कैलालीः कैलाली जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भएको मतदानमा जिल्लाभरका १३ स्थानीय तहमा ६३ प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार जिल्लामा ६३ प्रतिशत मत खसेको हो ।
बिहान ७ बाजेबाट सुरु भएको मतदान बेलुका ६ बजे सम्पन्न भएको थियो। आयोगले ५ बजेको समय तोकेको भए पनि लाइनमा बसिसकेका मतदाताले मतदान गरुन्जेल ६ बजेको थियो।
अहिले जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा मत पेटीका सङ्कलनको कार्य भइरहेको छ। जिल्लाको सबैभन्दा सुगम रहेको धनगढी उपमहानगरपालिका अर्थात् ५ नम्बर क्षेत्रमा करिब ७० प्रतिशत मतपेटिका सङ्कलन भइसकेका र सङ्कलन कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार आज मत पेटीका व्यवस्थापनको कार्य सम्पन्न गरिने छ। गणना भने भोलि बिहान सर्वदलीय बैठक बसेपछि उक्त बैठकको निर्णय अनुसार सुरु गरिने छ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लामा मत पेटिका सङ्कलन र व्यवस्थापनको कार्य जारी रहेकाले आज गणनाको कार्य सम्भव छैन। मतगणना भोलि मात्रै सुरु हुनेछ।