हेटौंडा : मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहान ११ बजेबाट हुने भएको छ।
सोमवार बिहान बसेको सर्वदलिय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकैपटक गरिनेछ।
आइतवार मतपेटिका ल्याउन ढिला भएपछि मतगणना केही ढिलो भएको हो। सम्पूर्ण मतपेटिका बिहान २ बजे मात्र हेटौंडा ल्याइएको थियो।
एकैपटकमा १२ स्थानमा मतगणना गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयले गरेको छ। मकवानपुरमा ३ लाख ७ सय ३३ जना मतदातामध्ये प्रारम्भिक तथ्यांक अनुसार करिब ५९ प्रतिशत मत खसेको छ।
जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्।