PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मतपेटिकालाई मतगणनास्थल लगिँदै : काठमाडौं क्षेत्र १ को बानेश्वरमा, क्षेत्र ४ को चपलीमा, अरु क्षेत्रको कहाँ हुनेछ गणना?



पहिलोपोस्ट

मतपेटिकालाई मतगणनास्थल लगिँदै : काठमाडौं क्षेत्र १ को बानेश्वरमा, क्षेत्र ४ को चपलीमा, अरु क्षेत्रको कहाँ हुनेछ गणना?

काठमाडौं : काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएको छ। मतदानको निर्धारित समय सकिएपछि अहिले मतपेटिका मतगणनास्थलतर्फ लगिँदैछ।

काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र छन्। यसपटक १० वटै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै मतगणना हुँदैछ। मतपेटिका शिलबन्दी गरेर अहिले सम्बन्धित निर्वाचन अधिकृतको रहोबरमा मतगणनास्थलमा लगिँदैछ। सर्वदलीय छलफलपछि मतगणना सुरु हुनेछ।

काठमाडौं-३ मा भने भोलि बिहानमात्र मतगणना सुरु हुनेछ। काठमाडौं-३ को मतगणना यसपटक चामुण्डा माध्यमिक विद्यालयमा गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

काठमाडौं-१ को मतगणना बानेश्वर स्थित संघीय संसद भवनमा हुने जनाइएको छ। अहिले मतपेटिका ल्याउने काम भइरहेको र यहाँ राति ९ बजेदेखि मतगणना सुरु हुन सक्ने जनाइएको छ। त्यसका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। यस्तै, काठमाडौं-२ को मतगणना थलीमा हुने निर्वाचन आयोगले जनाएको छ।

काठमाडौं-४ को मतगणना भने चपलीमा र काठमाडौं-५ को मतगणना टोखामा हुने बताइएको छ। यस्तै, काठमाडौं- ६ को मतगणनाम धर्मस्थलीस्थित अधिकृतको कार्यालय र काठमाडौं- ७ को मतगणना भने बालाजुमा हुनेछ।

काठमाडौं क्षेत्र नम्बर ८ को मतगणनाका लागि डल्लुमा केन्द्र तोकिएको छ। काठमाडौं-९ को मतगणना रविभवन र काठमाडौं-१० को मतगणना भने कीर्तिपुरस्थित  त्रिवि स्मृती भवनमा गर्ने तयारी भइरहेको छ।

मतगणनाका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। एक हजार मतगणना सकिएपछि मतसङ्ख्याको जानकारी माइकिङमार्फत् दिइने जानकारी पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell