PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

कास्कीका मतदातामा नयाँ उम्मेदवार देखेर आशा पलायो, युवाहरुले गरे 'भोटिङ प्याट्रन' परिवर्तन



रिना थापा

कास्कीका मतदातामा नयाँ उम्मेदवार देखेर आशा पलायो, युवाहरुले गरे 'भोटिङ प्याट्रन' परिवर्तन

पोखरा : उत्साह र आकांक्षा बोकेर २०७४ सालको निर्वाचनमा सहभागि भएका थिए नागरिक। मतदाताले बोकेको आकांक्षा पूरा गर्न सरकार र जनप्रतिनिधि सफल बन्यो कि बनेन? पाँच वर्षको कार्यकालमा आफनो कार्यसम्पादनमा सरकार कति सफल रह्यो?  यी सबैको उत्तर २०७९ निर्वाचनको मतपरिणामले देखाउने पक्का छ। दलहरुको कार्यशैलीप्रति मतदाता कति सन्तुष्ट छन्? निर्वाचनको मतपरिणामले आँखीझयालको रुपमा काम गर्ने देखिन्छ।

उसो त निर्वाचन नजिकिएसँगै सामाजिक सञ्जालमा लहर चल्यो ‘नो नट अगेन’अभियानको। पूरानो पुस्ताको उम्मेदवारलाई बहिष्कार गर्ने प्रचार सामाजिक सञ्जालमा चल्यो। जसले सामाजिक सञ्जाल निकै तात्यो। सँगै स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नेको लहर पनि बढ्यो। वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनदेखि नै हो स्वतन्त्र उम्मेदवारप्रति  मतदाता आर्कषित भएका। जसको प्रभाव प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि देखियो।

दलहरुप्रतिको वितृष्णाले स्वतन्त्र उम्मेदवारलाई आशाका रुपमा देख्न थालेका छन् मतदाताले। त्यसमा पनि स्थानीय निर्वाचनमा ‘लौरो’ चुनाव चिह्नले ल्याएको मतपरिणाम अनेपिक्षत थियो। त्यस्तै आर्कषण यसपटक रवि लामिछानेको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले गरेको अनुमान गरिएको छ। स्थानीय तहमा लौरो आर्कषण भएजस्तै आम निर्वाचनमा ‘घन्टी’प्रति आशावादी देखिए मतदाता। यद्यपि, मतपरिणाम कस्तो आउँछ यसै आकंलन गर्न सकिँदैन।

तर, मतदाता असन्तुष्ट छन् भन्ने कुरा आजको उपस्थितीले नै दर्साउँछ। पोखरा लगायत देशका विभिन्न क्षेत्रका मतदान केन्द्रमा मतदाताको उपस्थिती न्यून देखियो। सामाजिक संजालमा युवा माझ स्वतन्त्र उम्मेदवारहरु चर्चित बने पनि मतदान केन्द्रमा युवा मतदाताको उपस्थिती नगन्य थियो। उपस्थित भएका मतदाताले पनि फरक तरिकाले मत दिएको बताउँछन्।

यसअघिको निर्वाचनमा पनि सहभागी भएकी थिइन् पोखराकी सिता सुबेदी। आफूले जुन अपेक्षा राखेर मत दिएकी थिइन् त्यसको विपरीत दलहरु अघि बढेको उनको गुनासो छ। सोही कारण यसपालिको निर्वाचनमा उत्साही बनिन् उनी। तर, पाएको मताधिकारलाई प्रयोग गर्नुपर्ने बताइन् उनले।

‘पहिला पनि गरेको अहिले पनि आइयो। पहिला जे भनेर दिएको पूरा भएन जस्तो लाग्यो। वास्तवमा भोट नै नदिम् कि भन्ने सोचमा बसेको थिएँ। तर, फेरि अब जसै एउटा नेपाली नागरिक भईसकेपछि आफनो भोटको कदर गर्नुपर्छ भन्ने सोचले आएको,’उनले भनिन्।

पूराना र राजनीतिक दलहरुप्रति वितृष्णा पलाए पनि उनको मनमा आशा छ नयाँ पुस्ताले केही गर्नेछन्। त्यसैले त अनिच्छा हुँदाहुँदै पनि मनमा आशा राखेर निर्वाचनमा सहभागी भएको उनले सुनाइन्।

‘जे होस् पहिलाले भन्दा केही गर्छन् कि। अब हामी पनि सचेत भएम्। सबै अब यही पुरानो मान्छे बुढाखाडालाई नै दिनुपर्छ भन्ने सोचमा नभई युवालाई नै दिए केही गर्छन् कि भन्ने सोचमा छौँ,’सिताले सुनाइन्।

यता,  त्यस्तै मत राख्छन् नयाँबजारमा भेटिएका अर्का मतदाता बम्स सिंह ख्वास पनि। उनका अनुसार उनले आफनो मत दिने ‘प्याट्रन’ परिवर्तन गरेका छन्।

‘यसपालिको उम्मेदवार अलि युवाको भावना बुझने अब देशको राजनीतिक अवस्थालाई शुद्धीकरण गर्ने मैले उम्मेदवारलाई मतदान गरेको छु। जे भनेर मत दिएँ त्यो कुरा परिपूर्ति नभएको कारण योपालि चाहिँ अलि फरक ढंगले मतदान गरेको छु। उम्मेदवार नयाँ र राम्रो चुने,’उनले भने।

संसद विघटनको घटना जोड्दै पाँच वर्षसम्म सरकार चलाउन दिएको दलको कार्यप्रति पनि गुनासो पोख्छन् उनी। त्यसैले पनि नयाँ पुस्ताका उम्मेदवारप्रति आशा राखेको सुनाउँछन् उनी।

‘पहिला हामीले मतदान गरेर पाँच वर्षको लागि सरकार चलाउन दियौँ समय नबित्दै संसद विघटन भयो। स्वदेशमै रोजगार सिर्जना गर्ने नीति नियम राम्रोसँग कायम गर्ने हाम्रो इच्छा नै त्यहीँ हो। स्वविवेकको मत प्रयोग गर्दै राम्रो उम्मेदवार रोज्नुपर्छ,’उनले भने।

अर्का युवा विरेन्द्र पराजुली पनि निराश सुनिन्छन् दलहरुप्रति। नयाँ अनुहार र उम्मेदवारहरुको कारण निर्वाचनमा उपस्थिति हुने आशा पलाएको सुनाउँछन् उनी।

‘दलीय गठबन्धन छ। नयाँ उम्मेदवारहरु पनि उठेका छन् त्यसकारण कताकता आशा पनि छ। कुनै पुरानोहरुले पनि नयाँ काम गर्छु भन्ने वाचाले आउनु भएको छ। नयाँ उम्मेदवारका कारण राम्रो हुन्छ भनेर आशा पलाएको छ,’विरेन्द्रले भने।

युवा मतदाताहरु राजनीतिक दलहरुप्रति नैराश्यता राखिरहँदा केही फरक विचार राख्छन् अमन केसी। उनी भने उत्साही सुनिए निर्वाचन प्रति। उनलाई विश्वास छ पाँच वर्षमा सम्पन्न नभएको काम पुन: अवसर पाए दलले पुरा गर्नेछन्।

‘उहाँहरुले आफनो ठाउँबाट विकास गर्ने काममा खुशी नै छौँ त्यो कुरामा। स्वतन्त्र उठेका व्यक्तिहरु एकदुई जनाले मात्र सिट पाएर एप्रोच मात्र गर्ने हो देश निर्माणको काम केही अघि बढ्दैन। युवा नेताहरुलाई नै प्राथमिकतामा राखेर मतदान गरेको छु। यसअघि आधा भएका काम अब अवसर पाए पुरा हुन्छ भन्ने छ,’उनी आशावादी सुनिन्छन्।

युवामाझ नैराश्यता छाउँदा पुराना पुस्ताका मतदाता भने सन्तुष्ट नै देखिन्छन्। सन्तुष्ट सुनिएका राम बास्तोला भन्छन्,‘कोहीकोहीको काम सन्तुष्टै छ कोहीबाट असन्तुष्ट छौँ। हाम्रो क्षेत्रमा पनि ठिकै छ। आशा भएर सन्तुष्ट भएर आएको हो। अब फेरि समय दिए गर्छन् होलानि सिद्धान्तमा चल्नुपर्छ।’

रामले दलहरुप्रति आशा राखेर सिद्धान्तमा चल्नुपर्ने बताए पनि यता ६० नाघेकी देवी कोइराला खुशी छैनन्।

‘अहिलेसम्म कसैले राम्रो गरे छैनन् राम्रो गर्ने मान्छे अझसम्म आएको छैन। आफुले भोट दिन पाको भएर आएको। अरु थोक केही होइन। त्यति हो। हाम्ले केही गर्न जान्दैनम् गर्छन् कि भनेर दिएको हो क्यारे। गरिब मरेको मरेइ छन् आफू खाएको खाई छन् खाछैनन् र?,’उनले प्रश्न गरिन्।

देवीकै छेउमा बसेकी लक्ष्मी कोइराला भने खुशी थिईन्। कारण थियो उनको भाइ निर्वाचनमा उम्मेदवार छन्। यद्यपि, दलहरुको कामहरुप्रति उनी पनि खुशी छैनन्।

‘जो नेता भएनी त्यस्तै हो। अलिअलि गरेछन्। ठिकै छ हाम्लाई त बा! जसलाई दिए नि दिनैपर्‍यो क्यारे भोट। आफनो अधिकार पाएको। अहिले खुशी खुशी भएर आइयो। एक त मेरो भाइ उठेको। भाइ उठेर म खुशी नि भएँ। अँ भाइलाई भोट दिएर आएँ,’हाँस्दै सुनाईन् लक्ष्मीले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell