
भारतीय फुटबलमा फिक्सिङको आशंकामा सिबिआईले अनुसन्धान सुरु गरेको छ। चर्चित अन्तर्राष्ट्रिय फिक्सरले ठूलो रकम भारतीय क्लबहरुमा लगानी गरेको पाइएपछि सिबिआईले भारतीय फुटबल संघ (एआईएफएफ) सँगको समन्वयमा अनुसन्धान अघि बढाएको हो।
अघिल्लो हप्तामात्र सिबिआई एआईएफएफको केन्द्रीय कार्यालय गएर ती क्लबहरु र तिनको लगानीबारे विस्तृत जानकारी लिएको स्रोतलाई हवाला दिँदै भारतीय अखबर टाइम्स अफ इण्डियाले जनाएको छ।
कुख्यात अन्तर्राष्ट्रिय म्याच फिक्सर विल्सनराज पेरुमलले लिभिङ थ्रीडि होल्डिङ्स कम्पनीबाट भारतीय क्लबहरुमा लगानी गरेको पाइएको हो। सिंगापुरका उनले १९९५ फिनल्याण्ड र हंगेरीबीचको खेलको क्रममा फिक्सिङका आरोपमा पहिलो पटक पक्राउ परेका थिए। उनीमाथि ओलम्पिक, विश्वकप छनोट, महिला विश्वकप, कन्काकाफ गोल्डकप र अफ्रिकन नेशन्स कपका विभिन्न खेलमा धाँधली गराएको आरोप छ।
विल्सन राज तिनै कुख्यात फिक्सर हुन् जसले आफ्नो पुस्तक 'केलोङ किंग्स: कन्फेसन्स अफ दी वर्ल्ड्स मस्ट फोलिफिक म्याच फिक्सर' भन्ने पुस्तकमा नेपाली फुटबलरसँग पनि म्याच फिक्सिङ गरेको स्वीकारेका छन्।
'एआईएफएफको फिक्सिङमाथि शून्य सहनशील छ। हामीले क्लबलाई पत्र पठाएर यसमा सहकार्य गरेको अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेका छौं, ' एआईएफएफका महासचिव शाहजी प्रभाकरनले भनेका छन्।
सिबिआईले पनि ती क्लबलाई पत्र लेख्दै उनीहरुको करार, प्रायोजन, विदेशी खेलाडी भित्र्याउने एजेन्सी तथा टेक्निकल स्टाफबारे विस्तृत जानकारी पठाउन भनेको छ।
यसमा पाँच भारतीय क्लबमाथि अनुसन्धान हुनेछ। जसमा युथ डेभलबमेन्टका लागि बनाइएको आईलिग क्लब इन्डियन एरो पनि छ। अनुसन्धानमा तानिएका सबै क्लब आईलिगका भएको बताइएको छ। पछिल्लो दुई सिजनयता आईलिग दोस्रो टायरको लिगको रुपमा स्थापित छ।
'हामीले यी पाँच क्लबमा इन्डियन एरो कसरी समावेश भयो भन्ने बुझ्न सकिरहेका छैनौ। एरो एआईएफएफ र ओडिसा सरकारबाट प्रायोजित छ। पछिल्ला चारवर्षमा यसमा नत विदेशी खेलाडी छन् नत विदेशी अफिसियल नै,' एआईएफएफका एकजना अफिसियलले भनेका छन्।
भारतीय फुटबलमा फिक्सिङ लुकाइएको सबैभन्दा खराब मुद्दा हो।
गोवा प्रो लिगमा गोवा फुटबल संघले स्पोर्ट्स्ट राडर तथा इन्टिग्रिटी पार्टनरको सहायतामा केही म्याचमाथि 'रेड फ्लाग' देखाएको छ। यहीवर्ष मार्च १५ देखि २५ सम्मका गोवा प्रो लिगका ६ खेल शंकाको दायरामा भएको बताइएको छ। यसबाहेक पनि अन्य लिगका विभिन्न खेलहरु माथि शंका रहेको बताइएको छ।
स्पोर्टस राडरको रिपोर्टमा १७ वर्षयता सबैभन्दा धेरै शंकास्पद खेलहरु रेकर्ड भएको बताइएको छ।