हेटौंडा : हेटौंडामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान हेटौंडा-१० बसपार्कमा रहेको नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज हेटौंडा-१० बस्ने ४१ वर्षीय रवि खड्कालाई पक्राउ गरिएको छ।
खड्कासहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
पक्राउ पर्नेहरुमा नेकपा बहुमत समूहका जिल्ला संयोजक हेटौंडा-१५ का शक्ति मगर, समूह जिल्ला सचिवालय सदस्य वाग्मती गाउँपालिका-४ का लिला माझी, समूहका जिल्ला सदस्यहरु हेटौंडा-१० बस्ने अजय गहतराज, हेटौंडा-११ बस्ने विकास लामा, वाग्मती गाउँपालिका-८ बस्ने अनिल सिङ्तान र समूहका जिल्ला युवा अध्यक्ष हेटौंडा-८ बस्ने बसन्त लामा रहेका छन्।