PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मतदान सकिएपछि अब के हुन्छ? मतपेटिका जम्मा गर्नेदेखि मतगणना सकिएपछिको प्रक्रिया यस्तो



पहिलोपोस्ट

मतदान सकिएपछि अब के हुन्छ? मतपेटिका जम्मा गर्नेदेखि मतगणना सकिएपछिको प्रक्रिया यस्तो

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तोकिएको मतदानको समय सकिएको छ। आज बिहान ७ बजे देखि अपराह्न ५ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा केहि ठाउँमा बाहेक अधिकांश ठाउँमा मतदान कार्य सकिएको हो।

विवाद तथा झडपका कारण केही क्षेत्रको मतदान रोकिएको छ भने केहि ठाउँमा बिचमा रोकिएर सुरु भएका कारण मतदान लम्बिएको आयोगको भनाइ छ। मतदान समय सकिएसँगै निर्वाचन आयोगले मतदान केन्द्रबाट मतपेटिकाहरुलाई सम्बन्धित मतगणनास्थलमा जम्मा गर्नेछ। आयोगले १६५ निर्वाचन क्षेत्रमै मत गणनाको व्यवस्था गरेको छ। निर्वाचन अधिकृतको कार्यालय वा अधिकृतले तोकिएको स्थानमा मतगणना हुनेछ।

मतदान सकिएपछि यसरी राखिन्छ मतपेटिका

मतगणनाका लागि निर्वाचन आयोगले मतगणना निर्देशिका,२०७९ बनाएको थियो। मतदान गर्नअघि नै निर्वाचन अधिकृतले मतगणना स्थानबारे सूचना जारी गर्नुपर्ने व्यवस्था छ। निर्वाचन अधिकृतले मतदान अधिकृतबाट मतपेटिका बुझिलिन र त्यसको भर्पाइ गर्नुपर्ने व्यवस्था छ। 
निर्वाचन अधिकृतले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक मतपेटिकालाई मतगणना अघि एकै ठाउँमा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ। तर मतदान केन्द्र छुट्टिनेगरि मत पेटिका राख्नुपर्नेछ। 

मतपेटिकालाई कोठामा राखिसकेपछि लाहाछाप लगाउनुपर्नेछ। उम्मेदवार वा निर्वाचन प्रतिनिधिले लाहाछाप लगाउन चाहेमा लाहाछाप लगाउन दिनुपर्नेछ। त्यसपछि लाहाछाप पछि मुचुल्का गर्नुपर्नेछ। मुचुल्कामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा प्रतिनिधिले अधिकार दिएको व्यक्तिको सहिछाप गरि निर्वाचन अधिकृतले सहिछाप गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ।

सम्भव भएसम्म मत गणना गर्ने ठाउँमा सिसिटिभी जडान गर्नुपर्ने व्यवस्था छ। मतपेटिका राखिएको कोठा खोल्दा लाहाछाप जाँच गर्नुपर्ने व्यवस्था छ। कोठा खोलेको मुचुल्का गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ। 

मतपेटिका खोल्नु अघि के के हुन्छ?

मतपेटिका खोल्नुअघि सबै ठाउँको मतपेटिका प्राप्त भएको हुनुपर्ने मतगणना निर्देशिकामा उल्लेख गरिएको छ।

'सबै मतदान केन्द्रबाट मतदानका लागि प्रयोग भएको मतपेटिका प्राप्त भएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय उल्लेख गरेर सूचन प्रकाशन गर्नुपर्नेछ,' निर्देशिकामा भनिएको छ। कुनै मतदान केन्द्रको मतदान स्थगित भएको अवस्थामा अरु ठाउँको मत गणना पनि सुरु हुनेछैन। 

निर्वाचन अधिकृतले मतगणना सुरु गर्नुअघि उम्मेदवार तथा दलका प्रतिनिधिसँग छलफल हुनेछ। मत गणना सकेसम्म एकै ठाउँमा र ठाउँ सानो भएमा सम्बन्धित भवनको अर्को कोठामा गर्नुपर्नेछ। प्रदेश तथा प्रतिनिधि सभाको मत गणना अलग अलग कोठामा हुनेछ। मतगणना सुरु गर्नुअघि मुचुल्का गर्नुपर्नेछ। उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको सहिछाप गराई निर्वाचन अधिकृतले राख्नुपर्नेछ।

मतगणना प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक एकै साथ सुरु हुनेछ। मतगणना सुरु गर्नुअघि मतपेटिका खोलिएको वा फोरिएको छ छैन भन्नेबारे भने जाँच गर्नुपर्नेछ। मतपेटिका जाँच गरिसकेपछि उम्मेदवार वा निर्वाचन प्रतिनिधिलाई सहि छाप लगाउनुपर्नेछ। कसैले कैफियत जानाउन चाहेमा त्यसको व्यवस्था निर्वाचन अधिकृतले गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। 

यसरी गरिन्छ मत गणना

मतपेटिकाको चेक जाँच भइसकेपछि मतपेटिकामा लगाएको शिल तोड्नेछन्। सबै मतपत्रहरु मतगणना गर्नुपर्ने टेबल वा स्थानमा खन्याउनुपर्ने छ। खाली भएको बाकस भने उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मत गणना प्रतिनिधिलाई देखाउनुपर्नेछ। मतपत्र खन्याउदा एक भन्दा बढी मतदान केन्द्रको खन्याउन सकिनेछ। यसरी खन्याउदा कुल मतको विवरण मुचुल्कामा उल्लेख हुने छ। मतपत्र मिसाउदा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको प्रदेशसभा निर्वाचन अनुसार मिसाउनुपर्नेछ।

प्रदेशसभाको प्रत्यक्ष तर्फको मिसाउँदा प्रदेश सभा निर्वाचन क्षेत्र अनुसार अलग अलग मतदान केन्द्रको मिसाउनुपर्नेछ। मतपत्र खन्याइसकेपछि निर्वाचन चिह्न भएको भाग घोप्टाएर राखिनेछ। पचास वा सय मतपत्रको ठेली बनाइ धागो वा रबरले बाँधेर राखिन्छ। उक्त ठेली निर्वाचन अधिकृतले जिम्मा लिइ राख्नेछन्। प्रत्येक ठेलीबाट मत गणना निरन्तर हुनेछ। मतपत्रको ठेलीबाट सदर र बदर मत छुट्यार राखिन्छ। पहिला बदर मत गणना गर्नुपर्नेछ। त्यसपछि उम्मेदवारको चिह्न अनुसार सदर मत गणना हुनेछ। सदर र बदर मत गणना भइसकेपछि भने खाम वा बोरामा राख्ने छन्। राख्दा सहिछाप गर्नुपर्ने व्यवस्था छ।

मतगणना समापन भएपछि के हुन्छ?

मतगणनामा दुईजना उम्मेदवारको संख्या बराबर भएमा निर्वाचन अधिकृतले गोला हाल्ने छ। मत गणना समापन भएको मुचुल्का गर्नुपर्ने व्यवस्था छ। अन्तिममा मात्रै मत परिणाम घोषणा हुने छ। मत परिणामको एक प्रति टास गर्नुपर्ने छ भने अर्को प्रति निर्वाचन कार्यालयमा पठाउनुपर्ने छ। परिणाम घोषणापछि मात्रै निर्वाचन अधिकृतले निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र दिनुपर्ने छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell