
काठमाडौं :प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत आज भएको मतदान सकिएको छ। बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो। दिउँसो मतदान रोकिएको केही स्थानमा र मतदाता लाइनमा रहेको केन्द्रमा भने मतदान जारी छ।
नेपाली कलाकारहरुले पनि आज मतदान गरेका छन्। यसपटकको निर्वाचनमा कलाकारहरु विभिन्न उम्मेदवारहरुको पक्षमा खुलेका थिए। आज मतदान गरेपछि केही कलाकारहरुले भने राजनीतिमा आउने संकेत पनि गरेका छन्। राजेश हमाल, निर्मल शर्मा लगायत केही कलाकारहरुले राजनीतिमा आउने संकेत गरेको सामाजिक संचालमा चर्चा छ।
अभिनेत्री स्वस्तिमा खड्काले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको समर्थनमा उत्रेकी स्वस्तिमाले सबैभन्दा राम्रोलाई भोट गरेको उल्लेख गरेकी छिन्। उनका श्रीमान निश्चल बस्नेत पनि यसपटकको निर्वाचनमा स्वतन्त्रदेखि दलीय उम्मेदवारका लागि खुलेका थिए।
‘औंलामा लाइन कोरेको मात्र हैन आफ्नो भविष्य पनि रोजेको हो। आशा गरौँ जित्नेहरुले देशको भलो गरुन, आशा गरौँ देशको भलो गर्नेहरुले जितुन,’ निश्चलले फेसबुकमा लेखेका छन्।
त्यसैगरि, हास्यकलाकार मनोज गजुरेलले पनि मतदान गरेका छन्। उनले परिवारसँग गएर मतदान गरेका हुन्। मतदान गर्न गएको फोटोहरु राख्दै उनले लेखेका छन् ‘ मत प्रदान गरेका छौँ। दान सम्झेर दुरुप्रयोग नगर्नुहोला।’
अभिनेत्री केकी अधिकारीले पनि भोट हालेकी छिन्। उनले परिवारसँगै काठमाडौं क्षेत्र नम्बर ३ को अत्तरखेलस्थित लिटिल बर्ड स्कुल केन्द्रमा मतदान गरेकी हुन्। उनले गगन थापाका लागि मत मागेका थिइन्।
अभिनेता राजेश हमालले पनि काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन्। हमालले फेसबुकमा फोटो राख्दै अबको पाँचवर्ष खबरदारी गर्न तयार रहौं भनेर लेखेका छन्।
अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका-३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी छन्। उनले पति विनोद मानन्धरसँगै गएर मतदान गरेकी हुन्। त्यसैगरि, अभिनेत्री वर्षा राउतले पनि बुवाआमासँग गएर भोट हालेकी हुन्।
कलाकार तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पनि प्रतिनिधी सभा तथा प्रदेश सभा चुनावमा भोट हालेका छन्। उनले काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेका हुन्। त्यस्तै, कलाकार सलोन बस्नेत, जितु नेपाल, आकाश अधिकारी, प्रमोद खरेल लगायतका कलाकारहरुले पनि मतदान गरेका छन्।