सुआलिटी’ कतारमा गैह्रकानुनी भएको भन्दै विरोध गर्दै आएका छन्।

त्यस्तै, फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले कतारलाई विश्वकप आयोजनाको जिम्मेवारी दिनु एक गल्ति भएको प्रतिकृया दिएका छन्।

अर्कोतर्फ फिफाका अध्यक्ष जियानी इनफान्टिनोली विश्वकपको पूर्व सन्ध्यामा कतारमा मानवअधिकार बारेको टिप्पणीहरुलाई ‘हिपोक्रेसी’को संज्ञा दिएका छन्।

‘हामी युरोपेलीहरूले विगत ३,००० वर्षदेखि के गर्दै आएका छौँ? हामीले नैतिक पाठ दिन सुरु गर्नु अघि अर्को ३००० वर्षको लागि माफी माग्नुपर्छ,’ उनले पश्चिमाले लगाएको मानवअधिकारको आरोपलाई लक्षित गर्दै भनेका छन्।

३० लाख भन्दा कम जनसंख्या भएको कतारले विश्वकपका लागि १२ लाख भन्दा बढी मानिस विश्वकपका लागि आउने अपेक्षा गरेको छ।

उद्घाटनमा कतार र इक्वेडर भिड्दै

आलोचनाका बिच कतारले पू्र्वाधार निर्माण र प्रतियोगिताको भव्यताका लागि ठूलो लगानी गरेको छ। आजबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा इक्वेडर र कतार भिड्दै छन्। आज बेलुकी ९:४५ बजे यी दुई टोली अलबायेत स्टेडियममा आमनेसामने हुनेछन्।

आयोजक कतारले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै छ। एसिया कपको च्याम्पियन बनिसकेको कतारले प्रतियोगिताका लागि लामो तयारी गरेको छ। विश्वकपमा अप्रत्यासित नतिजा ल्याउने होडमा कतार हुनेछ। अर्कोतर्फ इक्वेडरले यसअघि तीनपटक विश्वकपमा सहभागिता जनाइ सकेको छ।

यी दुई टोली यसअघि तीन पटक आमनेसामने भइसकेका छन्। सन् १९९६ मा पहिलो पटक यी दुई टोली खेल्दा १-१ गोलको नतिजा आएको थियो भने दोस्रो पटकको भेटमा इक्वेडरले २-१ गोलले हराएको थियो। त्यस्तै, पछिल्लो पटक २०१८ मा भेट्दा कतारले ४-३ गोलअन्तरको जित निकालेको थियो।

फेलिक्स सान्चेज इक्वेडरविरुद्ध आइतवारको उद्घाटन खेल अघि शनिवार प्रि-म्याच पत्रकार सम्मेलन गर्ने पहिलो प्रशिक्षक थिए। कतारी प्रशिक्षक आफ्नो पहिलो टोलीको विश्वकपमा आफ्नो पक्षको महत्वाकांक्षाको बारेमा यथार्थवादी थिए।

‘हामी शान्त रह्यौं। हामी राम्रो फर्ममा छौं। सबै खेलाडीहरू खेलको लागि उच्च प्रेरणा लिएर यहाँ आउँछन्। हामी राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं र प्रतिस्पर्धात्मक हुनेछौं’, उनले भने, ‘हामी सम्भावनाहरूको वरिपरि यथार्थवादी हुनुपर्दछ, तर हामीले राम्रो गर्नुपर्छ।’

सान्चेज विश्वास गर्छन् कि कतार ‘यहाँ हुन योग्य’ छ। साथसाथै आफ्नो समूहमा परेका प्रतिस्पर्धी टोलीहरु आफू भन्दा योग्य रहेको उनले स्वीकारे।

‘यो तीन खेल हो, र हामीलाई हाम्रो विपक्षीको स्तर थाहा छ’, सान्चेजले भने, ‘उनीहरूको इतिहास, उनीहरूको व्यक्तिगत प्रतिभा, उनीहरूको क्यारियर जहाँ उनीहरू खेल्छन्, त्यो हिसाबले उनीहरू हामीभन्दा अगाडि छन्।’

उनले भने: सायद तिनीहरूले पहिले नै तीन अंक मा गणना गरिसकेका छन्।

‘तर, हामी यहाँ हामी प्रतिस्पर्धी टोली हुन सक्छौँ भनेर देखाउन आएका छौं,’ उनले भने।

त्यस्तै, इक्वेडरका प्रशिक्षक गुस्तभो अल्फारोले इक्वेडरले आफ्नो लयको उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell