
जनकपुरधाम : रौतहटको क्षेत्र नम्बर ३ स्थित कनकपुर र पोठियाहि मतदान केन्द्र बाहिर हवाइ फायर भएको छ।
मतदान केन्द्र बाहिर त्यहाँ रहेका दुई पार्टीका नेता कार्यकर्ताहरुबिच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाइ फायर गरेको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिएका छन्। स्थिति तनावग्रस्त भएपछि केहीबेरका लागि मतदान रोकिएको थियो।
उनका अनुसार विवाद गरेका समूहले मतदान केन्द्रभित्र जबरजस्ती प्रवेश गर्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्न हवाइ फायर गरेको हो। एसपी बुढामगरले बताए अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ भने मतदान पुनः सञ्चालन भएको छ।